NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कुलमान र स्वर्णिमहरूको उम्मेदवारी बालेनबाट विरक्तिएपछिको जुक्ति कि दलीयतन्त्रमा नयाँ सन्देश ?

काठमाडौं । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा दलीय प्रभावलाई धुलिसात बनाउँदै स्वतन्त्रका बालेनहरूको उदय भएपछि दलहरूमा तरंग पैदा भएको छ । घरघरमा पार्टी सदस्य भएका कांग्रेस र एमाले जस्ता दलको प्रभावलाई तोड्दै काठमाडौं महानगरपालिका बालेन शाह र धरानमा हर्क साम्पाङको मेयरमा उदय भएपछि दलहरू तिल्मिलाएका हुन् ।

समकालीन दलसँगै रुष्ट भएर मतदाताले भोट हालेकाे मेयर र वडाध्यक्षको भोटले प्रष्टै देखाउथ्यो । दलभित्रैका मतदाताले स्वतन्त्र छान्नुको संकेत परम्परागत दलभित्र सुधार खोज्नु हो । यसैले पनि दलहरूमा दबाब बढेकाे हुनुपर्छ ।

प्रभाव भएकै क्षेत्रमा हार्नु परेपछि मंसिर ४ को चुनावमा पनि फेरि त्यस्तै नियति दोहोरिनेहो की भन्ने आशंकाले दलहरू नयाँ जुक्ति निकाल्न थालेका छन् । स्वतन्त्रलाई हावी हुन नदिन बरु अहिलेसम्म स्वतन्त्र हैसियतमा काम गरेकालाई तान्दै उम्मेदवार बनाउने नीति दलहरूले लिएका छन् । लोकप्रिय सार्वजनिक व्यक्तिलाई अघि सार्दा अरु स्वतन्त्र पनि रोक्न सकिने र पार्टीको पक्षमा सकारात्मक माहोल बनाउन सक्ने बुझाई दलहरूको देखिन्छ ।

‘दल पार्टीभित्रको क्षमताले मात्रै पार्टी चल्दैन । संसदमा वास्तविक बहस हुन र नयाँ विषयमा विमर्श गर्न पनि एक्सपर्ट पनि चाहिन्छ । पार्टी भित्रको मात्रै क्षमताले संसद र सरकारलाई पुग्दैन । युरोप, अमेरिका चीनको अभ्यास हेर्दा पढेलेखेका, एक्सपर्टलाई अवसर दिने छ’ कांग्रेस युवा नेता गुरु घिमिरे भन्छन्, ‘विकसित देशले विषयविज्ञलाई अवसर दिएर विकास गरे । हाम्रो संसद शास्त्रीय र परम्परागत भयो । त्यसैले नयाँ कुराको बहस गराउन स्वर्णिम वाग्ले जस्ता मान्छेलाई अवसर दिंदा जित्ने देखियो । यस्ता मान्छे आउँदा जित्ने मात्रै होइन पार्टीको पक्षमा पनि राम्रो सन्देश जाने भएकोले यो नराम्रो अभ्यास होइन ।’

उज्यालोका संवाहकको साथ खोज्दै माओवादी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनले भन्दा बढी सेन्टिमेन्ट बटुल्ने गरी मंसिर ४ को निर्वाचनमा उम्मेदवार तय गर्ने बताएका थिए । उनले यस्तो बताएको भोलिपल्टदेखि काठमाडौं ३ मा कुलमान घिसिङले निर्वाचन लड्न तयारी गरेको विषय बाहिरिएको छ ।

१८ घण्टा लामो लोडसेडिङ अन्त्य गर्न नेतृत्व गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक महत्वपूर्ण नेतृत्व लिएका थिए । लोडसेडिङ अन्त्य गरेकैले उनलाई धेरैले सहजै चिन्ने र रुचाउने गरेका छन् । यसैले उनलाई अघि सारेर  बढी नै सेन्टिमेन्ट बटुल्न सकिने विश्वास प्रचण्डले लिएका छन् ।

यसैले माओवादीले उनलाई काठमाडौं ३ बाट उम्मेदवार बनाउने चर्चा भएको हो । विद्युत प्राधिकरणको मात्रै भन्दा पनि सांसद जितेर भोलि उर्जामन्त्री नै बन्दा धेरै काम गर्न सकिने भन्दै माओवादीले उनलाई सांसदमा उठाउने तयारी गरेको हो । उनलाई अघि सार्दा सकारात्मक सन्देश दिन सकिने र पार्टीलाई पनि फाइदा हुने बुझाई अध्यक्ष प्रचण्डको छ ।

