NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

विमलेन्द्र निधिले किन रोजे यसपटक समानुपातिक ?

काठमाडौं । कांग्रेसकाे बलियो प्रभाव रहेको क्षेत्रबाट चुनाव लड्दै आएका विमलेन्द्र निधिको नाम समानुपातिकबाट सिफारिस भएको छ ।

यस अघि तराई, पहाड र हिमाल जहाँसुकैबाट पनि उठ्न तयार छु भने बोलेका निधि धनुषा ३ बाट समानुपातिमा सिफारिस भएका हुन् ।

समानुपातिकमा प्रत्येक क्षेत्रले एक महिलासहित दुई जनाको नाम सिफारिस गर्नु भने पनि निधिको नाम एकल रुपमा सिफारिस भएको हो ।

निधि २०७४ सालको निर्वाचनमा राजपाका राजेन्द्र महतोसँग धनुषा ३ बाटै २९०३ मतले पराजित हुन पुगेका थिए । निधिले २८८४७ र महतोले ३०७५० मत प्राप्त गरेका थिए । निधि अघिल्लोपटक मधेसकेन्द्रित दलसँग चुनाव तालमेल गर्दा हर्ताकर्ता थिए । तर उनी आफैं प्रभाव क्षेत्रमै पराजित हुन पुगे । मधेसमा अरू उम्मेदवार पनि जिताउन नसकेकाे भनेर उनकाे अालाेचना हुने गरेकाे छ । तर यसपटक उनले आफ्नै हिसाबमा समानुपातिकमा सिफारिस भएका हुन् ।

‘हो म यसपटक प्रत्यक्षमा चुनाव लड्दिनँ समानुपातिकमा नै सिफारिस गर्न आग्रह गरेको हुँ’ निधिले नेपालवाचसँग भने, ‘मेरै आग्रहमा धनुषा ३ ले समानुपातिकमा मेरो नाम सिफारिस गरेको हो । म किन यसपटक समानुपातिकमा बसें भनेर पछि भन्नेछु ।’

के छ धनुषा ३ मा स्थानीय तह निर्वाचनमा मतको अवस्था ?

धनुषा ३ मा याे पटककाे स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्षतर्फ कांग्रेसको २२४२८, एमालेको १७०९६, लोसपाको ८७६३, जसपाको ८२४३, नेकपा एसको ३७२५, जनमत पार्टीको २४९१, माओवादीको ६६५ र राप्रपाका उम्मेदवारले ५०१ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा कांग्रेस, लोसपा र माओवादी मिल्दा ३४ हजार बढी मत देखिन्छ । एमाले र लोसपा मिले २६ हजार मत पुग्ने देखिन्छ । यसपटक आफू उठ्दा एमाले र लोसपा मिलेर हराउने हुन् कि भन्ने चिन्ता निधिलाई रहेको हुन सक्छ । यसैले उनले समानुपातिकमै बसेर सुरक्षित हुन खोजेको देखिन्छ ।

धनुषा ३ मा जनकपुरमा उपमहागरपालिकाका १ देखि ८ नम्बरसम्मका सबै वडा, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ वडा पर्छन् । त्यस्तै, धनैजी गाउँपालिका, नगराइन नगरपालिका, मुखियापट्टिी मुसहरमियाँ गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ पर्दछन् । धेरै मतदाता जनकपुर उपमहागरकै हुने भएकोले यो नै यो क्षेत्रका लागि निर्णायक हुन्छ ।

महतोको डर, आफ्नैको छैन भर

प्रभावशाली नेता हुनुको बाबजुत पनि निधि अघिल्लोपटक महतोसँग पराजित हुन पुगेका थिए । कांग्रेसको बलियो प्रभाव रहेकै क्षेत्रमा निधि हारेपछि उनको निक्कै आलोचना भएको थियो । यसपटकको स्थानीय तहको निर्वाचनमासमेत जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मेयरमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरको मेयर जसापको भागका परेको थियो । तर निधि पक्षका मनोजकुमार साहले स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका थिए । तर पनि निधिलाई यसपटक के हुन्छ भन्नेमा डर भएको बताइन्छ । सभापति देउवाले लाेसपा पनि यसपटक सँगै हाेस् भन्ने चाहेका छन् । यसैले महताेकाे सिट छाेड्न पनि देउवा तयार छन् । यसकाे सुइँकाेसमेत निधिले पाएकाे हुन सक्छ । अर्काे क्षेत्रमा जाँदा जाेखिम माेल्नुपर्ने भएकाेले उनले समानुपातिकमा सुरक्षा देखेका हुन् ।

स्वतन्त्रका उम्मेदवार साह जिते पनि आफ्नो लागि जोखिम हुन सक्ने बुझाई उनको छ । पार्टी भित्रैबाट अन्तर्घातको डर पनि उत्तिकै रहेपछि निधिले समानुपातिकबाटै सांसद हुने इच्छा देखाएका हुन् । १४ औं महाधिवेशनमा निधि पहिलो चरणमा सभापति शेरबहादुर देउवासँगै भिडेका थिए । तर दोस्रो चरणमा निधिले देउवालाई सहयोग गरे । तर पनि देउवासँग पहिलेको जस्तो आत्मीय सम्बन्ध नरहेको बताइन्छ ।

देउवा जयबहादुर चन्द र निधि नवराज सिलवाललाई आइजिपी बनाउन लागेबाट यी दुईको सम्बन्ध चिसिएको थियो । जसले अझै सौहाद्र्र रुप पाउन सकेको छैन । देउवाको इच्छा विपरीत सभापतिमा दाबी गरेपछि देउवाले उनलाई झनै नरुचाएको बताइन्छ । यद्यपी यी दुईबीचको सम्बन्ध पूरै टुटिसकेको भने छैन । अझै पनि केही माध्यमबाट पहिलेकै जत्तिको आत्मीय सम्बन्ध बनाउन सकिने आशा दुवै पक्षले मारिसकेका छैनन् ।