NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

निजामती प्रशासनमा व्यावसायिकता विकासको प्रश्न, उपमहालेखा नियन्त्रक बरालको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले नेपालको निजामती प्रशासनमा व्यावसायिकता विकासको अवस्था र यसलाई अवलम्बन गर्ने उपायबारे जानकारी पस्किनुभएको छ ।

नेपालको निजामती प्रशासनमा व्यावसायिकता विकासको अवस्था चित्रण गर्दै यसकाे विकासका लागि अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गर्नुहोस । ६+४

उत्तर

नेपालको निजामती प्रशासनमा व्यावसायिकताको अवस्था

विशिष्टीकृत ज्ञान सीपमा आधरित भई आचरणको गुणस्तर कायम राख्दै उच्च कार्यसम्पादन गर्ने कौशल नै व्यावसायिकता हो । शासकीय व्यवस्थाको लाभांशहरू नागरिकसामू पुर्याउने निजामती प्रशासन उच्च  व्यावसायिक हुनुपर्ने अपेक्षा राखी विभिन्न प्रयासहरू हुँदै आएका छन् ।  यद्यपि, अपेक्षाकृत रूपमा व्यावसायिकताको विकास हुन सकेको देखिँदैन ।

व्यवस्थापन परीक्षण, यसका उद्देश्य, विषयक्षेत्र तथा विधिहरू

नेपालको निजामती सेवामा व्यावसायिकता विकासको अवस्था मिश्रित रहेको छ । जसलाई देहायअनुसार उल्लेख गरिएको छ ।

  • भर्ना र नियुक्तिमा योग्यता प्रणाली रहेकाले सक्षम कर्मचारीबाट सञ्चालित छ,
  • सेवा, समूहको वर्गीकरण तथा विशिष्टीकरण गरिएकाले लामो ज्ञान, सीप र अनुभवको विकास हुँदै गएको छ,
  • समावेशी भर्ना प्रक्रियाले विभिन्न Human, Social तथा Technical Skill प्राप्त हुँदै गएको छ,
  • सूचकसहितको कार्यसम्पादन सम्झौताको व्यवस्थाले कामप्रति जिम्मेवार र जवाफदेही कर्मचारीतन्त्रको विकास हुँदै गएको छ,
  • स्वदेशी तथा विदेशी अध्ययन एवं भ्रमण तथा विशिष्टीकृत रूपमा समयसमयमा गरिने तालिमले कर्मचारीहरू नवीनतम प्रवृत्तिप्रति अध्यावधिक हुँदै गएका छन्,
  • अनुभव, कार्यसम्पादन, तालिम, शैक्षिक योग्यताजस्ता सूचकहरूको आधारमा बढुवा हुने व्यवस्था रहेको छ,
  • सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐनले मन्त्री र सचिवको कार्यजिम्मेवारी किटान गरेको,
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा सचिवलाई लेखा उत्तरदायी अधिकृत तोकिएको । राजनीति र प्रशासनको उत्तरदायित्व निर्धारण गरिएको ।
  • निजामती सेवा ऐन, नियमावलीमा आचरण तथा अनुशासनको व्यवस्था रहेको ।

व्यवस्थापकीय नेतृत्वको कार्य र सार्वजनिक व्यवस्थापनको प्रश्न, सहसचिव डा. पाण्डेको समाधान

नेपालको निजामती प्रशासनमा माथि उल्लिखित सकारात्मक पक्ष हुँदाहुँदै पनि कर्मचारीहरू व्यावसायिक हुन नसकेको गुनासो सुन्ने गरिन्छ ।  स्नातक उत्तीर्णलाई विशिष्ट ज्ञान, सीप र उच्च शिक्षाको रूपमा लिइँदा विशिष्टीकृत सेवा दिनुपर्ने निजामती प्रशासनमा पनि जुनसुकै विषयबाट स्नातक गरेको कर्मचारी नियुक्त हुनसक्ने अवस्था छ ।  राजप्रसाद सेवा, विविध सेवाजस्ता सेवा समूहलाई एउटै सेवा, समूहमा राखी सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दो छ । प्रणालीगत भन्दा पनि व्यक्तिगत स्वार्थले स्थान पाएको छ । तलब र महङ्गीबीच तादत्म्यता हुन सकेको छैन । कानूनी प्रक्रियालाई अनुशरण गर्नुपर्ने हुँदा नवप्रवर्तनमूखी बन्न सकेको पाइँदैन। प्रशासनिक संयन्त्रमा राजनीतिक हस्तक्षेप बढ्दो छ । कर्मचारीहरूमा उच्च नैतिकता हुनुपर्ने मान्यता राखिएता पनि  सेवकमुखी भन्दा शासकमुखी चरित्र हाबी छ । निजामती सेवामा सूचना प्रविधिसँग सम्बन्धित छुट्टै समूहको विकास गर्न सकिएको छैन ।

लोकसेवाका यी प्रश्नको उत्तर कसरी दिने ? यस्तो छ सहसचिव दाहालको टिप्स

व्यावसायिकता विकासका लागि अवलम्बन गर्नुपर्ने उपायहरू

नेपालको निजामती प्रशासनमा व्यवसायिकताको विकास गर्न देहायबमोजिमका उपायहरू अवलम्बन गर्नु पर्दछ ।

  • सेवा समूहको पुनर्संरचना गरी सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूको छुट्टै सेवा, समूहको निर्माण गर्ने,
  • सेवा, समूहपिच्छे फरकफरक शैक्षिक योग्यता निर्धारण गर्ने,
  • तालिमको प्रभावकारिता अभिवृद्धि गर्न व्यावहारिक पक्षलाई जोड दिने,
  • विद्यालय तह, लोक सेवा आयोगलगायतका पाठ्यक्रमहरूमा नैतिकता र सदाचारिताका विषयहरू समावेश गरी उच्च नैतिक चरित्रवान् कर्मचारीहरूको छनाेटमा जोड दिने,
  • विश्वविधालय, लोकसेवा आयोग, तालिम प्रदायक संस्था तथा परिचालन गर्ने निकायहरूबीच कार्यगत समन्वय कायम गर्ने,
  • कार्य विश्लेषण गरी दरबन्दी सिर्जना गर्ने, कर्मचारीहरूलाई अनिवार्य कार्यविवरण दिनुपर्ने व्यवस्था गर्ने,
  • काम गर्ने र नगर्ने कर्मचारीबीच मूल्याङ्कन प्रणालीमा पृथकता ल्याई कार्यसम्पादनलाई दण्ड पुरस्कारसँग आबद्धता कायम गर्ने,
  • कानून र कार्यविधिको सरलीकरण गर्ने, कार्यगत तथा व्यवस्थापकीय स्वायत्ततामा जोड दिने, कार्यसम्पादनमा प्रणालीगत आबद्धता कायम गर्ने,
  • Pay, Prestige, Performance र Productivity मा जोड दिने ।

निष्कर्ष

व्यावसायिक कर्मचारी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादनको पूर्वशर्त हो । नेपालको निजामती प्रशासनमा उच्च व्यावसायिकताको विकास गर्दै सेवाप्रवाहलाई नागरिक सन्तुष्टि हासिल हुने बनाउनु आजको आवश्यकता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोकसेवामा कुन प्रश्नको उत्तर कसरी लेख्ने ?

अधिकार प्रत्यायोजन र समन्वयका तरिकाबारे सहसचिव पाण्डेको समाधान

मानव संसाधन व्यवस्थापन, यसका विशेषता र कार्यहरू