NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

देउवाको रोजाइमा बहादुर नै बहादुर

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनलगत्तै मुलुक फेरि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ । मंसिर ४ आउँन अब दुई महिना हाराहारी मात्रैको समय छ । थोरै समयको चापकाबीच दलहरू अहिले धमाधम उम्मेदवार सिफारिसमा व्यस्त छन् ।

४ मंसिरमा हुने चुनावमा यसपटक सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा तालमेल गरेर अघि बढ्दैछन् । तालमेलका लागि कार्यदल नै बनाएर १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाको टिकट बाँडफाँटमा प्रयास भएको छ । तर त्यो अझै टुंगोमा पुग्न सकेको छैन । भदौको पहिलो सातासम्ममा तालमेलमा सिट बाँडफाँटमा टुंगो लगाउने भनिएको थियो । तर भदौ सकिने बेलासम्म पनि सहमतिको प्रयासले आकार लिन नसकेको हो ।

२०७४ सालको चुनावमा एमाले र माओवादी मिल्दा कांग्रेस नराम्ररी पराजित भएको थियो । कांग्रेसका २३ सांसद मात्रै प्रतिनिधिसभामा प्रत्यक्षमा जितेका थिए । त्यसैले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनदेखि ४ मंसिरको निर्वाचनसम्मै तालमेलको नीति लिएका हुन् ।

तालमेलमा कांग्रेस र गठबन्धनको पक्षमा प्रष्ट बहुमत प्राप्त गरेर फेरि एकपटक प्रधानमन्त्री बन्ने हुटहुटी देउवामा देखिन्छ । किनकी उनलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने योग निकालिदिएका छन् । यसैले देउवालाई कांग्रेसलाई ठूलो बनाएर आफू प्रधानमन्त्री बन्ने, आफू शक्तिमा हुँदा श्रीमती आरजुलाई पनि पार्टी र देशकै नेतृत्वको लागि विकास गर्ने तीव्र आकांक्षा देखिन्छ ।

तर यस्ता आकांक्षा देखाउन देउवाले भागबण्डामा ८३ देखि ८६ सिटसम्म लिएर मात्रै पुग्ने छैन । आफू अनुकूल हुने गरी अर्थात् निर्वाचनपछि संसदीय दलमा आफ्नो बहुमत हुने गरी प्रतिनिधिसभाको टिकट बाँड्ने र समानुपातिकको बन्द सूचीमा पनि आफ्नै वर्चस्व हुने गरी खेल्न सक्नुपर्नेछ । निर्वाचनपछि आफू वा आफू पक्षधरलाई संसदीय दलको नेता बनाउने हिसाबमा यतिखेर देउवा सबैभन्दा बढी घोत्लिएका छन् ।

तर पुरानै ढर्रामा टिकट वितरण गरिंदा यस अघि जितेकै उम्मेदवार हार्न सक्ने जोखिम पनि उत्तिकै छ । उम्मेदवार चयनमा ढंग नपुर्याउँदा बलियो पकड भएका काठमाडौं, धरानसहितका ठाउँमा कांग्रेसले स्थानीय तहमासमेत हार खानुपरेको धेरै भएको छैन । यसैले युवा, इमान्दार, विषयविज्ञलाई यसपटक टिकटमा अवसर दिनुपर्ने जबर्जस्त माग र दबाब यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष छ ।

तर छैन बहस

निर्वाचन नजिकिएको छ । तर अहिलेसम्म कांग्रेसले कस्तालाई उम्मेदवार बनाउने, जातीय क्षेत्रीय सन्तुलन मिलाउने र क्षमता भएकालाई कसरी समेट्ने भन्नेमा बहस आरम्भ पनि गरेको छैन ।

