NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

संस्कृति मन्त्री भन्छन्, गार्डले दुर्व्यवहार गर्यो, म इन्टरफेयर गर्दिनँ

काठमाडौं । सेवा लिन जाँदा अन्य सेवाग्राहीझै लाइनमा राखेर नियम र पद्धति सिकाएका सेक्युरिटी गार्डलाई राज्य शक्तिको दुरूपयोग गरेर थुनाएका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ती सुरक्षा गार्डको व्यवहार नै रुखो भएको बताएका छन् ।

मन्त्री भनेर चिन्नेबित्तिकै उनले थप दुव्र्यवहार गरेको र सेवा लिएर बाहिर निस्किँदासमेत घुरेर हेरेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले आफूले नभएर अंगरक्षकले रिपोर्ट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रष्टीकरण दिएका छन् । तर मन्त्रालय स्रोतले मन्त्री आफैंले सेक्युरिटी गार्ड पक्राउ गर्न गृहलाई पत्र लेख्न लगाएको जनाएका छन् ।

राज्य शक्ति दुरूपयोग गरी सेक्युरिटी गार्ड थुनाउन लगाएको सम्बन्धमा नयाँ पत्रिका दैनिकले श्रेष्ठसँग कुराकानी गरेको छ । जसमा उनले आफूबाट गल्ती भएको कुनै महसुस गरेका छैनन् ।

आमसेवाग्राहीझैँ ‘तपाईं पनि लाइनमा बसिदिनुस् न’ भनेर अनुरोध गर्ने सेक्युरिटी गार्डलाई इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको भनेर धन्यवाद दिनुपर्नेमा प्रहरी लगाएर थुनाउनुभएछ ?

क्यानडाको भिसाका लागि ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएस ग्लोबलमा हामी बिहान ९ बजे पुगेका थियौँ । हामीलाई ९ बजेकै समय दिइएको थियो । त्यहाँ पुग्दा लाइनमा दुईजना मात्र थिए । हामी पुग्नेबित्तिकै एकजना भित्र पसे, बाहिर एकजना मात्र थिए । हामी लाइनमै थियौँ ।म, मेरी श्रीमती, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का साथीहरू भिसा प्रोसेसका लागि गएका थियौँ । अंगरक्षक पनि सँगै हुनुहुन्थ्यो । यत्तिकैमा त्यहाँको सेक्युरिटी गार्ड लाइन–लाइन भन्दै ठेल्दै–धकेल्दै आए । मेरो अंगरक्षक ‘उहाँ मन्त्रीज्यू हो’ भनेर चिनाउँदै हुनुहुन्थ्यो । तर, उनी ‘मन्त्रीसन्त्री मतलब छैन’ भन्दै सन्किए । ‘मन्त्री’ भन्नेबित्तिकै उनले हामीप्रति फरक व्यवहार देखाउन थाले ।

उनको अभद्र व्यवहारपछि मेरो अंगरक्षक र गार्डबीच भनाभन भयो । उसले ‘म पनि सेनाको भूपू हुँ’ भन्दै मेरो अंगरक्षकलाई कार्ड देखाउँदै दुव्र्यवहार ग¥यो । म भित्र गएर बाहिर निस्किँदासम्म उसले ‘घुरेर’ हेर्दै थियो । उसको व्यवहार पटक्कै ठीक थिएन । कुनै पनि सेवाग्राही जाँदा गार्डको त्यस्तो दुव्र्यवहार हुनुभएन । भिएफएसको सेवाप्रवाह राम्रो भएन । उसले सेवाग्राहीलाई गरेको व्यवहार पटक्कै चित्तबुझ्दो रहेनछ । अनि, मेरो अंगरक्षकले रिपोर्ट गरेपछि प्रहरीले ती सेक्युरिटी गार्डलाई पक्राउ गरेको हो ।

तपाईंले ‘भिआइपी हुँ’ भनेर अतिरिक्त ‘प्रिभिलेज’ खोज्नुभयो । सांसद–मन्त्रीहरूले आमसेवाग्राही नागरिकभन्दा चाँडो र सहज ढंगले सेवा पाउनुपर्छ भन्ने व्यवस्था कानुनमा छ र ?

