NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीकाे चुनाव जित्ने अस्त्र : माओवादी रिझाउने, समाजवादी फकाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचन जित्नका लागि पार्टी प्रवेशलाई मूख्य हतियार बनाएका छन् । त्यसका लागि एकीकृत समाजवादीका कार्यकर्ता फकाउने र माओवादीका कार्यकर्तालाई रिझाउने नीति लिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा शुक्रबारबाट सुरू भएको केन्द्रीय समितिको बैठकमा १९ पृष्ठको राजनीति प्रतिवेदन गर्दै उनले बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्न निर्देशन दिए ।

उनले चौतर्फी घेराबन्दीकाबीच स्थानीय तह निर्वाचनमा पार्टीले राम्रो मत ल्याएको निष्कर्ष सुनाए । मंसिरमा हुने निर्वाचन जित्न नेता नभइ कार्यकर्ता तान्न सकिए बहुमत ल्याउन सकिने धारणा राखेका छन् ।

‘स्थानीय तह निर्वाचनको आधारमा हामीलाई बहुमत ल्याउन १६ प्रतिशत मत आवश्यक छ । त्यसका लागि केन्द्रीय कमिटी बैठकपछि सबै कमरेडहरू निर्वाचित केन्द्रीत रहनोस्’, उनले भने, ‘बहुमत ल्याउन पार्टी प्रवेश अभियान नै चलाउनुपर्छ । हामीले नेता होइन कार्यकर्ता तान्नुपर्छ ।’

चौतर्फी घेराबन्दीका कारण एमालेका लागि परिस्थिति केही अप्ठ्यारो भएपनि पछिको भविष्य राम्रो रहेको उनको बुझाइ छ । गठबन्धनको गतिविधिका कारण राष्ट्रियता, जनजीविका र अर्थतन्त्र संकटग्रस्त हुँदै गएको आरोप लगाएका छन् ।

‘एमालेको सरकार विस्थापितपछि बनेको परमादेशी गठबन्धन सरकारका कारण राष्ट्रियता, जनजीविका र अर्थतन्त्र संकटग्रस्त हुँदै गएको छ’, उनले भनेका छन्, ‘लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि एमालेको सरकार आवश्यक छ । गठबन्धन सरकारका कारण जनतामा बढ्दै गएको निराशालाई आशावादी बनाउने जिम्मा एमालेको काँधमा छ ।’

उनले एमालेसँग एक्ला एक्लै चुनाव लड्न डराएर गठबन्धनले दलहरूको संख्या थप्दै लगेको जिकिर गरेका छन् ।

‘स्थानीय तहमा पाँददलीय गठबन्धन गर्दासमेत लोकप्रिय मत एमालेले नै पाएको छ । आगामी निर्वाचनमा पनि एमालेसँग डराएर गठबन्धनमा दलहरूको संख्या बढाउँदै लगिएको छ । एमाले एक्लैले गठबन्धनलाई हराएर चुनाव जित्नुपर्छ’, उनले भने ।

सचिवालय, स्थायी समिति र पोलिटब्यूरो बैठकले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्दै  भोलि सकिँदैछ ।