NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सहसचिव पाण्डेको समाधान

जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक अकर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुती परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक र प्रशासकबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सामाधान पहिल्याउनुभएको छ । 

 १) पदसोपान पद्धतिका मान्यताहरु उल्लेख गर्दै यसका सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गर्नुहोस् ? (२++४)

कार्य र पदको श्रृखला मिलानः पदसोपान

संगठनमा कार्यरत कर्मचारीहरूको कार्य अधिकार र उत्तरदायित्वको श्रृंखलाबद्ध विभाजनलाई नै पदसोपान भनिन्छ ।यस्तो श्रृंखलामा हरेक तहको काम कर्तव्य र अधिकार तोकिएको हुन्छ र प्रत्येक तहमा कर्मचारी आफूभन्दा ठीक माथिल्लो तहको कर्मचारीप्रति उत्तरदायी हुनुपर्दछ । अधिकार, आदेश र नियन्त्रण संगठनको उच्चस्थ तहबाट तलतिर प्रवाह हुन्छन भने गुनासा र सुझावहरू तलबाट माथि प्रवाह हुने गर्दछन । यो सगठन व्यवस्थापनको मान्यता हो ।

पदसोपान पद्धतिका विशेषताहरू वा मान्यताहरू

  • एक कर्मचारीको एक मात्र सुपरीवेक्षक हुनुपर्दछ
  • उच्च वा तल्लो तहसंग सम्बन्ध राख्ने क्रममा निकटतम तहलाई नाघ्न पाइँदैन
  • कार्य जिम्मेवारी सुम्पिएको कर्मचारीलाई जिम्मेवारीअनुरूपको अधिकार पनि दिनुपर्दछ
  • संगठन संरचना पिरामिड स्वरूपको हुनुपर्दछ
  • सम्पूर्ण प्रशासनिक संगठनलाई विभिन्न समूह तथा उपसमूहमा विभक्त गर्नुपर्दछ
  • अधिकार आदेश र नियन्त्रण संगठनको उच्चस्थ तहबाट तलतिर प्रवाहित भएको हुनुपर्दछ
  • पदीय अधिकार जिम्मेवारी र दायित्व नाघ्नु हुँदैन ।

पदसोपानका सकारात्मक पक्षहरू

  • कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा तोकिएको हुन्छ
  • संगठनमा आदेशको एकात्मकता नियन्त्रणमा एकात्मकताजस्ता व्यवस्थापनका सिद्धान्त लागू हुन्छन्
  • उत्तरदायित्व र नियन्त्रणको एक आपसमा आबद्धता रहने गर्दछ
  • सुपरीवेक्षण नियन्त्रण र निर्देशन गर्न सजिलो हुन्छ
  • कार्यमा सहजीकरण र गुणस्तर बढ्दछ
  • कर्मचारीको वृति विकास अवसर वृद्धि हुन्छ
  • कर्मचारीमा अनुशासन कायम गर्न सजिलो हुन्छ
  • श्रम विभाजन र कार्य विशिष्टीकरणमा टेवा पुग्दछ
  • सहभागितामूलक निर्णय प्रक्रिया कायम हुन्छ
  • कर्मचारीमा उत्प्रेरणा बढ्न जान्छ
  • सहज रूपमा अधिकारको प्रत्यायोजन हुन्छ
  • कार्यमा शीघ्रता आउँछ ।

पदसोपान पद्धतिका दुर्बल पक्षहरू

  • औपचारिकताले काममा ढिलासुस्ती बढ्छ
  • कर्मचारीबीच वर्गीय विभेद सिर्जना हुन पुग्दछ
  • सहभागितामूलक निर्णय प्रक्रियाले  निर्णयमा ढिलासुस्ती हुन्छ
  • कर्मचारीहरू बीच द्वन्द्वको सम्भावना रहन्छ
  • व्यक्तिगत सम्बन्धले स्थान पाउँदैन
  • प्रक्रियागत जटिलताले कार्यमा ढिलासुस्ती हुन पुग्दछ
  • सेवाग्राहीले अनावश्यक हैरानी खेप्नु पर्दछ
  • तल्लो तहका कर्मचारीले उचित भूमिका र स्थान नपाउन सक्छन्
  • निर्णयकर्ता र कार्यान्यवनकर्ताबीच प्रत्यक्ष सम्बन्ध रहँदैन
  • समग्रमा तहगत श्रृंखलाले सगठनमा द्वन्द्व बढाउँदछ

