NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सय दिनमा बालेनको सन्देश– लामो रेसको घोडा हुँ, हतार नगरी, निराश नपारी काम गर्छु

फोहोर व्यवस्थापनदेखि मद्यपानसम्मका विषयमा प्रष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू १०० दिनको दौडमा नरहेको बताएका छन् । महानगरका समस्या समाधान र विकासका लागि आफूसँग पाँच वर्षको योजना रहेकाले केही समय गाली र आलोचना सहेरै भए पनि दीगो समाधान र व्यवस्थापनको मार्गमा अघि बढ्ने उनको भनाइ छ ।

१०० दिनको अवधिमा फोहोर व्यवस्थापनलगायतमा अपेक्षित प्रगति हासिल गर्न नसके पनि नागरिक तहमा आशाको सञ्चार गराउन सकेको दाबी बालेनले गरेका छन् । १०० दिनको अवधिमा गरिएका कामबारे स्पष्टीकरण दिएका उनले आफूमाथि विश्वास र भरोसा गर्नेलाई निराश नबनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ । तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।’

बालेनले फुटपाथबाट मकैको ठेला हटाएको, इ–स्पोर्टसका लागि बजेट विनियोजन गरिएको, यम बुद्धको सालिक निर्माण, कार्यक्रममा मध्यपान र मुकुट परिवर्तन,  फोहोर व्यवस्थापन र अनधिकृत संरचना हटाएको सन्दर्भमा आफूमाथि उठेका प्रश्नको निकै संयम र शालीनतापूर्वक जवाफ दिएका छन् । उनले पटक–पटक विधि र पद्धतिअनुसार समस्याको समाधान गरेर विकासको मार्गमा अघि बढ्न चाहेको आशय दोहोर्याएका छन् ।

फुटपाथबाट गरीखाने वर्गलाई हटाएकोमा सर्वाधिक आलोचित बालेनले फुटपाथको आधारभूत निर्माण पैदलयात्रीका लागि भएकाले आफूले यो कदम चालेको प्रष्टीकरण दिएका छन् । यो सन्दर्भमा अझै पनि सही के हो भनेर छुट्याउन आफूलाई धर्मसंकट महसुस भइरहेको उल्लेख गर्दै उनले आफूले पाएको अभिभारा भावनाभन्दा माथि उठेर पूरा गरेको बताए ।

‘फुटपाथबाट मकैको ठेला हटाएको सन्दर्भले अझै पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ,’ बालेनले भनेका छन् ।

फुटपाथमा व्यवसाय गर्नेको व्यवस्थापन निकै जटिलपूर्ण भएको र विगतमा पनि असफल भएकाले क्षमताले भ्याउने जे थियो त्यो गरेको उनले बताएका छन् । उनका अनुसार, पुरानाको व्यवस्थापन गरेलगत्तै नयाँ आउने भएकाले यो चक्र तोड्न महानगरको क्षमताले भ्याउने स्थिति छैन । फुटपाथका व्यापारी हटाएपछि तिनको उचित व्यवस्थापन नभएको भन्दै बालेनको चर्को आलोचना भएको थियो ।

‘महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्ण रूपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो,’ बालेनको भनाइ छ । आफू महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए यसको समाधान फरक ढंगले हुनसक्ने बालेनको मत छ ।

फोहोर व्यवस्थापनमा सोचे जति गर्न नसकेको बालेनले स्वीकार गरेका छन् । तर झण्डै दुई दशकदेखि जकडिएर रहेको यो समस्या सतहमा ल्याउन भने सफल भएको उनको भनाइ छ ।

‘फोहोर व्यवस्थापनमा के स्वीकार्नु पर्दछ भने १०० दिनभित्र यसको सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ ।’ यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्षम भएको बालेनले बताएका छन् ।

अनधिकृत संरचना हटाउन महानगरले थालेको कामको सन्दर्भ कोट्याउँदै उनले जुन प्रयोजनका लागि संरचना बनेका छन् त्यसैअनुरूप उपयोग गराउन अभियान थालेको प्रष्ट पारे । उनले कुनै पनि सर्तमा यो नियम लागू गर्नबाट पछि नहट्ने प्रतिबद्धता पनि जायर गरेका छन् ।

अदालतको सन्दर्भमा दिएको अभिव्यक्ति र अल्फाबिटाका सञ्चालकसँग भएको नोकझोकको सन्दर्भमा मुख खोलेका छन् ।  बालेनका अनुसार, आममानिसहरूको आवाज सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा ती कार्यहरू भएका हुन् ।