NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

किन एक्लिंदै छन् प्रचण्ड ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्नो जीवनकालको उत्तरार्धमा प्रवेश गर्दै गर्दा हतासा र निराशा बढ्दै गएको देखिन्छ । माओवादी १० वर्षे सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रचण्डको अभिव्यक्तिमा बढ्दै गएको कुण्ठा, आक्रोश, निराशा, बेचैनी, एक्लोपन र दिक्दारीपनले उनी ठूलै समस्यामा परेको देखिन्छ ।

उनको अभिव्यक्ति र अडानमा छिन–छिनमा परिवर्तन देखिएको छ । कहिले पार्टीभित्र एक्लिएको त कहिले देशी–विदेशी प्रतिक्रियावादी शक्तिको घेराबन्दीमा परेको टिप्पणी गर्ने गरेका छन् ।

प्रचण्डले मंगलबार त्यस्तै भाव झल्किने अभिव्यक्ति दिए । कार्यक्रममा उपस्थित सबैलाई स्तब्ध बनाए । प्रतिनिधिसभा सदस्य तथा माओवादी नेता सुदन किराँतीद्वाारा लिखित कृति ‘पलपलको मृत्यु’ लोकापर्णण समारोहमा माओवादी युद्धको बेला जंगलमा एक्लै भएपनि हजारौंको साथ र सहयोग रहेको अनुभूति भएपनि आजभोलि एक्लो महशुस हुन थालेको अभिव्यक्ति दिएका थिए ।

‘जनयुद्धका ती दिनहरूमा हामी समाजको परिवर्तनको निम्ति, मानवजाति कै हितको निम्ति, पूर्णरूपले त्याग, समर्पणसहित युद्धमा होमिएका थियौं । त्यो कुनै व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठाको निम्ति थिएन । सिंगो राष्ट्र, मानवजातिको निम्ति हामी सबभन्दा उचाईमा बसेर काम गरिरहेका छौं भन्ने अनुभूति हामीलाई हुन्थ्यो’, उनले भने, ‘हामी एक्लै जंगलमा हुँदा पहाड, उकाला, ओराला, भीरपाखा, नदीनाला हिड्दा पनि लाखौं, करोडौं, अरबौं मानिसको निम्ति काम गरेको र उनीहरूसँगै हिडेको अनुभुति हुन्थ्यो । अहिले हामी लाखौं, करोडौं मान्छेको बीचमा छौं तर एक्लो महशुस भएकोछ, कहिलेकाहीँ, एक्लै पो परिन्छ कि ?’

कहिले शान्ति र कहिले विद्रोहका कुरा गरेर कार्यकर्तालाई अलमलमा पर्नुभयो । कुनै अडानमा टिक्नुभएन । त्यसकै दुर्दशा अहिले भोगिरहनुभएको छ ।

गतहप्ता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका प्रचण्डले पार्टीभित्र स्वार्थ समूह हावी हुँदा नेता–नेताबीच बोलचाल नै बन्द भएको र कार्यकर्ता विभाजित भएको टिप्पणी गरेका थिए ।

गत साउन ९ गते नेकपाका संस्थापन नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली परिमार्जन नगरे आगामी दिनमा चुनावमा उठ्न नसक्ने जिकिर गरेका थिए ।

‘स्थानीय तह निर्वाचनमा एउटा गाउँपालिका अध्ययक्षले १० करोड खर्च गरेको रिपोर्ट मसँग आइपुगेको छ । बाफरे १० करोड ! एउटा गाउँपालिका चुनावमा १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा ५० औं करोड खर्च हुनेभयो । यो हिसाबले खर्च अरबतिर जानेभयो । हामी जस्ताले त अब चुनावमा उठ्नै सक्दैनौं’, उनले भने ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको पूर्वसंध्यामा चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुर महानगरपालिका कांग्रेस मतदाताले मेयरमा रेनुलाई भोट नहाले देशले दुःख पाउने अभिव्यक्ति दिएका थिए ।

