NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओलीसँग महन्थ ठाकुर नजिकिएकै हुन् त ? यस्तो छ, तालमेलको तयारी

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलका लागि महत्व नदिएको निष्कर्षमा पुगेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर एमालेसँग नजिकिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सहकार्यका लागि प्रस्ताव गरेपछि ओलीलाई भेट्न ठाकुर ओली निवास बालकोट पुगेका थिए । केही दिनदेखि लगातार बालकोटको सम्पर्कमा रहेका ठाकुरले ओलीको प्रस्तावबारे केन्द्रीय सदस्यहरूको सुझाव मागेका छन् । यसै विषयमा निर्णय लिन उनले शुक्रबार कार्यकारिणी बैठक बोलाएका छन् । ओलीसँगको छलफल सकारात्मक भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।

‘हाम्रा अध्यक्ष र ओलीजीबीच अनौपचारिक छलफल भइरहेको छ । मैले बुझेको अनुसार भेटवार्ता सकारतात्मक भएको छ । ओलीको प्रस्तावबारे पार्टीको बैठक बसेर निर्णय लिन्छौं’, उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुने सम्भावना बढेर गएको छ । गठबन्धनसँग तालमेल हुने अवस्था देखिँदैन ।’

ओलीसँगको भेटमा सिट बाँडफाँटबारे कुनै सहमति नभएको भन्दै महतोले पार्टीको निर्णयपछि छलफललाई निरन्तरता दिने बताए ।
‘एमालेसँग अहिलेसम्म अनौपचारिक छलफलमात्र भएको कुनै निष्कर्षमा पुगेका छैनौं । औपचारिक छलफलपछि हामी एमालेसँग सिट संख्याबारे विषय प्रवेश गर्छौं’, उनले भने ।

एमालेले १५० सिट आफूसँग राखेर बाँकी सिटमा आवश्यकता अनुसार भागबण्डा गर्ने तयारी गरेको छ । लोसपाबाहेक ओलीले राप्रपा, राप्रपा नेपालसँग पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

अघिल्लो निर्वाचनमा लोसपाले कांग्रेससँग चुनावी तालमेल गरी १२ सिट जितेको थियो । योपटक पनि प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई गठबन्धनमा ल्याउने प्रयास गरेका थिए । गठबन्धनभित्रै उपेन्द्र यादव र प्रचण्डको अनिच्छाका कारण असफल भएको थियो । गठबन्धन ल्याउने प्रयास असफल भएपनि कांग्रेसले ठाकुलाई दुई सिट दिन तयार भएको छ ।

गठबन्धनसँग चुनावी तालमेल गर्नेबारे छलफल गर्न महन्थ ठाकुरसहितका लोसपाका शीर्ष नेताहरू भदौ ४ गते देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको क्रममा नागरिकता विधेयक संसदबाट पारित भएपछि लोसपालाई गठबन्धनमा ल्याउने आश्वासन दिएका थिए । लामोसमय पर्खिदासम्म प्रधानमन्त्री देउवाबाट कुनै प्रतिक्रिया नआएपछि ठाकुर ओलीसँग नजिकिएका छन् ।