NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तनहुँमा पत्रकारको १० लाखको बीमा

तनहुँ । व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि रु १० लाख बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ । गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो ।

नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार रु १० लाखको बीमा गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए । नगरपालिका कार्यालयले रु नौ लाखको दुर्घटना र रु एक लाख बराबरको औषधि बीमा गरिदिएको उनले बताए ।

व्यास नगरपालिका कार्यालयले जिल्लाका सञ्चारकर्मीहरुका लागि लोककल्याणकारी विज्ञापन र स्वास्थ्य बीमा कार्यमा सहयोग गर्दै आएको छ । जिल्लाका अन्य पालिकाले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताए । नगरपालिकाले गरेको निर्णयप्रति अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सिफारिसका आधारमा यस वर्ष पनि क्रियाशील पत्रकारको बीमालाई निरन्तरता दिन लागिएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । रिपोर्टिङको सिलसिलामा यत्रतत्र कुदिरहने पत्रकारलाई सुरक्षा प्रदान गर्ने उद्देश्यअनुरूप नगरपालिकाले निर्णय गरी उक्त सुविधा प्रदान गर्न लागेको नगरप्रमुख न्यौपानेले बताए ।