NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सहकारीको रकम सहकारीमै राख्न स्याङजाका सहकारीकर्मीहरुको सुझाव

वालिङ । स्याङजाका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको रकम सहकारी क्षेत्रकै राष्ट्रिय सहकारी बैंक तथा अन्य संघहरुमा राख्न सुझाव दिएका छन् । सहकारीको रकम सहकारी भन्दा बाहिर गएका कारण सहकारीमा समस्या देखिएको भन्दै उनीहरुले सहकारीको रकम सहकारीमै राख्न सुझाव दिएका हुन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाले बिहीवार वालिङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन । सहकारीमा रहेको पूँजि, प्रविधि लगायतको स्रोतलाई अधिकतम परिचालन मार्फत समुदायको हितमा काम गर्न सहकारीहरुको संस्थागत विकास र प्रविधिको अधिकतम उपयोगमा ध्यान दिनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सदस्यहरुमार्फत समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा थप भूमिका निर्वाह गर्ने गरी सहकारीहरुको संस्थागत विकास र वित्तीय सक्षमता बढाउनु पर्नेमा जोड दिएका छन् ।

सहकारी क्षेत्रलाई राम्रो बनाउदा जनताको आर्थिक तथा सामाजिक उन्नतीमा सहयोग पुग्नुका साथै राज्यको आर्थिक भार घटाउनमा समेत महत्वपूर्ण भूमिका हुने भएकाले राज्यका निकायहरु, मिडिया लगायत सरोकारवालाहरुले यसको प्रवर्द्धनमा सहयोग पुग्ने गरी धारणा तथा सञ्चार सामग्री प्रशारण गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता गैरेले सहकारी क्षेत्रको सवलीकरणका लागि राष्ट्रिय सहकारी बैंक र स्थानीय तहको सहकारी शाखाबीच समन्वय आवश्यक रहेको बताइन् । उनले  सहकारी बैंकसंग सहकार्य गरेर सहकारीको प्रवद्र्धन र विकासमा योगदान गर्न वालिङ नगरपालिकाले समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल लगायतले सहकारी क्षेत्रमा भएको रकम सहकारी क्षेत्रको सहकारी बैंक र सहकारीकै संघहरुमा राख्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए ।