NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसका प्रभावशाली चार युवा नेता कहाँबाट लड्दैछन् चुनाव ? के छ यी नेताको क्षेत्रको अंकगणित ?

काठमाडौं । कांग्रेसका प्रभावशाली ४ युवा नेता ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं गुरु घिमिरे र प्रदीप पौडेल चारै जनाले एकैपटक कुनै पनि निर्वाचन लडेका छैनन् । यसैले चार जना नै यसपटक प्रतिनिधिसभामा निर्वाचन लड्ने तयारीमा छन् ।

चार नेतामा नै नेविसंघको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा छाएका हुन् । गगन थापा महामन्त्री बनेको बाहेक तीनै जना नेविसंघको सभापति भइसकेका नेता हुन् । कांग्रेसमा अहिले यी चार नेता युवा नेताको रुपमा सबैभन्दा बढी परिचित छन् । यी चारै जनाले प्रतिनिधिसभाको उम्मेदवार बन्न निवेदन दिएका छन् । चारमध्ये गगन थापाको उम्मेदवार बन्ने टुंगो छ । तर अरु तीन जनाको उम्मेदवारीबारे अहिले नै भन्न सकिने अवस्था छैन ।

गगन थापा

नेविसंघका पूर्व महामन्त्री हुन् थापा । तर महामन्त्रीबाट कांग्रेस राजनीतिमा छिरेका उनी छोटो समयमा धेरै चर्चा बटुल्ने नेतामध्येमा पर्छन् । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि १४ औं मा भने थापाले महामन्त्री जिते । उनी २०६४ सालमा समानुपातिक सांसद बनेयता प्रतिनिधिसभामा काठमाडौं ४ बाट २०७० र २०७४ सालको निर्वाचन जित्न सफल भए । थापा स्वास्थ्यमन्त्री भइसकेका छन् ।
यसपटक यो क्षेत्रमा कांग्रेसबाट थापाको मात्रै उम्मेदवारी पर्ने निश्चितजस्तै छ । उनलाई काउन्टर दिने अर्को कुनै उम्मेदवार यो क्षेत्रमा नभएकोले टिकटको लागि लडाईं गर्नुपर्ने अवस्था छैन ।

थापाले अघिल्लोपटक यो क्षेत्रबाट एमालेका राजन भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए । यसपटक फेरि पनि काठमाडौं ४ बाटै उम्मेदवार बन्ने तयारीमा थापा छन् । उनी स्वास्थ्यमन्त्री पनि भइसकेका छन् ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत

योपटकको स्थानीय तह निर्वाचनमा काठमाडौं ४ का वडाध्क्षले पाएको मतमा एमालेको १६५०७, कांग्रेसको १५७६३, नेकपा एसको २४१४, राप्रपाको २२९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । गठबन्धनलाई सहजै यो क्षेत्रमा मतका आधारमा अगाडि देखिन्छ ।

विश्वप्रकाश शर्मा

युवा नेता विश्वप्रकाश शर्मा पनि नेविसंघका पूर्व सभापति हुन् । उनी पनि उत्तिकै चर्चित युवा नेता हुन् । शर्मा १३ औं महाधिवेशनपछि पार्टी प्रवक्ता बने । १४ औं महाधिवेशनमा भने प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार बन्दै जित्न सफल भए । ठूला गुटबाट नपरे पनि आफ्नो लोकप्रियताको आधारमा शर्मा महामन्त्रीमा चुनिन सफल भएका हुन् । यस क्रममा उनले डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई पछाडि छोडे ।

पार्टीको आन्तरिक राजनीतिमा सफलताको खुट्किलो चढ्दै आए पनि शर्मा अहिलेसम्म सांसद हुन सकेका छैनन् । यसअघि दुईपटक उम्मेदवार बनेका उनी दुवैमा झापाबाट पराजित हुन पुगे । अघिल्लोपटक झापा १ बाट शर्मा माओवादीका राम कार्कीसँग २८६३ मतले पराजित हुन पुगेका थिए । यसपटक झापा १ बाटै उम्मेदवार बन्न उनी सर्वसम्मत रुपमा सिफारिसमा परेका छन् ।

अघिल्लोपटक जितेका ठाउँमा सोही दलले उम्मेदवारी दिने सत्तारुढ दलको सैद्धान्तिक सहमति अन्तिम समयसमम्म पनि कायम भए विश्वप्रकाशलाई यसपटक टिकट पाउन अन्य क्षेत्र जानुपर्ने दबाब आउन सक्छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३१२३२, कांग्रेसले २४०५९, राप्रपाले ५९२२, माओवादीले ३९०५, नेकपा एसले १२५२ प्राप्त गरेका थिए । एमालेभन्दा गठबन्धन वडाको मतको आधारमा ४ हजारले अगाडि देखिन्छ । यस्तोमा टिकट पाए युवा नेता शर्मालाई जित्न गाह्रो देखिंदैन ।

