NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गुल्मीमा गोकर्ण विष्टसँग भिड्न माओवादीबाट अघि सारिए भण्डारी, के गर्छिन् झाँक्री ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार सिफारिसमा दलहरू तल्लीन छन् । सत्तारुढ गठबन्धन र एमालेबीच देशैभर प्रतिस्पर्धा हुने चुनावमा उम्मेदवार बन्न दाबेदारको लर्को लागिरहेको छ ।

यसैक्रममा गुल्मी २ को प्रतिनिधिसभामा प्रत्यक्षमा गोकर्ण विष्टसँग भिड्न माओवादीले भीम भण्डारीलाई अघि सारेको छ । युवा व्यवसायीसमेत रहेका भण्डारीलाई माओवादीले विष्टविरुद्ध उतार्ने गरी सिफारिस गरेको हो ।

४ मंसिरमा हुने निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धन दल तालमेल गरेर होमिंदै छन् । यस्तोमा माओवादीले विष्टसँग प्रतिस्पर्धा गर्न भण्डारीको नाम सिफारिस गरेको हो ।

माओवादी भण्डारीको अडानमा रहे के गर्छिन् झाँक्री ?

एमाले विभाजन भएपछि रामकुमारी झाँक्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकी छिन् । अघिल्लोपटक एमालेमा हुँदा झाँक्री काठमाडौंबाट समानुपातिक सांसद बनेकी थिइन् । यसपटक सत्ता गठबन्धन मिलेर चुनाव लड्ने भएपछि उनी गुल्मी २ मा लड्ने तयारीमा छिन् । तर समाजवादीले अहिलेसम्म आफ्नो दलको तर्फबाट उम्मेदवार घोषणा गरेको छैन । क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीविरुद्ध डा. चन्द्र भण्डारीलाई उठाउने भएपछि माओवादी र नेकपा एस दुवैको दाबी २ मा छ ।

यस्तो छ अघिल्लो चुनावको मत परिणाम

२०७४ सालको निर्वाचनमा गुल्मी २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका थिए । माओवादीसँग चुनावी तालमेल गर्दा विष्ट १४४६१ मतान्तरले विजयी भएका थिए । विष्टले ३४ हजार ६२८ मत ल्याउँद निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए ।

योपटकको स्थानीय तहमा के छ गुल्मी २ को अवस्था ?

वैशाख ३० को स्थानीय तह निर्वाचनमा गुल्मी २ भरिका वडाध्यक्षमा एमालेले ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १८४१, नेकपा एसले ६५८ मत र राप्रपाले १०१ मत प्राप्त गरेको थियो । गठबन्धनको मत ३२ हजार ३२० देखिन्छ । एमाले गठबन्धनको कुल मतभन्दा १०६७ मतान्तरले मात्रै पछाडि छ ।