तसर्थ

पदसोपान कार्य र उत्तरदायित्वको ठाडो विभाजन हो ।यस श्रृंखलामा हरेक तहको काम कर्तव्य र उत्तरदायित्व स्पष्ट रूपमा तोकिएको हुने र आफ्नो कामप्रति कर्मचारी बढी उत्तरदायी हुने गर्दछन । त्यसैले पदसोपान पद्धतिका सबल पक्षहरुलाई प्रवर्द्धन गर्दै यसलाई अझै वैज्ञानिक बनाउँदै लैजानु हरेक सगठनको हितमा हुन्छ।

२) निर्णय प्रक्रियाका चरण र सिद्धान्तहरु उल्लेख गर्दै निर्णय गर्दा के के कुरालाई आधार मान्नु पर्दछ प्रकाश पार्नुहोस् । (३++४)

 Decision making job is the heart of public administration

समस्या समाधानका लागि विभिन्न विकल्पहरूमध्येबाट उत्तम विकल्प छनौट गर्न एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय लिने तरिका निर्णय निर्माण हो । प्राप्त विकल्पमध्ये उत्तम विकल्प छनौट गरी टुङ्गोमा पुग्ने कार्यलाई पनि निर्णय निर्माण भनिन्छ। समस्याको चरणबाट समाधानको बाटो सम्म पुग्नु नै निर्णय लिनु हो । निर्णय प्रक्रिया एक व्यवस्थापकीय कार्य हो भने सार्वजनिक प्रशासन सञ्चालनको एक महत्त्वपूर्ण विधि पनि हो । आवश्यकता पूरा गर्न परिवर्तनलाई संस्थागत गर्न र समस्याको समाधान गर्न निर्णय लिइन्छ ।

निर्णय प्रक्रियाका चरणहरू

  • समस्याको पहिचान
  • निर्णयका आधार तथा सीमाहरू पहिचान
  • निर्णयका आधारहरूलाई भार वितरण
  • विभिन्न विकल्पहरूको विकास
  • विकल्पहरूको विश्लेषण र मूल्यांकन
  • उत्तम विकल्पको छनौट
  • निर्णय कार्यान्वयन
  • निर्णयहरूको प्रभावकारिताको मूल्यांकन र पृष्ठपोषण

निर्णय निर्माणका सिद्धान्तहरू

  • विवेकशिल समझको सिद्धान्त- वस्तुस्थितिको राम्रो विश्लेषण गरेर मात्र निर्णय लिने
  • जनमतको सिद्धान्त- जनताको मत र भारलाई आधारको रुपमा लिने

ग)निरन्तरताको सिद्धान्त-निर्णय गर्दा विगतका निर्णयलाई पनि आधार मान्नु पर्दछ

घ) मिश्रित लेखाजोखाको सिद्धान्त – निर्णय लिदा Rational Comprehensives र Incremental दुवै सिद्धान्तलाई आधार मान्नु पर्दछ

ङ) सीमित विवेकशीलताको सिद्धान्त- सीमित विवेकशीलताको प्रयोगमा निर्णय लिनुपर्दछ

च) अबरोधको सिद्धान्त- विभिन्न अवरोधलाई समाधान गर्दै निर्णयमा पुग्नु पर्दछ

 

निर्णय लिदा अपनाइने आधारहरू

  • नीतिगत आधार- संविधान क्षेत्रगत तथा राष्ट्रिय नीतिहरू
  • कानुनी आधार- ऐन नियम आदेश निर्देशन र अदालती नजीर आदि
  • व्यवस्थापकीय आधार- व्यवस्थापीकाका सिद्धान्त managerial tools आदि
  • तथ्याङ्कीय आधार- प्रयाप्त मात्रामा सूचना एवं तथ्यांकको प्रयोग
  • आर्थिक स्रोत साधनहरूको उपलब्धता र कार्यान्वयन क्षमता
  • सरोकारवालाहरूको सुझाव सल्लाह परामर्श र दबाब
  • अन्तराष्ट्रिय सन्धी सम्झौता तथा सहायता रणनीतिहरू
  • विशेषज्ञ सेवा – सम्बन्धीत विषययमा राय परामर्श
  • विगतका असल अभ्यासहरूको अवलम्बन ।

अन्त्यमा

सार्वजनिक प्रशासनमा निर्णय प्रक्रिया एक महत्त्वपूर्ण र निरन्तर चलिरहने कार्य हो । संगठनको  सफलता र असफलतालाई नै निर्णयको आधारले फरक पार्ने हुँदा  निर्णयकर्ताले उचित, प्रभावकारी र सांगठनिक हितलाई ध्यानमा राखी निर्णय लिन सक्नुपर्दछ। ताकि बुद्धिमतापूर्ण निर्णयले समस्यालाई जरैदेखि उखेली संगठनमा नवीनता भित्राउने र लक्ष्य उद्देश्य हासिल हुने गर्दछ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)