NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सामूहिक हत्याकाण्ड आरोपमा जेलमा रहेका आलम पनि उम्मेदवारमा सिफारिस

काठमाडौं । सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलम पनि प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिसमा परेका छन् ।

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेस रौतहट २ बाट आलम उम्मेदवारमा सिफारिस भएका हुन् । अघिल्लोपटक आलम यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगका लागेपछि उनी पुर्पक्षका लागि अहिले ललितपुरको नख्खुस्थित कारागारमा थुनामा छन् ।

तर कांग्रेस रौतहटले थुनामा रहेका आलमको नाम उम्मेदवारमा सिफारिस गरेको हो । आलमका साथै अन्जु झा पनि उम्मेदवारमा सिफारिसमा परेकी छिन् । रौतहट जिल्ला अदालतमा आलमको मुद्दा विचाराधीन छ ।

कांग्रेसको परिपत्र अनुसार एउटा क्षेत्रबाट प्रत्यक्षमा एक महिलासहित तीनजना र समानुपातिकमा एक महिलासहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने छ ।

अघिल्लो निर्वाचनमा आलम रौतहट २ बाट १९६८ मतले विजयी भएका थिए । संघीय समाजवादी फोरमका किरणकुमार साह उनीसँग पराजित भएका थिए ।

आलममाथि मान्छेलाई इट्टाभट्टामा हालेर जलाएर मारेको आरोप लागेको छ ।