NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

२०७४ को चुनावमा एक हजारभन्दा कम अन्तरका रोचक १३ हारजित कहाँ–कहाँ भएका थिए ?

काठमाडौं । मुलुक अबको ४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचनमा होमिँदै छ । स्थानीय तहको निर्वाचनलगत्तै हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनेपछि दलहरू उम्मेदवारी चयनको चटारोमा जुटेका छन् ।

२०७४ सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा यी दलले एकछत्र नतिजा आफ्नो पक्षमा पारेका थिए । तर कांग्रेसको हालत दयनीय देखिन पुगेको थियो । कांग्रेस २३ सिटमा सीमित हुँदा प्रत्यक्षमा एमालेले ८० र माओवादीले ३७ सिट जितेका थिए ।

कांग्रेसलाई हराउन एमाले र माओवादी केन्द्र मिलेर लडेको चुनावमा १३ सिटमा भने एक हजारभन्दा कम अन्तरको हारजित भएको थियो । जसमा ६ वटामा एमाले जित्न पुग्यो । १२ मध्ये कांग्रेसले दोस्रोमा रहेर ८ सिट गुमायो । एक हजार कम मतान्तरमा एमालेले तीन सिट गुमाएको देखिन्छ ।

४ वटामा कांग्रेसले जित्दा माओवादी, राजपा र स्वतन्त्रका एकएक जनाले पनि एक हजारभन्दा कम अन्तरको हारजित हात पारे ।

एक हजारभन्दा कम मतान्तरका १३ मध्ये ६ वटामा एमालेले जितेको थियो । ६ वटैमा एमालेले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए ।

सबैभन्दा कम मतान्तरको हारजित

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम मतान्तरको हारजित हुम्लामा भयो । स्वतन्त्रका छक्कबहादुर लामाले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरेका थिए । छक्कले ८४९१ र शाहीले ८४४४ मत ल्याए । लामा वाम गठबन्धनका बागी उम्मेदवार भएर पनि जित्न पुगे । वाम गठबन्धनका आधिकारिक माओवादी उम्मेदवार छिमी दोर्जे लामाले २८५६ मत ल्याएका थिए । छक्कले माओवादीबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए ।

कांग्रेसबाट जित्ने र एमालेबाट हार्ने चर्चित अनुहार

एक हजारभन्दा कम अन्तरको जित निकाल्नेमा कांग्रेसका सांसद र पराजित हुने एमालेका उम्मेदवार चर्चित अनुहार पनि छन् । कांग्रेसले १६५ मा २३ सिट जित्दा तीनवटामा एक हजार भन्दा कम अन्तरको जित निकालेको थियो । जसमा प्रकाशमान सिंहले काठमाडौं १ मा विवेकशील साझाका रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए । सिंहले १०९३६ र मिश्रले १०११८ मत ल्याएका थिए ।

उदयपुर १ बाट कांग्रेसका डा. नारायण खड्काले पनि एमाले उम्मेदवारविरुद्ध ५४८ मतान्तरको जित निकाले । खड्काले ३३१४२ मत ल्याउँदा एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीले ३२५९४ मत ल्याइन् ।

सुनसरी ३ बाट कांग्रेसका विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका थिए । गच्छदारले ३८९७२ मत ल्याउँदा एमालेकी भगवती चौधरीले ३८६५१ मत ल्याएकी थिइन् ।

त्यस्तै कांग्रेसका संजयकुमार गौतमले एमालेका चर्चित नेता वामदेव गौतमलाई बर्दिया १ मा ७५६ मतान्तरले पराजित गर्न पुगे । गौतमले ४४८२९ र वामदेवले ४४०७३ मत ल्याए । देशभर एमाले र माओवादी गठबन्धनका औसत उम्मेदवार पनि विजयी भइरहँदा प्रभावशाली नेता वामदेवको हारलाई अस्वभाविक मानिएको थियो । देशैभर लहर देखिंदा परम्परागत प्रभाव रहेको क्षेत्रमा माओवादीसँग मिलेर चुनाव लड्दा पनि वामदेव पराजित हुनुलाई धेरैले पार्टीभित्रैको षडयन्त्रको रुपमा लिएका थिए ।

एमालेबाट एक हजार मतान्तरको जित निकाल्ने को–को ?

एक हजारभन्दा कम मतान्तरका १२ मध्ये ६ वटामा एमालेले जितेको थियो । जसमा ६ वटैमा एमालेले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको थियो । ६ वटै सिटमा एमालेका नाम चलेका उम्मेदवारले कांग्रेसका चर्चित अनुहारलाई नै पराजित गरेका हुन् । मोरङ ६ मा एमालेका लालबाबु पण्डितले कांग्रेसका डा। शेखर कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए । पण्डितले ३३९४१ र शेखरले ३३२६६ मत ल्याए । उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग कांग्रेसले तालमेल गरेको भनिए पनि फोरमका राजेश्वर विश्वासले ५६१ मत प्राप्त गरेका थिए । तर शेखरले ६७५ मतान्तरले पराजय बेहोरे । कांग्रेसले फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेर आफ्नो तर्फबाट उम्मेदवार उठाएको थिएन ।

धादिङ २ मा एमालेका खेमप्रसाद लोहनीले कांग्रेसका दिलमान पाख्रिनलाई ६४० मतान्तरले पराजित गरे । लोहनीले ३६२५६ र पाख्रिनले ३६२१६ मत ल्याए ।

काठमाडौं ८ मा जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई ४४४ मतान्तरले पराजित गरे । जसमा श्रेष्ठले १३३९७ र जोशीले १२९५३ मत प्राप्त गरे । जितेका श्रेष्ठ एमाले विभाजनपछि यतिबेला नेकपा एकीकृत समाजवादीमा सक्रिय छन् । कांग्रेसका जोशीको निधन भइसकेको छ ।

मनाङमा पाल्देन छेपाङ गुरुङले कांग्रेसका टेकप्रसाद गुरुङलाई २७९ मतान्तरले पराजित गरेका थिए । पाल्देनले २३०० र गुरुङले २०२१ मत प्राप्त गरेका थिए ।

मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनसँग कांग्रेसका रोमी गौचन थकाली ३६३ मतान्तरले पराजित भएका थिए । तुलाचनले ३५४४ र थकालीले ३१८१ मत ल्याएका थिए । त्यस्तै कञ्चनपुरमा एमालेका दीपकप्रसाद भट्टसँग कांग्रेसका रमेश लेखक २५८ मतान्तरले पराजित भएका थिए । भट्टले २६३६४ र लेखकले २६१०६ मत ल्याए ।

कपिलवस्तु १ मा माओवादीका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई ९४६ मतान्तरले पराजित गरिदिए । जहाँ खनालले २९७९९ मत ल्याए । कांग्रेसका उपाध्यायको २८,८५३ मत आयो ।

एक हजारभन्दा कम मतान्तरको जित हात पार्नेमा तत्कालीन राष्ट्रिय जनता पार्टीका प्रमोद साह पनि छन् । सर्लाही १ मा एमालेका ध्रुवप्रसाद गौतमलाई ५७१ मतान्तरले पराजित गरे । शाहले २२०३६ र गौतमले २१४६५ मत ल्याए ।