NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बालकृष्ण खाँणको प्रतिस्पर्धा घनश्याम भुसालसँग !

काठमाडौं । ४ मंसिरको निर्वाचनको लागि गृहमन्त्री रहेका बालकृष्ण खाँण रुपन्देही ३ बाट सर्वसम्मत उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा समानुपातिकबाट प्रतिनिधिसभामा सांसद भएका खाँण यसपटक प्रत्यक्षमा उठ्न लागेका हुन् । उनकाे मात्र उम्मेदवारी परेकाेले उनी उठ्ने पक्का छ ।

यो क्षेत्रमा एमालेले घनश्याम भुसाल, यज्ञजित शाह, वासुदेव घिमिरे, र दुर्गा भुसाललाई सिफारिस गरेको छ । यीमध्ये भुसाल एमालेका केन्द्रीय नेता हुन् । अरु जिल्ला स्तरका नेता हुन् । यसैले भुसाल नै उम्मेदवार हुने सम्भावना बढी छ । तर केन्द्रमा अध्यक्ष केपी अाेलीसँगकाे टसलका कारण भुसालले नपाएमात्र अरूले टिकट पाउने हुन् । अघिल्लाेपटक तिलाेत्तमा मेयर भएका घिमिरे पनि बलिया दाबेदार हुन् ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा घनश्याम विजयी भएका थिए । रुपन्देही ३ बाट उनी ५४४४ मतले विजयी भएका थिए । कांग्रेसको समर्थन पाएका राप्रपाका राप्रपाका दीपक बोहोराले २७४२२ मत पाए ।

यसपटक गृहमन्त्री खाँण र एमालेका भुसाल आमनेसामने हुने देखिएको छ । राप्रापा बोहोरा पनि यसपटक फेरि चुनाव उठ्न सिफारिस भएका छन् ।

स्थानीय तहको निर्वाचनमा कस्तो छ दलहरूको मत ?

रुपन्देही ३ मा वैशाख ३० को स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ कांग्रेसले ३४१५३, एमालेले २९०४८, राप्रपाले १३३९७, जसपाले ६१८३, माओवादीले २८८१, लोसपाले २१७४ र नेकपा एसले ९७७ मत ल्याएका थिए ।

सत्ता गठबन्धनले ४६३६८ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनभन्दा एमाले १७३२० मतान्तरले पछाडि देखिन्छ । यो मतमा एमालेले र राप्रसासाग तालमले गरी उसको १३३९७ मत थप्न सक्दा गठबन्धनसँग अन्तर ३९२३ मा झार्ने देखिन्छ । जसले चुनावलाई प्रतिस्पर्धी बनाउन सक्ने देखिएको छ । तर एमाले र राप्रपाबीच तालमेल नभए गृहमन्त्री खाँणलाई यसपटक चुनाव जित्न कठिनाई नहुने देखिन्छ ।