‘चुनावको मिति नजिकै आइसक्यो तर अहिलेसम्म सबै गठबन्धनको तुफानी दौडमा छन् । आन्तरिक तयारीदेखि उम्मेदवार चयनको मापदण्डबारे छलफल नै भएको छैन’ कांग्रेस नेता अर्जुननरसिंह केसी भन्छन्, ‘जनतामा लोकप्रिय, क्षमतावान मात्रै होइन जातीय, क्षेत्रीय सन्तुलन मिल्ने गरी र योग्य उम्मेदवार छनोटको मापदण्ड बनाउनुपर्ने हो तर ढिलाई भइसकेको छ । तयारीका लागि संसदीय समिति गठन पनि भएको छैन । सभापतिले के गर्न खोज्नुभएको हो हामीले बुझेका छैनौं ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आदर्श नेताले राजनीति गरेको इतिहास भएको कांग्रेसमा देउवाको बहादुरशैली समस्याको रुपमा रहेको बताउँछन् ।

पहुँच प्रभाव र आफ्नो गुटलाई मात्रै हेरेर पहिलेपहिले जस्तै अन्तिममा एकलौटी रुपमा उम्मेदवार चयन गरिए आफूहरूले आपत्ति जनाउने केसी बताउँछन् ।

‘स्थानीय तहको निर्वाचनले पनि हामीलाई ठूलो सन्देश दिएको छ । सबै सन्तुलन मिलाएर यो पक्ष वा त्यो पक्ष नभनी उपयुक्त मान्छे उठाउनुपर्छ’ केसीले भने, ‘हामीले सभापतिलाई भनेका छौं । यसैले कठिन चुनौतीको यो घडीमा एकलौटी र आफ्नै बल र प्रभावमा मात्रै टिकट वितरण गरिए पार्टीले गम्भीर परिणाम भोग्नेछ ।’

टिकट दिने नाममा प्रत्यक्ष वा समानुपातिकमा ठेकेदार, पहुँचवाला, पैसावाला, बोलवालाहरूलाई समावेश गरेको भनेर हामी सधैं आलोचित बन्नु हुँदैन ।

‘आवश्यकता अनुसार पार्टीमा योगदान गरेको छ । सक्रिय भएर लागेको छ भनेर टिकट दिन पनि हिच्किचाउनु हुँदैन । तर आफ्नो गुट बलियो बनाउने, पार्टीमा बाहिरियाको हैकम चल्ने गरी कसैलाई प्रवेश दिनु हुँदैन’ केसी भन्छन्, ‘यस्तो भए हामीलाई मान्य हुने छैन । पार्टीको हितमा पनि हुनेछैन ।’

बहादुर पैसावाला खोजेको आरोप

कांग्रेसमा सभापति देउवा ‘पावर पोलिटिक्स’का लागि माहिर मानिन्छन् । अहिले पनि देउवाको घेरा हेर्दा उनी शक्तिको राजनीतिमा कति लगाव र विश्वास राख्छन् भन्ने देखिन्छ । देउवा निकटका विश्वासिला नेताको लर्कोले पनि यही देखाउँछ । उद्योगी, व्यापारी, ठेकेदारसम्मका नेता देउवाको टिममा सहजै अटाउँछन् भनेर आलोचना गर्ने गरिन्छ ।

शिक्षा र व्यवसायिक क्षेत्रमा लामो अनुभव भएका उमेश श्रेष्ठ अहिले देउवाका सबैभन्दा विश्वासिला र नजिकका साझेदार हुन् । उनी विनाविभागीय मन्त्रीका रुपमा बहालवाला छन् । १३ औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएपछि श्रेष्ठ देउवाका झन् बढी विश्वासपात्र बन्न पुगेका थिए । कतिसम्म भने देउवाको सानेपास्थित केन्द्रीय कार्यालयलाई वास्तुशास्त्र अनुसार आवश्यक लाखौं रुपैयाँ आफैंले खर्चेर श्रेष्ठले नै बनाइदिएका थिए । देउवा सभापति मात्रै होइन प्रधानमन्त्री हुँदासमेत श्रेष्ठको घरमा लन्च र डिनरको लागि पुग्नुले पनि उनीहरूको निकटता झल्काउँछ ।

