NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मकवानपुरमा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर । मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो ।

अघिल्लो आवमा दुई सय ८६ वटा उजुरी परेकामा गत आवमा चार सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो । अघिल्लो आवमा परेका उजुरीमध्ये एक सय ८६ वटा उजुरीको मिलापत्र गराइएको थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा घरेलु हिंसाका चार सय ३९ वटा उजुरी परेकामा दुई सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको र एक सय १८ वटा उजुरीको छिनोफानो भइरेको छ । आव २०७८/७९ को साउन महिनामा ३८, भदौमा ४४, असोजमा ३३, कात्तिकमा ३७, मंसिमा ३४, पुसमा ३६, माघमा २४, फागुनमा ३१, चैतमा ३९, वैशाखमा ३६, जेठमा ४५ र असारमा ४२ घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ ।

विगतमा सामाजिक तथा परिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि नगरपालिकादेखि अदालतसम्म धाउन थालेपछि उजुरीको सङ्ख्या बढ्दै गएको हो । यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा ललितकुमार दासले महिलामाथि हिंसा कतैबाट हुन नहुनेमा जोड दिँदै अधिकार नपाएमा उनीहरुले उजुरी गर्नु स्वाभाविक हो भने ।