NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

इरानमा युरेनियमको भण्डारण अत्यधिक

काठमाडौं (एजेन्सी) । इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संवर्धित गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले जनाएको छ ।

इरानले सन् २०१५ मा विश्वशक्तिराष्ट्रसँग भएको सम्झौतामा उल्लेखित सीमाभन्दा बढी युरेनियम संवर्द्धन जारी राखेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायले बुधबार जनाएको हो ।

आईएईएको रिपोर्टअनुसार २१ अगष्टसम्म इरानको मौज्दात अनुमानित तीन हजार ९४० किलोग्राम रहेको छ, जुन अघिल्लो त्रैमासिकको प्रतिवेदनको तुलनामा १३१।६ किलोग्राम बढी हो ।

शान्तिपूर्ण प्रयोजनको प्रत्याभूति गर्न नसकिने

आईएईएले इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको प्रत्याभूति दिन नसक्ने बताउँदै अघोषित स्थलमा विगतको आणविक सामग्रीको उपस्थितिका बारेमा उठेका प्रश्नको समाधानमा कुनै प्रगति नभएको बताएको छ ।

आईएईएले रिपोर्टमा भनिएको छ, “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ भनेर आश्वासन दिन सक्ने अवस्थामा नरहेको बताएको छ ।”