पछिल्लो समय डलर अर्बपति विनोद चौधरी पनि देउवा निकट भएको बताइन्छ । डा. शशांक कोइरालासँग पनि निकट सम्बन्ध बनाएका चौधरीको चुनाव आएसँगै सम्बन्ध बिग्रदै गएको बताइन्छ । किनकी कोइरालाको परम्परागत क्षेत्र नवलपुरबाट यसपटक चौधरीले पनि टिकटमा आँखा लगाएका छन् । यस्तोमा देउवाले चौधरीलाई नजिकबाट सहयोग गरिरहेको बताइन्छ । देउवाको ढाडस पाएपछि नै चौधरीले यसपटक टिकटमा शशांकको क्षेत्रबाटै दाबेदारी गरेको बताइन्छ ।

यी प्रतिनिधि पात्र मात्रै हुन् । देउवाले वर्षौदेखि टिकट दिंदै आएका, जिताएका र अहिले केन्द्रीय सदस्य भएका धेरै नेता उद्योगी, व्यापारी र ठेकेदार धेरै छन् । देउवाले कतिसम्म खेलेका छन् आफू निकटका उद्योगी, व्यापारी र ठेकेदार नेतालाई समावेशी सिद्धान्त अनुसारकै कोटामा घुसाइदिएका छन् । जसले सहजै आलोचना गर्ने ठाउँ दिंदैन । तर साँच्चै योगदान गरेका र आउनुपर्नेलाई भने किनारामा पारिदिएको छ ।

‘राजनीतिमा लागेर जीवन समर्पण गरेका होइन, बाहुबली शैली देखाउने, पैसा र पहुँच र नाममा बहादुर कहलिएका नै देउवाको वरिपरि रहेका छन्’ कांग्रेसका एक नेता भन्छन्, ‘तत्काललाई पावर पोलिटिक्सको लागि यसले फाइदा गर्ला, यिनीहरूबाट गुटगत रुपमा बलियो बन्न सहयोग गर्ला तर राजनीतिक कम अरु ज्यादा हुने हुँदा यस्तो प्रवृत्तिबाट दीर्घकालीन रुपमा फाइदा हुँदैन । कुनै एस्सपर्टलाई कहिलेकाँही विशेष अवस्थामा अवसर दिनु एउटा पाटो हो तर राजनीतिक जीवनमा नै खारिएर आएकालाई अवसर नदिई पहुँचवालालाई दिंदा पार्टीको हितमा हुँदैन । यसबाट सभापतिसहितका सबै नेताले पाठ सिक्नुपर्छ ।’

कांग्रेसमा नेताबीच कहिलेकाहीं एउटा विषयमा रमाइलो चर्चा हुने गरेको छ । देउवातिर रमेश लेखकबाहेक बाहुन नेता पाउनै मुस्किल । कोइरालातिर रामशरण महत बाहेकका क्षेत्री नेता पाउनै मुस्किल । देउवा क्याम्पमा प्रायः क्षेत्री नेतामात्रै हुनु एउटा नियतभन्दा संयोग हुन सक्छ । तर बहादुर थर जोडिएका नेताको बोलवाला रहेको देउवाको साइनो प्रभाव र पहुँचका पनि बहादुरसँग बढी जोडिने गर्छ । यसैले उनले बहादुरहरूको राजनीति गरेको आरोपसमेत लाग्ने गरेको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आदर्श नेताले राजनीति गरेको इतिहास भएको कांग्रेसमा देउवाको बहादुरशैली समस्याको रुपमा रहेको बताउँछन् ।