युरोप, अमेरिकासहित जुनसुकै देशमा भिआइपी भन्ने हुन्छ । ती देशमा पनि सुरक्षालगायत विविध कारणले प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थको प्रोटोकल मेन्टेन गर्ने भन्ने हुन्छ । तर, मैले त्यहाँ कुनै प्रिभिलेज खोजेकै थिइनँ । मन्त्री भएकै कारण चाँडो काम हुनुपर्छ भन्ने मनसाय पनि थिएन । भिडभाड नभएकाले भिआइपी बनेर अगाडि जानुपर्ने आवश्यकता नै थिएन । तर, सेक्युरिटी गार्डको रुखो स्वभाव थियो । उसमा कुनै पोलाइटनेस नै थिएन । सेवाग्राहीलाई भेडाबाख्रा धपाएजस्तै व्यवहार गरिरहेको थियो । उसले मन्त्री भन्नेबित्तिकै झन् दुव्र्यवहार गर्न खोजेको हो ।

मन्त्रीलाई अंगरक्षक दिइएको हुन्छ । सेक्युरिटी गार्डले अंगरक्षकलाई पनि दुर्व्यवहार गरे । उनै अंगरक्षकले आफ्नो सेक्युरिटी प्रोसेसअनुसार माथिल्लो निकायलाई जानकारी गराएका हुन् । त्यसपछि प्रहरी आएर फक्रिएर लगेको हो । मैले प्रहरी बोलाउन भनेको पनि होइन । पक्राउ गर्न पनि भनेको होइन । यसमा मेरो कुनै भूमिका नै छैन । मेरो सुरक्षाका लागि राज्यले सुविधा दिएका अंगरक्षकले आफ्नो जिम्मेवारी निभाएका मात्रै हुन् । त्यहाँ म मात्र थिइनँ, क्यानका कर्मचारी पनि हुनुहुन्थ्यो । आफ्नो गल्ती ढाकछोप गर्न सेक्युरिटी गार्डले घटनालाई अतिरञ्जित गरेको हो । गल्ती आफू गर्ने अनि मन्त्रीलाई दोष दिएर हुन्छ त ?

दुव्र्यवहार भएको थियो भने प्रहरीमा रिपोर्ट गर्न सक्नुहुन्थ्यो, तर अंगरक्षकले माथिल्लो निकायमा जानकारी गरायो भनेर उम्किन मिल्छ र ?

मेरो सुरक्षाका लागि राज्यले अंगरक्षकको व्यवस्था गरेको हुन्छ । केही तलबितल हुनेबित्तिकै अंगरक्षकले आफ्नो लाइनमा रिपोर्ट गर्छ । त्यहाँ मन्त्रीको सुरक्षामा तलबितल भए अपजस अंगरक्षकलाई पनि जान्छ । त्यही भएर अंगरक्षक यस्ता कुरामा सम्झौता गर्दैनन् । ममाथि त्यहाँ दुव्र्यवहार भएपछि उनीहरू (सेना)ले नै प्रहरी कार्यालयमा खबर गरेका हुन् । अंगरक्षकले सेक्युरिटीमा आँच आउने र कसैले दुव्र्यवहार गरेमा तुरुन्तै ‘एक्सन’ लिने गर्छन् । मैले गएर उजुरी–बाजुरी गर्नैपर्दैन । मेरो सुरक्षाको जिम्मेवारी उनीहरूले लिएका हुन्छन् ।

तपाईंले हिरासतमा राखिएका सेक्युरिटी गार्डलाई छाडिदिन प्रहरीलाई भन्न त सक्नुहुन्थ्यो होला नि ?

कानुनी कारबाही अगाडि बढेपछि मैले ‘इन्टरफेयर’ गर्नु पनि भएन । ऊ आफैँले भूपू आर्मी हुँ भनेको छ । भूपू आर्मी भएपछि आफैँ मन्त्रीको सुरक्षमा उत्रिनुपर्ने हो । तर, म पनि आर्मीको मान्छे भनेर विवादमा उत्रियो । आर्मीलाई मन्त्रीको सुरक्षाबारे थाहै हुन्छ । उसले सही ढंगको व्यवहार र भूमिका निर्वाह गरेन । त्यो दुर्व्यवहार नै हो ।