गुरु घिमिरे

घिमिरे पनि नेविसंघका पूर्व सभापति हुन् । कांग्रेस युवा नेतामा वैचारिक बहस गर्ने र इमान्दार नेताको रुपमा उनी परिचित छन् । कांग्रेसमा केन्द्रीय सदस्य भइसकेका उनी अहिलेसम्म सांसद हुन पाएका छैनन् । उनलाई पार्टीले अहिलेसम्म चुनावमा टिकट दिएको छैन । तर यसपटक मोरङ ४ बाट चुनाव लठ्न उनले पार्टीमा निवेदन हालेका छन् ।

यो क्षेत्रमा २०७४ सालमा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई ६७२९ मतान्तरले पराजित गरेका थिए । यो क्षेत्रबाट यसपटक घिमिरेसहित अघिल्लोपटक पराजित भएका आचार्य र दिलीप खवास गच्छदारले पनि निवेदन हालेका छन् । सत्ता गठबन्धनबीच अघिल्लोपटक जितेका उम्मेदवार नै दोहोरिने सैद्धान्तिक सहमतिले योपटक कांग्रेस नेताको दाबीमा असर पर्न सक्ने जोखिम पनि उत्तिकै छ । कांग्रेसले टिकट पाउँदा यसपटक गुरुलाई दिन दबाब छ । लाभको पद नलिएको, वैचारिक र इमान्दार नेता भएकोले उनलाई टिकट दिनुपर्ने दबाब यसपटक कांग्रेसलाई छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत

स्थानीय तहको निर्वाचनमा यसपटक मोरङ ४ का वडाध्यक्षतर्फ एमालेले २५७३०, कांग्रेसले २१८९४, माओवादीले ९९९०, राप्रपाले ४६७४, जसपाले ३११२ र नेकपा एसले १२५५ मत ल्याएका थिए । गठबन्धनको भोट ३६ हजारमाथि छ । एमाले र राप्रपा मिल्दा गठबन्धनसँगको मतान्तर पाँच हजारमा छोटिनेछ ।

प्रदीप पौडेल

पौडेल पनि नेविसंघको अध्यक्ष भइसकेका छन् । उनी कांग्रेसको केन्द्रीय सदस्य पनि लगातार भइसकेका छन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा उठेका पौडेल पराजित भएका थिए । सिटौला पक्षका उनलाई पार्टी संस्थापन देउवा पक्षले आफ्नो टिममा ल्याएर महामन्त्रीको उम्मेदवार बनाएको थियो । तर पराजित हुन पुगे ।

२०७४ सालमा पौडेल तनहुँ २ क मा लड्दा ५ मतले मतले पराजित भएका थिए । तर यसपटक उनी तनहुँ २ बाट उम्मेदवारी दिने तयारीमा छन् । उनले यही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन पार्टीमा निवेदन हालिसकेका छन् । यो क्षेत्रबाट अघिल्लोपटक एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई ३२७९ मतान्तरले पराजित गरेका थिए । तर भण्डारीले यसपटक तनहुँ १ बाट निर्वाचन लड्ने भन्दै पार्टीमा निवेदन दिएका छन् । १ बाटै नेता रामचन्द्र पौडेल, गोविन्द भट्टाराई, रामचन्द्र पोखरेलले उम्मेदवार बन्न निवेदन हालेका छन् ।
तर तनहुँका दुई क्षेत्रमध्ये एउटामा नेकपा एसले दाबी गर्ने देखिएको छ । अघिल्लोपटक १ बाट तत्कालीन एमालेका किसान श्रेष्ठले रामचन्द्र पौडेललाई हराएका थिए । यसपटक उनी नेकपा एसमा छन् । त्यसैले दुईमध्ये एउटामा एसको दाबी हुँदा कांग्रेसका प्रभावशाली नेता नै टिकटबाट बञ्चित हुने देखिएको छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत

प्रदीप पौडेलले उठ्न खोजेको तनहुँ २ मा स्थानीय तहको निर्वाचनमा तनहुँ २ को क्षेत्रका वडाध्यक्षमा एमालेले ३०९६२, कांग्रेसले ३०६०६, माओवादीले ६८३६, नेकपा एसले १२५२ र राप्रपाले ९५५ मत ल्याएका थिए । गठबन्धन एमालेभन्दा ७ हजार बढी मतान्तरले अगाडि देखिन्छ ।

मोरङ ४ मा महेश आचार्यलाई गुरु घिमिरेको काउन्टर, कसले हात पार्ला टिकट ?

ताजा अपडेट

नेपालवाच विशेष