NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पाँच वर्षमा १६ मुख्यमन्त्री, २३० मन्त्री

काठमाडौं । प्रदेशको पहिलो कार्यकाल अर्थात् पछिल्लो पाँच वर्षमा देशले सातवटै प्रदेशमा १६ मुख्यमन्त्री पाएको छ । यस अवधिमा प्रदेश सरकारमा मन्त्री बन्नेको संख्या दुई सय ३० छ । मधेसका मुख्यमन्त्री लालबाबु राउत र सुदूरपश्चिमका त्रिलोचन भट्टले मात्रै पाँचवर्षे कार्यकाल पूरा गर्दै छन् ।

केन्द्रमा देखिँदै आएको सरकार ढाल्ने र बनाउने दाउपेचको दलहरूले प्रदेशमा पनि भरपूर प्रयोग गरे । मुख्यमन्त्री र मन्त्री फेरिने मात्रै होइन, प्रदेश प्रमुख पनि हटाउने र नयाँ नियुक्त गर्ने क्रम चलिरह्यो । पाँच वर्षको अवधिमा सात प्रदेशले २४ जना प्रदेश प्रमुख पायो । अस्थिर सरकारका यस्ता क्रियाकलापले राज्यलाई आर्थिक भार थप्ने मात्रै होइन, संघीयताको विरोध गर्नेहरूलाई प्रोत्साहित पनि बनाइरह्यो ।

०७४ माघ–फागुनमा सातै प्रदेशमा सरकार गठन भएका थिए । आगामी १ असोजसम्म प्रदेश सभा सदस्यको कार्यकाल बाँकी छ । ४ मंसिरमा संघसँगै प्रदेश सभाको निर्वाचन हुँदै छ ।

प्रदेश १ मा अहिलेसम्म तीनपटक मुख्यमन्त्री परिवर्तन भए । विभिन्न दलबाट ३५ मन्त्री भइसकेका छन् । सुरुमा ३ फागुन ०७४ मा एमालेका तर्फबाट शेरधन राई मुख्यमन्त्री नियुक्त भएका थिए । उनले १० भदौ ०७८ सम्म मात्रै सरकार चलाए । त्यसपछि एमालेकै भीम आचार्य मुख्यमन्त्री भए । उनी तीन महिना मात्रै मुख्यमन्त्री रहे । १५ कात्तिक ०७८ मा आचार्य हटेपछि पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री छन् ।

मधेसमा मुख्यमन्त्री लालबाबु राउत पाँचवर्षे कार्यकाल पूरा गर्ने तरखरमा छन् । तर, उनले पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गरिरहे । कार्यकालको उत्तरार्धमा आइपुग्दा उनले एक सय सात सदस्यीय प्रदेश सभाबाट ५२ मन्त्री बनाइसकेका छन् । मधेसमा एमाले मात्रै अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।

बागमतीमा पनि तीनजना मुख्यमन्त्री भइसकेका छन् भने ३९ मन्त्री बनेका छन् । पछिल्लोपटक १० महिनाअघि मुख्यमन्त्री राजेन्द्र पाण्डेले आठ मन्त्रालय विभाजन गरेर १४ पुर्‍याएका थिए । सुरुमा एमालेका डोरमणि पौडेल २८ माघ ०७४ मुख्यमन्त्री बनेका थिए । ४२ महिना सात दिन सरकारको नेतृत्व गरेका उनले सत्ता जोगाउन विभिन्न समयमा गरी चारपटक मन्त्रिपरिषद् पुनर्गठन गरे ।

एमाले विभाजन रोक्न अन्तिम समयमा पौडेलले एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई नेतृत्व हस्तान्तरण गरे । ७१ दिन सरकारको नेतृत्व गरेकी शाक्यले सत्ता टिकाउन मन्त्रालय फुटाउने कामको सुरुवात गरिन् । उनले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग पारिन् । आफ्नो कार्यकालमा आठ मन्त्री र तीन राज्यमन्त्री बनाइन् । विश्वासको मत लिन संख्या नपुगेपछि विपक्षीको दबाबबीच ११ कात्तिक ०७८ मा शाक्यले सत्ता छाडिन् । ११ कात्तिकदेखि नै सरकारको नेतृत्व अहिलेका मुख्यमन्त्री पाण्डेले सम्हाल्दै आएका छन् ।

गण्डकीमा तीनपटक मुख्यमन्त्री फेरिए । २३ मन्त्री बने । ४ फागुन ०७४ मा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पहिलो सरकार गठन भएको थियो । अल्पमतमा परेपछि उनले २६ वैशाख ०७८ मा राजीनामा दिए । तर, अर्को दलले बहुमत जुटाउन नसकेपछि २९ वैशाख ०७८ मा पुनः मुख्यमन्त्री नियुक्त भए । पछिल्लो समय कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । उनी २९ जेठ ०७८ मा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा अहिलेसम्म १९ जना मन्त्री बनिसकेका छन् । दलहरूबीच चलेको सत्ताको खिचातानीले गुन्डा पृष्ठभूमिका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) तीनपटक मन्त्री भइसकेका छन् ।

लुम्बिनीमा पनि तीनपटक सरकार परिवर्तन भए । ३४ मन्त्री बने । ३ फागुन ०७४ मा पहिलो मुख्यमन्त्री बनेका एमाले नेता शंकर पोखरेलले चारपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । नेकपा विभाजनसँगै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आयो । अल्पमतमा परेपछि उनले राजीनामा दिए । तर, फेरि विवादबीच पोखरेललाई प्रदेश प्रमुखले सरकारी निवासमै गएर मुख्यमन्त्रीको शपथ गराए । पुनः आएको अविश्वासको प्रस्तावपछि भने उनी सरकार छाड्न बाध्य भए ।

पोखरेलपछि २८ साउन ०७८ मा माओवादीका कुलप्रसाद केसीले सरकारको नेतृत्व गरिरहेका छन् । कर्णालीमा पनि दुईजना मुख्यमन्त्री बने भने २२ मन्त्री बने । माओवादीका प्रदेश सभामा भएका सबै सांसदले मन्त्री बन्ने अवसर पाए । निर्वाचन घोषणा भइसकेपछि पनि कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । ४ फागुन ०७४ मा माओवादीका महेन्द्रबहादुर शाही पहिलो मुख्यमन्त्री बनेका थिए । नेकपा हुँदा नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । ३ वैशाख ०७८ मा उनी विश्वासको मत लिन सफल भए । सत्तागठबन्धनभित्रका दलहरूसँगको सहमतिअनुसार शाहीले मुख्यमन्त्री छाडेपछि १५ कात्तिक ०७८ मा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने ।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्ने तरखरमा छन् । तर, सरकार जोगाउन उनले आधा दर्जनपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । २५ मन्त्री भइसकेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।