NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘लाल सिंह चड्डा’ फ्लप हुनुको जिम्मेवारी लिँदै आमिरले गरे पारिश्रामिक नलिने निर्णय

एजेन्सी । बलिउड अभिनेता आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ कमजोर व्यापारका कारण बक्स अफिसमा नराम्ररी पछारियो । फिल्म प्रदर्शन हुनुअगावै सुरू भएको ‘बोयकट ट्रेण्ड’ को लहरले फिल्मलाई नसोचेको नोकसानी पुर्यायो ।

चार वर्षपछि पर्दामा फर्किएका आमिरको यस फिल्मबाट दर्शकले धेरै आश गरेका थिए । तर, उनी र अभिनेत्री करिना कपूरलाई लिएर चर्को हेय उत्पन्न भएपछि दर्शकले फिल्मलाई नकारे । फलस्वरुप एक सय ८० करोड लगानीमा बनेको फिल्मले भारतमा २० दिनमा जम्मा ६२.६६ करोडको कमाइ गरेको छ ।

यसले निर्मातालाई करोडौंको नोक्सानी पुर्याएको छ । आमिरले यही नोक्सानीको भरपाइ गर्नका लागि फिल्मबाट आफूले पाउनुपर्ने पारिश्रामिक नलिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड हंगामाको रिपोर्टअनुसार आमिरले फिल्म निर्माता तथा वितरककर्तालाई भएको घाटाका कारण पारिश्रामिक नलिने फैसला गरेका छन् । आमिरले आफ्नो पारिश्रामिक लिएमा निर्मातालाई सय करोड भन्दा बढी घाटाको भार थपिने जनाइएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै आमिरले फिल्म असफल हुनुको जिम्मेवारी आफैंले पनि व्यहोर्ने निर्णय गरेर पारिश्रामिक नलिने फैसला गरेका हुन् ।

आमिरले यो फिल्मको लागि चार वर्षसम्म काम गरेका थिए । तर, फिल्मबाट भने उनलाई केही पनि हात लागेन । ‘बोयकट ट्रेण्ड’ को चपेटामा परेर फिल्म बक्स अफिसमा ‘डिजास्टर’ साबित भयो ।

बलिउडका तीनै खान आफ्नो पारिश्रामिकका कारण सधैं चर्चामा रहन्छन् । आमिरले आफू अभिनित कुनै पनि फिल्म फ्लप भएका कारण पारिश्रामिक नलिने घोषणा गरेको यो नै पहिलो पटक हो । चार वर्षअघि रिलिज भएको उनी अभिनित फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ पनि फ्लप भएको थियो । तर, आमिरले त्यसवापत पारिश्रामिक लिए ।