NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्थानीय तहको मतको अनुपातमा मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ कुन दलले कति सिट जित्दैछन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरे । बुधरबार सुदूरपश्चिमको महेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फ गरी एमालेले पाउने न्यूनतम हिसाबकिताब ओलीले सुनाएका थिए ।

‘मंसिर ४ को निर्वाचनमा दुनियाँ नै आश्चर्यचकित हुने गरी एमाले विजयी हुनेछ । अरूको वैशाखी टेकेर र पैसा बाँडेर होइन’, ओलीले दाबी गरे, ‘इमान्दारिता र जनताको भोटले हामी जित्छौं ।’

कुन आधार र तथ्यमा १५० सिट जित्ने दाबी गरे त्यसबारे उनले केही खुलाउन चाहेनन् । यसअघि स्थानीय तह निर्वाचनमा ६० देखि ६५ प्रतिशत स्थानमा विजयी हुने ओलीको दाबी ३३.०३ प्रतिशतमा सीमित रहेको देखिन्छ ।

ओलीको दाबी तथ्यले नै हावादारी प्रमाणित भइसकेको छ । एकातिर पाँचदलीय गठबन्धन बलियो बन्दै गएको अर्कोतिर एमाले विभाजन भएको अवस्थामा प्रतिनिधिसभामा सुविधाजनक बहुमत ल्याउने ओलीको दाबीलाई विपक्षीहरूले तथ्यहीन मनको बह भनेका छन् ।
‘ओलीको दाबी तथ्यहीन मनको बहमात्र हो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘आगामी निर्वाचनमा एमाले निकै सानो संख्यामा खुम्चिनेछ । ओलीको दाबीको कुनै अर्थ छैन ।’

अघिल्लो निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी जम्मा २७५ मध्ये १७६ सिट जितेको थियो । त्यतिबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिकतर्फ ४१ प्राप्त गरेको थियो । माओवादी केन्द्रले प्रत्यक्षमा ३७ र समानुपातिकतर्फ जम्मा १७ सिट जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा एक सिट जितेको थियो । स्थानीय तह निर्वाचन परिणामको आधारमा एमालेको ३.६६ प्रतिशत मत नेकपा एसको पक्षमा रहेको छ । आगामी निर्वाचनमा एमालेले आवश्यकता हेरि राप्रपालगायत साना दलसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ । जुन स्थानीय तहमै असफल भएका देखिन्छ ।

यस्तो अवस्थामा एमालेले बहुमत ल्याउने आश्चर्यजनक तरिकाबारे ओलीले कुनै व्याख्या गरेनन् । तर आगामी निर्वाचनमा बहुमत ल्याउने आधार केन्द्रीय समिति बैठकले निर्धारण गरेको संगठन विभाग प्रमुख खगराज अधिकारीको दाबी छ ।

‘नीति, सिद्धान्त, विचारविहीन अपवित्र गठबन्धन आगामी निर्वाचनमा नराम्ररी पछारिने छ’, उनले भने, ‘हामीसँग जनपक्षीय योजना छ । विकास र समृद्धिको एजेण्डा छ । जनजीविका र राष्ट्रियतासम्बन्धमा एमालेको सरकारले राम्रो काम गरेको छ । ८ लाख बढी संगठित सदस्यहरू बढेर करिब १२ लाख पुगेका छन् । एक सदस्य बराबर २ मत जोड्दै पाँच मत संरक्षण गर्ने अभियानबाट हामीलाई अपुग हुने १६ प्रतिशत मत वृद्धि गर्न सक्छौं ।’

भदौ ११ मा सकिएको एमालेको केन्द्रीय समिति बैठकले भावी प्रधानमन्त्रीको रुपमा एमालेले ओलीलाई नै अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको छ । प्रदेश इन्चार्जमार्फत ७७ जिल्लाको एमालेको स्थितिबारे प्रतिवेदन पेश भएको थियो । बैठकले बहुमत ल्याउने आधार तय गरी सम्पूर्ण शक्ति निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । ओलीको नेतृत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आगामी निर्वाचनमा एमाले सरकारको पालामा भएको राम्रा कामको प्रचार गर्ने, गठबन्धन सरकारको भण्डाफोर गर्ने, राष्ट्रिता, धर्म, जनजीविकाको विषयलाई एजेण्डा बनाउने, पार्टीभित्र र बाहिरका योग्य तथा क्षमतावान व्यक्तिलाई अवस्था हेरी उम्मेदवार बनाउने रणनीति तय गरेको छ । शक्ति सन्तुलनको आधारमा अवस्था हेरी भरपर्दो दलसँग चुनावी तालमेल गर्ने, आन्तरिक एकतालाई थप बलियो बनाउने उसको रणनीति छ ।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचनमा एमालेले प्राप्त गरेको ३४.०३ प्रतिशतलाई बढाएर ५० प्रतिशत पुर्याउन अभियान नै चलाउने निर्णय गरेको छ । करिब ८ लाख सदस्य ठानिएको एक सदस्य बराबर २ सदस्य थप गरी ५ पाँच सदस्य संरक्षण गर्ने उसले सूत्र तयार गरेको छ । यही सूत्रानुसार एमालेले ५० प्रतिशत भोट वृद्धि गर्ने रणनीति बनाएको देखिन्छ ।

मतदाता आकर्षित गर्न बाहिर जसरी प्रचार गरिएपनि ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर अहिलेकै अवस्थामा बहुमत आउनेमा एमालेकै नेताहरूलाई विश्वास छैन ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ खसेको कूल १ करोड १० लाखमध्ये ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो । त्यतिबेला निर्वाचनमा भाग लिएका ४९ राजनीतिक दलहरूमध्ये ३ प्रतिशत थ्रेसहोल्ड प्राप्त गर्ने जम्मा ५ दल थिए ।

