NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मोरङमा शेखरलाई संस्थापनबाट झट्का, को हुन् उनलाई सर्वसम्मत हुन नदिनेहरू ?

काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर कोइराला सर्वसम्मत उम्मेदवार बन्न असफल भएका छन् । कोइराला मोरङ ६ बाट सर्वसम्मत उम्मेदवार बन्न असफल भएका हुन् ।

मोरङ ६ मा २०७४ सालमा कोइराला एमालेका लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित हुन पुगेका थिए । यसपटक अन्य ठाउँमा प्रभावशाली नेता एकल रुपमा सिफारिस भइरहेका छन् । तर देउवालाई टक्कर दिने प्रभावशाली नेता कोइरालालाई भने सर्वसम्मत उम्मेदवार हुन नदिइएको हाे ।

को हुन् कोइरालासँग उम्मेदवारमा सिफारिस भएका अन्य नेता ?

कोइरालालाई संस्थापन देउवा निकटका नेताले सर्वसम्मत हुन नदिएका हुन् । यस अघिकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम पनि मोरङ ६ बाट सिफारिस भएको हो । देउवा निकटका यी नेताको पनि नाम सिफारिस हुँदा प्रभावशाली भएर पनि कोइराला सर्वसम्मत बन्न नसकेका हुन् । शेखर यसपटक उम्मेदवार बनेर सांसद मात्रै होइन प्रधानमन्त्रीकाेसमेत आकांक्षी हुन् । ढिलो गरी शेखरले टिकट पाउँन सक्छन् । तर पार्टीमा उनी सर्वसम्मत उम्मेदवार बन्ने वा नबन्नेले पनि धेरै अर्थ राख्छ ।

डा. संग्रौला स्थानीय तहको निर्वाचनमा विराटनगर महागरपालिकाबाट मेयरको दाबेदार थिइन् । तर डा. शेखर निकटका नागेश कोइरालाले टिकट पाएर जिते । संग्रौलालाई अघिल्लोपटक देउवाले कुनै महत्वपूर्ण जिम्मेवारी पनि दिन सकेनन् । यसैले यसपटक संग्रौलाले पनि प्रत्यक्षमा लड्ने गरी पार्टीभित्र चुनौती पेश गरेकी छिन् । शेखरलाई टक्कर दिन सक्नेमा संग्रौला सबैभन्दा अगाडि छिन् । १४ औं महाधिवशेनमा प्रतिनिधिमै पराजित भएका बस्नेत भने पूर्व मन्त्री हुन् ।

कांग्रेसले यसपटक अघिल्लोमा समानुपातिक सांसद बनेकालाई फेरि सोही पदमा नदोहार्याउने भनेको छ । यसैले समानुपातिकमा पर्न सक्नेले पनि यसपटक प्रत्यक्षमा नै उम्मेदवारी दिने मनसाय बनाएका छन् ।

एमालेले यो क्षेत्रबाट लालबाबु पण्डितसहितका नेतालाई उम्मेदवारमा सिफारिस गरेको छ ।

के स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पार्टीले ल्याएको मत ?

यो क्षेत्रमा अघिल्लोपटक कोइराला एमालेका पण्डितसँग ६७५ मतान्तरले पराजित भएका थिए । यस क्रममा एमाले र माओवादी मिलेका थिए । जसमा पण्डितले ३३९४१ र कोइरालाले ३३२६६ मत प्राप्त गरेका थिए ।

यसपटकको स्थानीय तहको निर्वाचनमा यो क्षेत्र रहेका वडाध्यक्षतर्फ पार्टीले कूल पाएको मतमा कांग्रेस एकल रुपमा अगाडि देखिन्छ । कांग्रेसले यो क्षेत्रका सबै वडाध्यक्षतर्फ २७०८६, एमालेले २४५५६, माओवादीले ४९९६, जसपाले ३९३९, राप्रपाले ३११५, नेकपा एसले २३५५ र लोसपाले ८९५ मत ल्याएका थिए ।

यसपटक सत्ता गठबन्धनसँग एमालेले एक्लै भिड्नुपर्ने देखिएको छ । यो मतमा गठबन्धनको कूल मत ३८३७६ देखिन्छ । एमाले १४ हजार मतले गठबन्धनभन्दा पछाडि देखिन्छ । यो मतमा राप्रपाको ३११५ मत थपिंदा पनि गठबन्धनभन्दा एमाले अझै ११ हजार हाराहारी मतान्तरले पछाडि पर्ने देखिएको छ । यसैले कांग्रेसबाट जो उम्मेदवार बने पनि यसपटक यो क्षेत्रमा सहज हुने देखिन्छ । एमालेलाई जित्न निक्कै मेहनतको खाँचो छ ।