NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काठमाडौंका १० वटै क्षेत्रबाट एमाले उम्मेदवार सिफारिस, को परे ? को परेनन् ?

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस  गरेको छ ।

भदौ ११ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भदौ २२ भित्र एक महिलासहित ३ जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीलाई निर्देशन दिए बमाेजिम उम्मेदवार सिफारिस भएका हुन् ।

केन्द्रीय कमिटीको निर्देशनपछि एमाले काठमाडौं जिल्ला कमिटीले १० वटै क्षेत्रीय कमिटीलाई निर्धारित समयभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न परिपत्र पठाएको थियो ।

क्षेत्रीय कमिटीले निर्धारित समयसीमाभित्र अधिकांश क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको जिल्ला कमिटीका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौं–१ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई रहेका छन् ।

२ बाट मणिराम फुयाँल, ३ बाट कृष्णबहादुर राई सिफारिस भएका छन् । अघिल्लोपटक २ बाट पूर्वप्रधानमन्त्री माधव नेपाल निर्वाचित भएका थिए । उनी एमालेबाट अलग भएपछि उनको स्थानमा फुयाँललाई सिफारिस गरिएको हो । राई अघिल्लोपटक ३ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै क्षेत्र नम्बर ४ बाट डा.राजन भट्टराई र निर्मल कुईंकेल रहेका छन् । विदेश विभाग प्रमुखसमेत रहेका भट्टराई अघिल्लो पटक कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए ।

यसैगरी ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सिफारिस भएका छन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ६ बाट सबैभन्दा धेरैको उम्मेदवारी परेको छ । यहाँ योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना रहेका छन् ।

अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ७ विजयी भएका रामवीर मानन्धर योपटक आउट भएका छन् । उनी स्थानीय तह निर्वाचनदेखि नै निष्क्रिय रहेका थिए । उनको स्थानमा काठमाडौंका पूर्वमेयर रहेका विद्यासुन्दर शाक्य, रघुजी पन्त, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिर रहेका छन् । पन्तले अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट उठ्ने आकांक्षा देखाएपनि वामगठबन्धनभित्र भागबण्डा गर्दा सो क्षेत्र माओवादीको भागमा परेको थियो ।

त्यस्तै उपध्यक्ष तथा वाग्मतीका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको क्षेत्र रहेको ८ बाट राजेश शाक्य सिफारिस भएका छन् । अघिल्लोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका उपाध्यक्ष शाक्य योपटक उम्मेदवारी दिने वा नदिनेबारे केही उल्लेख गरेकी छैनन् । उपाध्यक्ष शाक्यले इच्छा गरे उनलाई सिफारिस गर्ने तयारी क्षेत्रीय कमिटीको छ ।

त्यस्तै क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्यको नाम सिफारिस भएको छ । विद्यासुन्दरको नाम ७ बाटपनि सिफारिस भएको छ । यो क्षेत्रबाट अघिल्लोपटक कृष्णगोपाल सिफारिस भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर १० बाट मदजुर संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर र शम्भुराम महर्जन सिफारिस भएका छन् ।