त्यतिबेला प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस ३१ लाख २८ हजार ३७९ मत पाएर दोस्रो भएको थियो । प्रत्यक्षमा ३७ सिट जितेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत ल्याएको थियो ।

तत्कालीन संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ र राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २५१ मत पाएका थिए । जसअनुसार ११० समानुपातिक सिटमध्ये एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम (हालको जसपा) र राजपा (हालको लोसपा)ले समान ६–६ सिट ल्याएका थिए । यसरी पाँच दलले पाएको जम्मा मत संख्या ७३ लाख ७८ हजार ४६ रहेको छ । सिंगो देशलाई एक निर्वाचन क्षेत्र कायम गरी कुल सदर मतमध्ये दलहरूले प्राप्त गरेको मत र सिट संख्याको हिसाब गर्दा एक सांसद बराबर ७७ हजार मत प्राप्त गरेको देखिन्छ ।

योपटक पाँच वर्षअघिको स्थिति छैन । एमालेबाट फुटेको दलसहित पाँचदलीय गठबन्धन निर्वाचनमा जाने अन्तिम तयारीमा छन् । एमालेले राप्रपासहित केही दलसँग सहकार्य गर्ने गरी तयारी गरको छ । अघिल्लो पटक ३ प्रतिशत थ्रेसहोल्ड कटाएको लोसपाले स्थानीय तहमा पाएको मतको आधारमा राष्ट्रिय दलको मान्यता पाउने स्थिति देखिएको छैन । एमालेको विद्रोही शक्तिले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । योपटक राप्रपा र स्वतन्त्रले पनि उल्लेख्य मत पाउने देखिन्छ । नयाँ मतदाता अघिल्लो वर्षको तुलनामा ३२ लाख थपिने आयोगको अनुमान छ । सत्तागठबन्धन कायमै रहेको अवस्थामा एमालेले चुनावी प्रतिस्पर्धा गरे स्थानीय तहको मतपरिणाम उत्साहजनक मत वृद्धि हुने सम्भावना देखिँदैन ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा १ करोड २४ लख मत खसेकोमा १ करोड १० लाख मत सदर भएको थियो । वडाअध्यक्षले पाएको समग्र मत जोड्दा यो निर्वाचनमा कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको थियो । कांग्रेसले पाएको मत ३४.२८ प्रतिशत हो । एमाले ३८ लाख ११ हजार ६०२ मत सहित दोस्रो भएको थियो । उसले पाएको मत ३३.०३ प्रतिशत हो । माओवादी १५ लाख ०३ हजार २४७ सहित तेस्रो भएको थियो । उसले १३.०३ प्रतिशत मत पाएको देखिन्छ । जसपाले ५ लाख ७७ हजार ३८० मत पाएको छ । उसले ५ प्रतिशत पाएको छ । नेकपा एसले ४ लाख २२ हजार ७३७ मत पाएको छ । उसले पाएको मत ३.६६ प्रतिशत हो । राप्रपाले ३ लाख ६४ हजार १६० मतसहित छैटौं स्थान प्राप्त गरेको छ । उसले पाएको मत ३.१६ प्रतिशत हो । लोसपाले ३ प्रतिशत मत ल्याउन असफल देखिएको छ ।

स्थानीय तहमा दलहरूले पाएको मतको आधारमा राष्ट्रिय दलको मान्यता पाउन सक्ने अनुमान गरिएको कुल मत १ करोड ६ लाख ३६ हजार ३१९ रहने देखिन्छ । यो मतको समानुपातिक बाँडफाँटको हिसाब गर्दा एमालेको ४० सिट आउने देखिन्छ । कांग्रेसको ४१ सिट आउनेछ । माओवादीको १६ सिट आउने देखिन्छ । जसपा ६ सिट, एस ४ सिट र राप्रपाको ३ सिट आउने छ । राप्रपाको ४ सिट आउने देखिन्छ । यो अनुपातमा मत तलमाथि भए पनि एक दुई सिटमात्रै तलमाथि हुने देखिन्छ । अन्यथा दलहरूले आगामी ४ मंसिरको चुनावबाट पाउने समानुपातिक सिट संख्या लगभग यस्तै नै हो ।

आगामी निर्वाचनका लागि दलहरू उम्मेदवार मनोनयन दर्ताको दिनसम्म आइपुग्दा राजनीतिमा धेरै पटाक्षेप हुने सम्भावना छ । तर अहिलेकै गठबन्धने विश्वासको वातावरण बनाएर गएको अवस्थामा अघिल्लो पटक कांग्रेसले भोगेको नियति एमालेले भोग्ने सम्भावना पनि त्यतिकै छ । अघिल्लो निर्वाचनमा कांग्रेसको जस्तै नियति एमालेले भोगे निर्वाचनमा एमालेको ६५ देखि ७० सिट आउने सम्भावना देखिन्छ । यो प्रत्यक्ष र समानुपातिक दुवैको हिसाब हो । तर सत्ता गठबन्धनबाट प्रभावकारी तालमेल भए यसमा एमालेको सिट अझै घट्न सक्ने छ । योपटक राजनीतिकबाहेक गैरराजनीतिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूले स्वतन्त्रतर्फ उम्मेदवारी दिने तयारी गरेकाले सिट संख्यामा फरक पार्न पनि सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष