NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौंका १० क्षेत्रमा कांग्रेस, एमालेसहितका दलबाट भिड्न लागेका उम्मेदवार को–को हुन् ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस क्रमलाई तीव्र बनाएका छन् । प्रतिपक्षी दल एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म करिब ७० प्रतिशत क्षेत्रमा उम्मेदवार सिफारिस भइसकेको जनाएको छ । सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा भागबण्डा नटुंगिदा आ–आफ्नै हिसाबले उम्मेदवार सिफारिस भइरहेका छन् ।

यसैबीच संघीय राजधानीसमेत रहेको काठमाडौंको १० निर्वाचन क्षेत्रमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित २९ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले पूर्वमहामन्त्रीसहित ३५ जनाको नाम सिफारिस गरेको छ । काठमाडौंमा कांग्रेसबाहेक माओवादी केन्द्र र एकीकृत समजवादीलेसमेत दाबी गरेको छ ।

२०७४ सालको निर्वाचनमा वामपन्थी गठबन्धन र कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले ६ क्षेत्रमा विजयी भएको थियो भने कांग्रेसले ४ क्षेत्र हात पारेको थियो । तीन क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले एक सिट पनि जित्न सकेन । वाम गठबन्धनबाट माओवादीले काठमाडौं–१ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्यलाई उठाएको थियो ।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट काठमाडौं–१ मा प्रकाशमान सिंह, क्षेत्र न.४ मा गगन थापा, क्षेत्र न. ६ मा भीमसेनदास प्रधान र क्षेत्र न. १० मा राजन केसी विजयी भएका थिए । एमालेबाट काठमाडौं–२ मा माधवकुमार नेपाल, क्षेत्र न. ३ मा कृष्णबहादुर राई, क्षेत्र न. ५ मा ईश्वर पोखरेल, क्षेत्र न. ७ मा रामवीर मानन्धर, क्षेत्र न. ८ मा जीवनराम श्रेष्ठ र क्षेत्र न.९ मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । बढी सचेत मतदाता रहेको काठमाडौंको चुनावी परिणामले राजनीतिक दलहरूको प्रतिष्ठा र लोकप्रियताको मापनमा विशेष अर्थ राख्ने हुँदा राजधानीलाई विशेष चासोसाथ हेरिएको छ ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गरेको एमालेले योपटक एक्लै मैदानमा भिड्ने तयारी गरेको छ । कांग्रेससहितको पाँचदलीय गठबन्धनले साझा उम्मेदवार उठाउने तयारी गरेको छ । अघिल्लोपटक एकसिट नजितेको माओवादी केन्द्रले योपटक पनि तीन सिट दाबी गरेको छ । एमालेबाट विभाजित दल एकीकृत समाजवादीले दुई सिट दाबी गरेको छ । अघिल्लो निर्वाचनमा काठमाडौं–२ मा एमालेबाट निर्वाचित सांसद माधवकुमार नेपाल र क्षेत्र नं. ८ बाट निर्वाचित सांसद जीवनराम श्रेष्ठ नेकपा एसमा रहेका छन् ।

उनी योपटक काठमाडौं छोडेर रौतहट–१ बाट निर्वाचनमा उठ्ने तयारीमा छन् । काठमाडौंबाट परम्परागत दलहरूसँग चुनावी प्रतिस्पर्धा गर्नका लागि स्वतन्त्रबाट पनि धेरैले उम्मेदवारी दिने तयारी गरेकोले चुनावी माहोलमा थप रौनकता थपिएको छ । विगतमा जस्तै योपटक पनि काठमाडौंमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी दुईपक्षबाट क–कसले टिकट पाउलान् भन्नेमा आममानिसले निकै चासोसाथ हेरेका छन् ।

यस्ता छन् एमालेबाट सम्भावित उम्मेदवार

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय डा. राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायत २९ जना उम्मेदवार सिफारिस गरेको छ । भदौ ११ मा सकिएको एमालेको केन्द्रीय कमिटी बैठकको निर्देशनअनुसार काठमाडौंका क्षेत्रीय समन्वय कमिटीको बैठकले १५ गते उम्मेदवारको नाम सिफारिस गरेको हो । सिफारिस भएको उम्मेदवारलाई जिल्ला कमिटीले केही दिनमा अन्तिम रुप दिएर केन्द्रमा पठाउने तयारी गरेको एमाले जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

एमालेले काठमाडौं–१ बाट पूर्वउपमेयर विदुर मैनाली, केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्र माओवादीको भागमा परेको थियो । मदन भण्डारीकोसमेत क्षेत्र भएकाले एमालेले विशेष रुपमा लिने गरेको छ । यस क्षेत्रबाट एमालेले कसलाई टिकट देला भन्नेमा निकै चासोसाथ हेरिएको छ । यो क्षेत्रबाट मैनाली र श्रेष्ठमध्ये एकजनाले टिकट पाउने सम्भावना रहेको छ ।

वरिष्ठ अधिवक्तासमेत रहेका भट्टराईले ओली सरकारले गरेको संसद विघटनमा वचाउ नगरेकाले उनले टिकट पाउने सम्भावना देखिँदैन । यो क्षेत्रमा कांग्रेसका बलिया उम्मेदवार प्रकाशमान सिंह उठ्ने भएकाले एमालेले विवेकशील साझा र राप्रपासँग तालमेल गर्ने सम्भावना देखिन्छ । अघिल्लो पटक वाम गठन्धनकोभन्दा लोकप्रिय मत ल्याएर दोस्रो भएका साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई एमालेले साथ दिने सम्भावना पनि त्यतिकै छ । मिश्रले अध्यक्ष ओलीलाई उनको निवासमै भेट गरी यो क्षेत्रबाट आफूलाई साथ दिन लविङ गरिसकेका छन् । एमालेको साथ पाए राप्रपाको राम्रो मत आफूलाई आउने कांग्रेसका उम्मेदवारलाई हराउन सजिलो हुनेबारे ओलीलाई मिश्रले जानकारी गराएका थिए ।

क्षेत्र नं. २ बाट मणिराम फुँयालको नाम सर्वसम्मत भएको छ । उनी प्रदेश सभा (ख)का वाग्मती प्रदेशसभा सदस्यसमेत हुन् । अघिल्लोपटक यो क्षेत्रबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपाल निर्वाचित भएका थिए । योपटक नेपाल एमालेबाट अलग भएकाले उनको ठाउँमा फुँयाललाई ल्याइएको हो । एकल उम्मेदवार सिफारिस भएकाले फुयाँलले नै टिकट पाउने सम्भावन बलियो देखिन्छ ।

क्षेत्र नं. ३ मा कृष्णबहादुर राईलाई नै निरन्तरता दिएको छ । उनी सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि आकांक्षी देखिएका रामेश्वर फुँयाल योपटक पनि प्रदेशमा दोहोरिन चाहेपछि राई सर्वसम्मत सिफारिस भएका हुन् । अघिल्लो पटक राई सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

क्षेत्र नं ४ मा डा. राजन भट्टराई र काठमाडौंका पूर्वअध्यक्ष निर्मल कुँइकेल सिफारिस भएका छन् । यो क्षेत्रमा अघिल्लोपटक पराजित भएका भट्टराई नै दोहोरिने सम्भावना रहेको छ ।

क्षेत्र नं. ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विकल्प उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमासमेत विजयी भएका उनको विकल्प नरहेको जिल्ला कमिटीका एक सदस्यले बताएका छन् । वैशाखमा भएको स्थानीय तहको मतपरिणाम अनुसार गठबन्धन भन्दा एमाले अगाडि देखिन्छ ।

क्षेत्र नं. ६ मा एमालेबाट वाग्मती प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलासहित लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ । फुँयाल, रिजाल र सिलवाल वाग्मती प्रदेश कमिटीका सदस्य हुन् । थापा तारकेश्वर नगरकमिटीका सह–सचिव हुन् भने तिमिल्सिना काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । अघिल्लो पटक माओवादीको भागमा परेको यो क्षेत्रमा एमालेले जित निकाल्ने गरी तयारी गरको छ । यस क्षेत्रमा संग्रौलाले टिकट पाउने सम्भावना रहेको छ ।

क्षेत्र न.७ मा एमालेबाट स्थायी समिति सदस्य रघुजी पन्त र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यसहित इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । इन्दिरा एमाले स्कुल विभाग सदस्य र घिमिरे प्रदेश कमिटी सदस्य हुन् । ढकाल नवप्रवेशी हुन् । रघुजी पन्त ललितपुरबाटपनि सिफारिस भएका भएका छन् । यो क्षेत्रमा शाक्यले टिकट पाउने सम्भावना देखिन्छ । काठमाडौंको मेयरको दौडमा रहेका उनलाई ओलीले प्रतिनिधिसभा सदस्यका लागि टिकट दिने आश्वासन दिएपछि मेयरको प्रतिस्पर्धाबाट पछाडि हटेको एमालेभित्र चर्चा चलेको छ ।

निर्वाचन क्षेत्र ८ बाट एमालेले राजेश शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको छ । उनी वाग्मती प्रदेशसभा सदस्यसमेत हुन् । अघिल्लो निर्वाचनमा यहाँ पर्यटनमन्त्रीसमेत रहेका जीवनराम श्रेष्ठले जितेका थिए । योपटक उनले नेकपा एसमा प्रवेश गरेकाले एमालेले शाक्यलाई एकल सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नं.९ बाट एमालेले स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्वमेयर शाक्य र अजयक्रान्ति शाक्यको नाम सिफारिस गरेको छ । अजयक्रान्ति प्रदेशसभा सदस्यसमेत हुन् । श्रेष्ठ अघिल्लोपटक पनि निर्वाचित सदस्य रहेकाले योपटक उनले नै टिकट पाउने सम्भावना छ ।
क्षेत्र नं.१० मा एमालेबाट पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठसहित शरब महर्जन, रमेश महर्जन र हिमेश केसीको नाम सिफारिस भएको छ । रमेश कीर्तिपुर नगरपालिकाका पूर्वमेयर हुन् । शरब प्रदेश कमिटी सदस्य हुन् । केसी जिल्ला कमिटी सदस्य हुन् ।

अघिल्लो पटक माओवादीको भागमा परेको यो क्षेत्रमा यसपटक मानन्धर र श्रेष्ठमध्ये एकले टिकट पाउने सम्भावना देखिन्छ । मानन्धर २०७० सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेस उम्मेदवार राजन केसीसँग पराजित भएका थिए । श्रेष्ठ मजदुर संगठन ट्रेड युनियन महासंघका अध्यक्ष हुन् ।

कांग्रेसबाट को कहाँ सिफारिस ?

यसैगरी सत्ता गठबन्धन नेतृत्व दल कांग्रेसले १० निर्वाचन क्षेत्रमा ३५ जनाको नाम सिफारिस गरेको छ । यद्यपि गठबन्धन दलहरूबीच भागबण्डामा सहमति नभइसकेकाले कुन नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्नेमा कांग्रेसलाई अप्ठ्यारो देखिन्छ । माओवादी कन्द्रले काठमाडौंबाट तीन सिट दाबी गरेको छ । उसले क्षेत्र न.३, ६ र १० दाबी गरेको छ । कांग्रेसले विगतको जित र मतको आधारमा ललितपुरमा एक सिटबाहेक अन्यमा छोड्न चाहेको छैन । एमालेबाट विभाजित दल नेकपा एसले २ नम्बर क्षेत्र छोड्ने भए ५ र ८ नम्बर क्षेत्र आफूले पाउनुपर्ने अडान लिएको छ ।

यस्ता छन् कांग्रेसका संभावित उम्मेदवार

काठमाडौं– १ बाट प्रकाशमान सिंहको उम्मेदवारी पक्का जस्तै देखिन्छ । क्षेत्र न. २ बाट कांग्रेसले लोकेश ढकाल,दीपक कुइँकेल र प्रतिमा गौतमको नाम सिफारिस गरेको छ । गौतम २०७० निर्वाचनमा पराजित भएकी थिइन् । दीपक कुइँकेल ०७० को उपनिर्वाचनमा विजयी उम्मेदवार हुन् । योपटक लोकेश ढकालले टिकट पाउने सम्भावना रहेको छ ।

