NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेले बनायो ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी, सदस्यहरूमा को–को छन् ?

काठमाडौं । सत्तागठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सकस परिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा आइतबार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ओलीको नेतृत्वमा ४५१ सदस्य कमिटी गठन गरेको संगठन विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिए ।

बैठकले ३४ सदस्य केन्द्रीय सचिवालय गठन गरेको छ । उक्त कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् ।

आइतबारको बैठकमा अध्यक्ष ओलीले पालिकास्तरसम्म निर्वाचन परिचालन कमिटी गठन गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिन निर्देशन दिएका छन् ।

शनिबार सकिएको एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई भावि प्रधानमन्त्रीको रूपमा अघि सार्दै उनलाई चुनावी मूख्य कमाण्डर तोकेको थियो । भदौ २२ भित्र एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गरि पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । बैठकले निर्वाचनसम्बन्धी सम्पूर्ण निर्णय लिने अधिकार ओलीलाई दिएको थियो ।

समानुपातिक उम्मेदवारमा पछिल्लो निर्वाचनमा पराजित भएका र यसअघि सांसद भइसकेकालाई नदोहोर्याउने नीति लिएको छ । प्रत्यक्षतर्फ जित्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राखेको छ । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको ३४ प्रतिशत मतलाई आधार बनाएको एमालेले १६ प्रतिशत मत बढाउने रणनीति बनाएको छ । त्यसका लागि उसले एमाले नेतृत्वको सरकारले गरेको राम्रा कामको प्रचार र वामपन्थी दलहरूका कार्यकर्तालाई पार्टी प्रवेश गराउने नीति लिएको छ । सत्तागठन्धनमा भागबण्डाको विवादले समस्या आउने र त्यसको फाइदा एमालेलाई पुग्ने निष्कर्ष निकालेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष