NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एमालेका लोकप्रिय युवा नेता ठाकुर गैरेले पहिलो प्रयासमै पहिरिएलान् विजयको माला ?

काठमाडौं । एमालेका चर्चित युवा नेता तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि पाल्पा–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । गैरेसँगै कसैको पनि उम्मेदवारी नपरेकाले सर्वसम्मत सिफारिस भएको प्रदेश सदस्य तुलबहादुर अधिकारीले जानकारी दिए ।

आइतबार बसेको एमाले पाल्पा–२ को बैठकले उनको नाम सर्वसम्मत सिफारिस गरेपछि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न गैरेलाई बाटो खुलेको छ । उनी पार्टीभित्र ‘लो प्रोफाइलमा चम्किएका हिरा’का रुपमा विद्यार्थी नेताहरूले बुझ्ने गरेका छन् । राष्ट्रियता, जनजीविकाको पक्षमा आफूले गरेको निरन्तर संघर्षलाई योपटक पार्टीले उचित मूल्याङकन गरिएको भन्दै उनी खुशी छन् ।

को हुन् गैरे ?

यसअघि प्रतिनिधिसभा सदस्यका लागि कहिल्यै अवसर नपाएका गैरे योपटक सर्वसम्मत उम्मेदवार भएकोमा युवापंक्ति खुशी छन् । स्थायी घर पाल्पा रहेका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति आएका हुन् । २०४६ देखि राजनीतिमा सक्रिय रहेका गैरे अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा २०४९ र २०५१ मा दुई पटक अनेरास्ववियुका सचिव भएका थिए ।

२०५५ मा तत्कालीन अध्यक्ष योगेश भट्टराई नेतृत्वमा भएको राष्ट्रिय स्वाधीनताका लागि कालापानी मार्चपासमा उनी सक्रियतापूर्वक लागेका थिए । २०६३ मा अनेरास्ववियुको १८ औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नै कार्यकालमा गैरेले ‘सुस्ता बचाउ’ अभियानको नेतृत्व गरेका थिए । त्यतिबेला झण्डै ५५ सय विद्यार्थी लिएर मार्चपास गरेपछि उनी चर्चामा आएका थिए । २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंबाट सक्रियपूर्वक सहभागी भएका थिए ।

अहिलेसम्म कुनै विवादमा नदेखिएका गैरे पार्टीभित्र र बाहिर निकै रुचाइएका युवा नेतामा पर्छन् । अहिलेसम्म कुनै राजकीय पदमा उनी पुगेका छैनन् । सरल जीवनशैली र स्पष्ट वक्ताको रुपमा परिचित रहेका उनी पार्टीभित्र किनारामा पर्दै गए । बुटवलमा भएको आठौं महाधिवेशनमा केपी ओली र झलनाथ खनाल दुवैको प्यानलमा नपरी उनले केन्द्रीय सदस्य जितेका थिए । ९ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य रहेका उनी १० औं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भए ।

उनलाई २०७० र २०७४ को निर्वाचनमा प्रतिनिधिसभाको टिकट दिने चर्चा चलेको थियो । तर अन्तिम समयमा अटाएनन् । अघिल्लो निर्वाचनमा पाल्पा–२ बाट उनलाई उठाउन माधव समूहभित्र निकै दबाब परेको थियो । अन्तिम समयमा माधव नेपालका सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेले टिकट उम्काए ।

२०७४ मा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा खुला सदस्य बनाउन गैरेसहित खिमलाल भट्टराईलाई सिफारिस गरिएको थियो । वाम गठबन्धनको कारण देखाउँदै गैरेको नाम अन्तिम समयमा काटियो । योपटक पार्टी विभाजन भएको अवस्थामा उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । गठबन्धनबाट टिकट पाए सोमप्रसाद पाण्डे नै दोहोरिने सम्भावना रहेको छ ।