‘देउवाजीले बाहुबलीशैली भएकालाई अघिपछि ल्याउने गर्दै आएका छन् । उनको राजनीतिमा प्रवेश नै पावपर, पैसा र मसलले जोडियो । राजनीतिक चेतना, चिन्तन, आदर्श र मूल्य पद्धति नै छैन’ आचार्य भन्छन्, ‘गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र गिरिजाप्रसाद कोइराला जस्ता आदर्श राजनीति होइन देउवाको बहादुरशैली हो, धनबली र बाहुबलीशैली हो । यसरी नै उनले नेतृत्व लिएका छन् ।’

देउवाको यो शैलीलाई १४ औं महाधिवेशनमा परास्त गर्न खोजिए पनि नभएको बताए ।

‘देउवाको यो बाहुबलीशैलीलाई १४ औं महाधिवेशनमा परास्त गर्न खोजिएको हो तर भएन । आगामी दिनमा उनीविरुद्ध लड्न कोही फेरि तयार हुन्छ भन्ने लागेको छ’ आचार्य भन्छन्, ‘राजनीतिका नाममा यो बाहुबली क्रमलाई, देशभरका लुटेरा र भ्रष्टलाई रोक्न लड्नुपर्छ ।’

कसरी दिने टिकट ?

कांग्रेस युवा नेता कल्याण गुरुङ अहिलेसम्म अवसर नपाएका र पार्टी भनेर लागेकालाई पहिलो रोजाइमा राख्नुपर्ने बताउँछन् ।

‘आजको दिनसम्म जसले अवसर पाएका छैनन । उनीहरुलाई पहिले अवसर दिनुपर्छ । प्रतिनिधिसभा होस् कि प्रदेशसभा होस् राजनीति गर्नेलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ’ गुरुङ भन्छन्, ‘किनभने डाक्टर भएन अस्पताल चल्दैन ? शिक्षक भएन भएन विद्यालय चल्दैन । राजनीतिकमकर्मी भएन भने दल पनि चल्दैन । यसैले राजनीतिमा जीवन समर्पण गरेकालाई रोकेर अरुलाई टिकट दिन मिल्छ ?’ पहुँचवाला र अवसरवादीलाई भन्दा अहिलेसम्म अवसर नपाएकालाई टिकट दिनुपर्ने उनी बताउँछन् ।

पार्टी भनेर जीवनको सम्पूर्ण र उर्जा र जवानी सिध्याउनेलाई अवसर नदिए बिडम्वना हुने उनको तर्क छ ।

‘तेरो गुट, मेरो भन्ने होइन । अरु नेताले पनि मेरो गुटलाई टिकट चाहियो, मेरो आफन्तलाई चाहियो, मेरो भूगोगलाई चाहियो भन्ने होइन । कसैलाई काखापाखा गरी टिकट दिनुभयो भने राम्रो हुँदैन भनेर सभापतिलाई खबरदारी गर्ने हो’ गुरुङ भन्छन्, ‘सम्पूर्ण उर्जा र जवानी पार्टी, भ्रातृ र शुभेच्छुक संस्थामा बिताउनेलाई अवसरबाट बञ्चित गरिनुहुन्न ।’

अहिलेसम्म प्रत्यक्ष र समानुपातिकमा सांसद भइसकेको, स्थानीय तहको नेतृत्वमा आइसकेकालाई टिकट दिने र समानुपातिकमा राख्ने काम अब बन्द गर्नुपर्ने उनको मत छ । राष्ट्रिय सभामासमेत दोहोरिन नदिने नीति पार्टीको हुनुपर्ने गुरुङ बताउँछन् ।

फेरि चुनावको मुखमा देश रहेको भन्दै गुरुङले जात, समूह, भूगोल, धर्म, मधेस, पहाड र हिमाल नभनी राजनीतिक निरन्रतरता र अवसर नपाएकालाई अघि लगाउनुपर्ने बताए ।

