NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन् !

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१, बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनायो ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गर्न भ्यायो ।

साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको डिभिजन वन कार्यालय, तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउँछन् ।

परियारलाई चितुवाले आक्रमण गरेर लगेपछि उनकी आमा आत्तिइन् । तर डराइनन्, चितुवाको पछि पछि करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भइन् ।

स्थानीय प्रत्यक्षदर्शी वासु पन्थका अनुसार, चितुवाको पञ्जाबाट अमाले फिर्ता ल्याएको बालक घाइते छन् । उनको बन्दीपुर गाउँपालिका–४, डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।