NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

देवीघाट–गल्छी सडकमा रातभर तनाव, ज्यान लिने मिनीट्रक जलाइयाे, प्रहरी चौकीमा पनि तोडफोड

काठमाडाैं। जिल्लाको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा गएराति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ ।

गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ । ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।

ठक्कर दिने बा ३ ख १६४ नंको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए । घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।