२०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट पाण्डे विजयी भएका थिए । एमाले विभाजन भएपछि पाण्डे एकीकृत समाजवादीमा गएका छन् । अघिल्लो निर्वाचनमा पाण्डे ३४ हजार ८९९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २४ हजार ५५४ मत पाएका थिए । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाल्पा २ मा एमालेले ३०५६६, कांग्रेसले २९०३९, माओवादीले ४३१३, नेकपा एसले ४३३, राप्रपाले ३३६ मत पाएका थिए । स्थानीय तह निर्वाचन परिणाम अनुसार एकल प्रतिस्पर्धामा एमाले अगाडि देखिन्छ । गठबन्धनको जम्मा मत ३३ हजार ७७७ रहेको छ । एमाले गठबन्धनभन्दा ३२०९ मतले पछाडि छ ।

उनी पार्टीभित्र र बाहिर लोकप्रिय रहेका छन् । स्थानीय तहको परिणामले गठबन्धन अगाडि देखाए जिल्लामा एमालेको बलियो संगठन र नयाँ उम्मेदवार भएकाले उनले जित्ने सम्भावना बलियो छ । राजनीतिमा समीकरण, एजेण्डा, विपक्षीको रणनीति र गणितलेसमेत ठूलो महत्व राख्ने हुँदा चुनाव जित्न उनले उत्तिकै मेहनत गर्नुपर्ने देखिन्छ । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका गैरे योपटक चुनाव जित्नेमा निकै उत्साहित छन् । विगतमा आफूले निकै संघर्षपूर्ण यात्रा पार गरेर आएकोले योपटक आफूले चुनाव जित्ने दाबी गरे ।

‘राजनीतिक खेलमैदान मेरा लागि सहज छैन । धेरै संघर्ष गर्नुपर्ने छ’ उनले भने, ‘विगतमा धेरै संघर्षपूर्ण यात्रा पार गरेर आएको मेरो अनुभव छ । मलाई विश्वास गठबन्धन भएपनि पाल्पाली जनताले मलाई भोट दिन्छन् ।’

के भन्छन् गैरे ?

म अप्ठ्यारो अवस्थामा पनि रणनीतिकपूर्वक पार गरेर आएको हुँ । योभन्दा पनि धेरै चुनौती र यात्रा पार गरेर आएको छु । गठबन्धनलाई मैले अप्ठ्योको रुपमा महशुस गरेको छैन ।

आफ्नो जिल्लाबासी दाजुभाइ–दिदीबहिनीहरूसँग मेरो अनुरोध के छ भने अहिलेसम्म हामीले अधिकार लडेर ल्यायौं । अब त्यसको अनुभूति दिलाउन कुशलतापूर्वक मैंले त्यसको अगुवाइ गर्नेछु । त्यो सफलताका लागि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास लगायत क्षेत्रमा अहिलेसम्म हुन नसकेका कामलाई पहिलो प्राथमिकतामा राख्नेछु । सँगसँगै राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका छ । त्यसमा इमान्दारिताकासाथ काम गर्नेछु ।

निर्वाचित भएको खण्डमा संसदभित्र जनताका आवाजलाई संसदभित्र प्रवेश गराई बहस र छलफल गरी सरकारमार्फत समग्र विकासमा भूमिका खेल्नेछु ।

विगतको निर्वाचनमा पाल्पा–२ बाट म सिफारिस नहुँदापनि म विचलित नभइ धैर्य भएर पार्टी काममा लागें । योपटक मलाई सर्वसम्मत उम्मेदवार बनाएको छ । यो मैंलै विगतमा गरेको कामको सही मूल्याङकन भयो जस्तो लाग्छ ।

अर्कोकुरा हामीले पुराना पुस्तालाई गाली गरेर वा आलोचना गरेर नयाँ पुस्ताले सुख पाउँछन् जस्तो मलाई लाग्दैन । त्यसका लागि नयाँ पुस्ताले पुराना पुस्ताकोभन्दा धेरै योग्य काम गर्नुपर्छ । त्यो सँगसँगै पुराना पुस्ताले एउटा पुरानो पुस्ताले विस्तारै आफूलाई अभिभावकीय र सल्लाहकारको भूमिकामा लैजान जरुरी छ । मलाई लाग्छ पार्टीभित्रको संयन्त्रलाई विस्तारै परिवर्तन गर्दै लगियोभने त्यसले पछिको पुस्तालाई सजिलो बनाउँछ । आगामी दिनमा महाधिवेशन प्रक्रियाबाट नै विस्तारै समाधान हुँदै जानेमा म विश्वस्त छु ।