आर्थिक ‘एक्सपर्ट’लाई अघि बढाउँदै कांग्रेस

स्वतन्त्रको दबाबले कांग्रेसलाईसमेत स्वतन्त्र व्यक्तिलाई ल्याएर चुनावमा उठाउनुपर्ने दबाब बढेको छ । यसैले स्वर्णिम वाग्लेलाई पार्टीबाट चुनाव लडाउने तयारी कांग्रेसले गरेको छ । उनले चितवन १ बाट लड्न भन्दै पार्टीमा दरखास्त नै हालेका छन् । कांग्रेसबाटै चुनाव लड्नको लागि उनी विदेशको आकर्षक जागिर त्यागेर नेपाल आएको बताइन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष भएर काम गरिसकेका वाग्ले चर्चित अर्थविद्समेत हुन् । उनलाई उम्मेदवार बनाउन सक्दा जनमानसमा र विपक्षीलाई समेत राम्रो सन्देश दिन सकिने बुझाई कांग्रेसको छ ।

यही क्षेत्रबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पनि उम्मेदवार बन्न इच्छा देखाएका छन् । आफ्नो गृहनगरसमेत यही क्षेत्रमा रहेकोले वाग्लेको घोषणालाई पौडेलले आश्चर्यको रुपमा लिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ भइसकेका डा. गोविन्दराज पोखरेल पनि फेरि कांग्रेसमा उम्मेदवारको दाबेदार हुन् ।

गठबन्धनलाई बदला लिन मिश्रलाई अघि लगाउँदै एमाले

बिबिसी नेपाली सेवामा काम गर्दा प्रश्न सोधेर नेतालाई हायलकायल बनाउने रविन्द्र मिश्र पनि यसपटक ठूलै पार्टीइको सहयोगमा उम्मेदवार बन्दै गरेको चर्चा छ । गत निर्वाचनमा मिश्रले काठमाडौं १ बाट उठेर कांग्रेसका प्रकाशमान सिंहलाई झण्डै पराजित गरेका थिए । ८१८ मतान्तरले मिश्र पराजित हुन पुगे ।

तर अघिल्लो निर्वाचनमा जस्तो उनको दल विवेकशील साझालाई स्वतन्त्र नागरिकले त्यत्ति रुचाएका छैनन् । वैशाख ३० चुनावको नतिजाले पनि यही संकेत गरेको छ । यतिमात्रै होइन उनको पार्टी पनि यतिखेर तहसनहसको अवस्थामा छ । यसैले यसपटक चुनाव जित्न मिश्रलाई पनि कुनै दलको छहारी चाहिएको छ ।

सधैं आलोचक बन्दै आए पनि एमाले अध्यक्ष केपीलाई मिश्र भेट्न पुग्नुले एमालेको आशिर्वाद चाहेको संकेत मान्न सकिन्छ । सत्ता गठबन्धनले एमालेलाई कर्नरमा पुर्याउन लाग्दै गर्दा गठबन्धनविरुद्ध कोही मिल्न आए आत्मसात गर्ने तयारीमा ओली पनि छन् । राप्रपा वा राजावादी जो आए पनि मिलेर चुनावमा जान ओलीले कम्मर कसेका छन् ।

गठबन्धनका प्रकाशमानलाई काठमाडौं १ मा रोक्न मिश्रलाई एमालेले समर्थन गरेर पनि जान सक्ने देखिएको छ । स्वतन्त्र हैसियतमा राम्रो छवि बनाएका पूर्व पत्रकार मिश्रलाई साथ दिंदा कांग्रेस उम्मेदवार हार्न सक्ने बुझाई एमालेको पनि रहेको बताइन्छ । तर एमालेले मिश्रलाई काठमाडौं १ मा सहयोग गरेर जानेबारे केही खुलाएको छैन । मिश्रमात्रै हाेइन एमालेले राप्रपासँग तालमेल गर्न खाेजेकाे छ ।

मिश्रमात्र होइन एमालेले केही नयाँ अनुहारलाईसमेत चुनावी मैदानमा उतारेर यसपटक नयाँ प्रयोग गर्दैछ । काठमाडौंको उपमेयरमा एकसेएक दाबेदारलाई पछाडि छोड्दै एमालेले सुनिता डंगोललाई उम्मेदवार बनाएको थियो । पहिलोपटक चुनाव लडेकी उनले सानदार जित हात पारेकी थिइन् ।