NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मुख्यमन्त्री राजेन्द्र राईलाई टिकट पाउनै मुस्किल, पाए जित्न मुस्किल

काठमाडौं । सत्तारुढ दल (एकीकृत समाजवादी)ले प्रदेश १ का मुख्यमन्त्री तथा सचिव राजेन्द्रकुमार राईलाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेपछि उनले ५ बुँदे स्पष्टीकरण दिएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईलाई प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको थियो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकबाट भ्रम नरहोस् भन्दै राईले पार्टीले आफू भोजपुरबाट नै निर्वाचन लड्ने स्पष्टीकरण दिएका हुन् । तर पार्टीले निर्णय गरे आफू जस्तोसुकै अप्ठ्यारोमा पनि उम्मेदवार बन्न तयार रहेको उल्लेख गरेका छन् । उनको स्टाटसलाई लिएर सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएको छ ।

भोजपुरमा पेचिलो

राईले योपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी गरेका छन् । अघिल्लो निर्वाचनमा भोजपुर ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले र माओवादीबीच गठबन्धन भएका कारण किराँतीले टिकट पाएपछि उनी प्रदेशसभा सदस्य बन्न बाध्य भएका थिए ।

निर्वाचनपछि प्रदेश १ को मुख्यमन्त्री भोजपुर २ बाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य शेरधन राई मुख्यमन्त्री भए । तत्कालीन एमालेभित्र सत्ता संकट गरिहिँदै गएपछि शेरधनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । भीमप्रसाद आचार्य मुख्यमन्त्री भए । एमाले विभाजनका कारण आचार्यले विश्वासको मत नपाउँदा गठबन्धनको तर्फबाट राई मुख्यमन्त्री भएका थिए ।

भोजपुर– १ बाट प्रतिनिधिसभामा माओवादीका सुदन किँराती ३४ हजार ३९४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए । किराँतीको मतान्तर १२६९८ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले २७६५६, कांग्रेसले २३५९९, माओवादीले १४७६१, एसले १९४५ र जसपाले १६४५ मत पाएका थिए । गठबन्धनको जम्मा मत ४१ हजार ९५० रहेको छ । मतान्तर १४ हजार २९४ रहेको छ ।

योपटक पनि किराँती र राई एउटै गठबन्धनमा रहेका छन् । एमालेबाट शेरधन राई भोजपुरका बलिया उम्मेदवार हुन् । माओवादीका किराँती पनि दोहोरिन चाहेका छन् । एकीकृत समाजवादी भोजपुरले राईलाई अगाडि सारेको छ । एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा भागबण्डा दिलाउन निकै सकस देखिएको छ । स्थानीय तहको चुनावी परिणामले तुलनात्मक रुपमा एसभन्दा भोजपुरमा एमाले, कांग्रेस र माओवादी बलियो देखिएको छ ।

सुनसरीमा एमाले बलियो

त्यस्तै राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडि सारिएको सुनसरी–१ मा गठबन्धनबाट उनले टिकट पाउन निकै मुस्किल रहेको छ । यो क्षेत्रबाट आघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार जयकुमार राई विजयी भएका थिए ।

उनले ४४ हजार ५२८ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी अशोककुमार राईले २२ हजार १२३ मत पाएका थिए । २२ हजार ४०५ मातान्तर रहेको छ । विभाजन आएपनि सुनसरी–१ मा एमाले निकै बलियो रहेको छ ।

स्थानीय तह निर्वाचनमा सुनसरी–१ बाट एमालेले ३३४५३, कांग्रेस २६६६४, माओवादी ७०१८ र राप्रपाले ४०७४ मत पाएको थियो ।
यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३३ हजार ६८२ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर जम्मा २२९ छ । यी दुवै क्षेत्रमा एकीकृत समाजवादी निकै कमजोर स्थितिमा रहेकाले राईले टिकट पाउने सम्भावना निकै कम देखिन्छ । टिकट पाएपनि दुवै क्षेत्र राईको लागि असुरक्षित देखिन्छ ।

यस्तो छ राईको ५ बुँदे स्पष्टिकरण

भ्रम नरहोस् !

१. दुवै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मुल्यांकन÷ चाहनाको आधारमा भएको हो यसमा मेरो कुनै हात/इसारा/संकेत/माग/चाहना जोडिएको छैन ।

२. म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले संधै मान्न पर्छ नै । अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ, गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ त्यसैले उम्मेद्वारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु । गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन / नेताले चुनाव लड्नै पर्छ/ सांसद बन्नै पर्छ भन्ने नि छैन । पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु !

४. भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो । भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरीराख्नु भएको छ । त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना/सोच छैन / भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद/मन्त्री केही नभई भुइमा बसेर नि भोजपुर र भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन ।

५. सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस म होइन, पार्टीको निर्देशन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छु/अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला !
बात बाँकी पछि ! धन्यवाद !