NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

१ लाख १५ हजार म्यादी प्रहरी लिइँदै, तलब बढ्यो, कहिले खुल्छ भर्ना ?

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । स्थानीय चुनावमा एक लाख भर्ना गरिएका थिए । आगामी चुनावमा मतदानस्थल बढ्ने भएकाले म्यादीको संख्या बढाउन लागिएको हो ।

नेपाल प्रहरीले एक लाख २० हजार म्यादी भर्नाको प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको छ । सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र आइतबार गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार एक लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने करिब ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।

चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

‘एक लाख १५ हजार म्यादीका लागि बजेट सुनिश्चित भयो भन्ने छ,’ उनले भने, ‘अब छिट्टै हामी एकीकृत सुरक्षा योजना बनाउँछौँ ।’

यसपटक म्यादी प्रहरीको तलब पनि बढेको छ । यसअघि २२ हजार ६ सय ८० रुपैयाँ तलब रहेकोमा यसपटक २६ हजार ८२ रुपैयाँ पाउनेछन् । यसका अतिरिक्त सम्बन्धित जिल्लाको दररेटअनुसारको रासनभत्ता पनि म्यादीले पाउनेछन् । उनीहरूलाई पोसाक, जुत्ता, लठीलगायत सामान खरिदमा यसअघि ६ हजार रुपैयाँ दिइएकोमा यसपटक आठ हजार प्रस्ताव गरिएको छ ।

मंसिरमा जाडो हुने भएकाले स्वेटरसमेत किन्नुपर्ने भएकाले यस्तो खर्च बढाइएको हो । त्यस्तै, यसअघि बाटो खर्च हजार रुपैयाँ दिइएकोमा यसपटक एक हजार पाँच रुपैयाँ दिइनेछ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा एक लाख म्यादी प्रहरी भर्ना भएका थिए । स्थानीय निर्वाचनभन्दा करिब पाँच लाख मतदाता थपिने निर्वाचन आयोगले जनाएको छ । यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्नेछन् । सोही आधारमा म्यादी प्रहरीको संख्या पनि बढाउने निर्णय भएको हो ।

एक उच्च प्रहरी अधिकारीका अनुसार मतदान केन्द्रमा चारवटा मतपेटिका हुने भएकाले पनि सुरक्षाकर्मी धेरै चाहिने अवस्था छ । यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी चारवटा मतपेटिका हुनेछन् । एक मतपेटिकाको सुरक्षामा कम्तीमा एक सुरक्षाकर्मी राख्ने गरिएको छ । स्थानीय तहको निर्वाचनमा कतिपय मतदानस्थलमा सुरक्षाकर्मी कम भएकै कारण समस्या भएको थियो ।

म्यादी प्रहरी भर्नाका लागि अबको केही समयपछि प्रक्रिया थाल्ने तयारी छ ।