NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गरेका हुन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवद्र्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एशियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरेका हुन् ।

‘मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रसस्त सम्भावनाहरु छन् । श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुप-यो,’ ढकालले भने ।

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानकालागि पनि एशियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए ।

उक्त अवसरमा एशियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीकालागि तयार रहेको बताए ।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एशियाली विकास बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।