काठमाडौं–३ बाट अम्बिका बस्नेत, सन्तोष चालिसे र हरिबोल भण्डारी सिफारिस भएका छन् । यीमध्ये बस्नेतको सम्भावना बलियो रहेको छ । उनी अघिल्लोपटक सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।

काठमाडौं–४ बाट गगन थापा निर्विकल्प उम्मेदवार रहेका छन् । योपटक थापा ह्याट्रिक बनाउने दाउमा छन् । २०६४ मा समानुपातिक सांसद भएका गगनले २०७० र २०७४ को चुनाव ४ बाटै जितेका थिए ।

काठमाडौं–५ बाट कांग्रेसका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतसहित रमेश खड्का, श्याम खड्का, प्रेम खड्का, दामोदर खड्का, सुधा शर्मा, सम्पूर्णनारायण श्रेष्ठ सिफारिस भएका छन् । यो क्षेत्रमा नेकपा एसलेसमेत दाबी गरेकाले समस्या देखिएको छ । कांग्रेसले पाएको खण्डमा महतले टिकट पाउने सम्भावना देखिन्छ । उनी २०७० मा सोही क्षेत्र एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

काठमाडौं–६ बाट पूर्वरक्षामन्त्रीसमेत रहेका भीमसेनदास प्रधान र काठमाडौंका सभापति कृष्ण बानिँया (सबुज) सिफारिस भएका छन् । प्रधान अघिल्लो निर्वाचनमासमेत निर्वाचित भएकाले योपटक पनि उनैले पाउने सम्भाव देखिन्छ । प्रधान कांग्रेसमा कृष्णप्रसाद सिटौलानिकटका हुन् । सिटौला गठबन्धन दलबीच टिकट बाँडफाँट समितिका संयोजकसमेत हुन् । यसैले प्रधानले सहजै टिकट पाउने देखिन्छ ।

काठमाडौं–७ – विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा.रामशरण थपलिया, निलकाजी शाक्य, प्रमोदहरि गुरागाई, सरोज थापा, सुशील भट्ट, प्रमिलासिंह डंगोल सिफारिस भएका छन् । योपटक कलाकारसमेत रहेका शाक्यले टिकट पाउने सम्भावना रहेका काठमाडौं जिल्ला समितिका एक सदस्यले बताएका छन् । शाक्य स्थानीय तहको निर्वाचनमा काठमाडौं मेयरका लागि प्रबल दाबेदार थिए । तर प्रकाशमान सिंह पत्नीले टिकट पाएपछि उनी पछाडि हटे । शाक्य कांग्रेसको महानर कार्यसमितिका सभापति पनि हुन् ।

काठमाडौं–८ मा भागबण्डा मिलाउन कांग्रेसलाई निकै कठिन देखिन्छ । यो क्षेत्र कांग्रेसका लोकप्रिय नेता स्व. नवीन्द्रराज जोशीको निर्वाचन क्षेत्र हो । कांग्रेसले राजुराज जोशी र सपना जोशीलाई सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा जोशी जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । योपटक जोशीको धर्मपत्नीलाई उम्मेदवार बनाउन पर्ने आवाज उठेको छ । भागबण्डामा यो क्षेत्र कांग्रेसले पाएको खण्डमा सपनाले टिकट पाउने सम्भावना रहेको छ । राजुराज पनि नवीन्द्रकै दाइ हुन् ।

काठमाडौं–९ मा कांग्रेसले ध्यानगोविन्द रञ्जित, तीर्थराम डंगोल, नानु बास्तोला, गौरिप्रसाद दवाडी, जयकृष्ण महर्जन र धर्मराज गौतमलाई सिफारिस गरेको छ । अघिल्लोपटक रञ्जित एमालेका उम्मेदवारसँग पराजित भएका थिए । योपटक रञ्जित वा डंगोलले टिकट पाउने सम्भावना देखिन्छ ।

काठमाडौं–१० बाट कांग्रेसले राजन केसीलाई निर्विकल्प सिफारिस गरेको छ । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई भारी मतले हराएर चर्चामा आएका थिए । २०७४ मा पनि केसीले माओवादीका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए । योपटक केसी ह्याट्रिक गर्ने तयारीमा छन् ।