कांग्रेसले यसपटक उम्मेदवार सिफारिस गर्दा अघिल्लोपटक समानुपातिकमा परेकालाई नदोर्याउने भनेको छ । तर २०४८ सालदेखि लड्दै आएका उम्मेदवारलाई नउठाउनेबारे केही बोलेको छैन । यो विषयमा बोल्दा भने अहिलेका सिनियर नेता कसैले पनि टिकट पाउँदैनन् । त्यसैले कांग्रेस यो बारेमा चुपचाप छ ।

विवाद नआओस् भनेर पार्टीको तल्लो तहबाटै उम्मेदवार सिफारिस गर्ने परिपत्र कांग्रेसले गरेको छ । तर अबको केही दिनमा नै समानुपातिकको सूची बुझाउनुपर्ने बेला आइसकेको छ । तर पर्याप्त छलफल र तयारी भएको छैन । जसले फेरि पहिलेपहिले जस्तै अन्तिमा केन्द्रले टिकटमा मनोमानी गर्ने प्रष्टै देखिन्छ । किनकी उम्मेदवार चयन गरिसक्नुपर्ने अन्तिम अवस्थामा न पर्याप्त छलफल गर्ने अवस्था रहन्छ, न अरुलाई दबाब बढाउने समय नै हुन्छ । समय घर्काएर अन्तिममा नेतृत्वले फेरि टिकटका खेल्ने जोखिम पनि छ ।

एक्सपर्ट र विषयविज्ञलाई अवसर

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले छाप छोडेपछि कांग्रेसमा कुनै विषयमा विज्ञ भएर काम गरिसकेकालाई अवसर दिनुपर्ने मत बलियो बन्दै गएको छ ।

पछिल्लो समय अर्थतन्त्र, जनजीविका र रुपान्तरित मुद्दाका विषयमा बहस गर्दै आएका स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेल, विश्व पौडेलसहितका विज्ञलाई पनि अवसर दिनुपर्ने बहस कांग्रेसमा हुन थालेको छ । पार्टीका क्षेत्रीय समितिदेखि जिल्ला तहको नेतृत्वलेसमेत यस्ता विज्ञलाई अवसर दिनुपर्ने गरी बहस चलाएका छन् । पार्टीको मात्रै क्षमताले देशको विकास गर्न नपुग्ने भएकोले विषयविज्ञ राजनीतिमा खुलेरै आउनु र चुनाव लड्न इच्छा देखाउनु सकारात्मक भएको कांग्रेसका युवा नेता गुरु घिमिरे बताउँछन् ।

‘दल पार्टीभित्रको क्षमताले मात्रै पार्टी चल्दैन । संसदमा वास्तविक बहस हुन र नयाँ विषयमा विमर्श गर्न पनि एक्सपर्ट पनि चाहिन्छ । पार्टी भित्रको मात्रै क्षमताले संसद र सरकारलाई पुग्दैन । युरोप, अमेरिका चीनको अभ्यास हेर्दा पढेलेखेका, एक्सपर्टलाई अवसर दिने छ’ कांग्रेस युवा नेता गुरु घिमिरे भन्छन्, ‘विकसित देशले विषयविज्ञलाई अवसर दिएर विकास गरे । हाम्रो संसद शास्त्रीय र परम्परागत भयो । त्यसैले नयाँ कुराको बहस गराउन स्वर्णिम वाग्ले जस्ता मान्छेलाई अवसर दिंदा जित्ने देखियो । यस्ता मान्छे आउँदा जित्ने मात्रै होइन पार्टीको पक्षमा पनि राम्रो सन्देश जाने भएकोले यो नराम्रो अभ्यास होइन ।’

यसैले वाग्ले, पोखरेल र पौडेल जस्ता एक्सपर्टलाई अवसर दिनबाट बञ्चित गर्न नहुने उनको तर्क छ । तर विज्ञलाई प्रवेश गर्न नदिन चितवनमा वाग्लेविरुद्ध विश्व पौडेललाई उम्मेदवारमा देउवा पत्नी आरजुले नै अघि सारेको टिप्पणी हुन थालेको छ ।