NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जमैकाबाट सन्दीप बेपत्ता !

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बेपत्ता भएका छन् । १७ वर्ष ७ महिनाकी एक किशोरीले बलात्कारको आरोप लगाएर उजुरी दिएपछि सन्दीपलाई गत भदौ २३ मा नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यतिबेला उनी क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इण्डिजको जमैकामा थिए ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू छिट्टै नेपाल फर्किने बताएका थिए । तर, ६ दिनबितिसक्दा पनि उनी आइपुगेको आधिकारिक रुपमा पुष्टि भएको छैन ।

सन्दीप कहाँ छन् भन्ने अहिले आमचासो विषय भएको छ । राष्ट्रिय क्रिकेट टोली बस्ने गरेको एउटा होटलमा आबद्ध एक व्यक्तिले सन्दीप भारतको बाटोहुँदै नेपाल आइसकेको हल्ला आफूले सुनेको भए पनि आधिकारिक पुष्टि नभएको नेपालवाचलाई बताए ।

‘सन्दीप दिल्लीको बाटोहुँदै नेपाल आइसके भन्ने मैले पनि सुनेको हुँ । तर, यसमा कुनै आधिकारिकता छैन,’ उनले भने ।

यता, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि मंगलबार नै सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताएका छन् । तर, त्यसपछि उनी कहाँ गए भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

यसैबीच, नेपालवाचले तराई क्षेत्रमा कार्यरत प्रहरी अधिकारीलाई सन्दीप भारतको बाटो हुँदै आएको हल्लाबारे जिज्ञासा राख्यो । तर, ती एक प्रहरी अधिकारीले यसबारे आफूहरूलाई कुनै सर्कुलर जारी नभएको बताए ।

सन्दीपविरुद्धको उजुरी प्रहरीले हतारमा सार्वजनिक गरेको आरोप लागिरहेको छ । सन्दीपजस्तो अन्तर्राष्ट्रिय स्टारलाई ‘बदनाम’ गराएको आरोप लागेपछि प्रहरी अहिले मौन छ । २३ गते यता सन्दीप पनि मौन छन् ।

कानुनअनुसार सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै हतकडी लाउनुपर्ने हुन्छ । यसैबाट बच्न सन्दीप भारतको बाटोहुँदै सुटुक्क नेपाल आएर आत्मसमर्पण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

जमैकाबाट हिँडेका सन्दीप कता गए ?

ताजा अपडेट

नेपालवाच विशेष