त्यतिबेला उनको अभिव्यक्ति निकै आलोचित भएको थियो । छोरीलाई जिताउन प्रचण्डले सार्वजनिक धम्की दिएको उनीमाथि आरोप लाग्यो । त्यस्तै साउन १५ मा काठमाडौंमा भएको वागमती समन्वय समितिको प्रशिक्षण कार्यक्रममा आगामी निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई दोस्रो दल हुनेगरी सहयोग नगरे कांग्रेससँगको सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए ।

पछिल्लो समय पार्टीभित्र पूँजीवादी, अवसरवादी, व्यक्तिवादी चरित्र हावी हुँदै गएको, नेतृत्वलाई असहयोग गरेको, सत्ता र शक्तिमा ध्यान दिएको जस्ता अभिव्यक्तिबाट आफ्नै नेताहरूको हुर्मत लिन थालेका छन् । भदौ २२ मा राष्ट्रियसभा गृहमा भएको अखिल क्रान्तिकारीको भेलामा प्रचण्ड र नेता जनार्दन शर्माबीच जुहारी नै चलेको थियो । अर्थमन्त्रीसमेत रहेका शर्माले पहिलो पटक प्रचण्डकै उपस्थितिमा नीति र नेतृत्व असफल भएको सार्वजनिक टिप्पणी गरेका थिए ।

यी सबै परिदृष्यबाट पार्टीभित्र र बाहिर विस्तारै एक्लिदै गएको प्रचण्डको अभिव्यक्ति र हाउभाउबाट बुझ्न सकिन्छ । वाम विश्लेषक श्याम श्रेष्ठ पार्टीभित्र देखिएको बेथितिका कारण प्रचण्डमा निराशा आउनु स्वभाविक रहेको बताउँछन् ।

‘युद्धताका पार्टी प्रचण्डको ‘चेन अफ कमाण्ड’मा चलेको थियो । लाखौं कार्यकर्ता, शुभचिन्तकहरूको साथ थियो । आम मुक्तिकामी जनताको प्रचण्डलाई साथ थियो । शान्ति प्रक्रियामा आएपछि उनको शक्ति विस्तारै क्षय हुँदै गयो । पार्टी भित्रबाट निरन्तर असहयोग भयो । राष्ट्रिय राजनीतिमा उनको प्रभाव कम हुँदै गयो । यी सबै परिदृष्यले उनमा निराशा थपिनु स्वभाविक हो ।’ श्रेष्ठले भने ।

उनकै पूर्वसहकर्मी विप्लवले त प्रचण्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलाल पूँजीपतिहरूको चक्रब्यूहमा फसिसकेकाले त्यसबाट बाहिर निस्कन नसक्ने टिप्पणी गरेका छन् ।

‘प्रचण्डजी युद्धकालमा परिवर्तनगामी उत्पीडित, जनजाति, मधेसी, महिला, दलितलगायत सर्वहारा वर्गको साथमा रहनुभएको थियो । त्यसैले उहाँ शक्तिशाली हुनुहुन्थ्यो,’ गतवर्ष कपिलवस्तुस्थित आफ्नै घरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले प्रचण्ड परिवर्तगामी जनतालाई विश्वास गर्नुहुन्न । पूर्वलडाकु, जनमुक्ति सेना, घाइते, अपाङ्गता भएका व्यक्तिहरूलाई विश्वास गर्नुहुन्न । उहाँ अहिले साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरूको घेरामा फसिसक्नुभएको छ । उहाँ अहिले महापतनको बाटोमा हुनुहुन्छ ।’

प्रचण्ड निराशाका पाँच कारण

माओवादी युद्ध र २०६२/६३ को जनआन्दोलनपछि २०६४ को संविधानसभा निर्वाचन माओवादी संसदमा सबैभन्दा ठूलो दल भयो । २०६५ साउन ३१ मा एमालेको सहयोगमा उनी संघीय गणतन्त्र नेपालका पहिलो शक्तिशाली प्रधानमन्त्री भएका थिए ।

शान्ति र संविधान निर्माणमा असफल

सरकार र विद्रोही शक्ति दुवै पक्षको नेतृत्व गरेका उनीमाथि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, शहिद घोषणा, बेपत्ता परिवार र घाइते अपाङ्गता भएका परिवारलाई राहत दिने जिम्मा आएको थियो । त्यस्तै संविधान बनाउने, राज्य पुनर्संरचना गर्ने प्रमुख जिम्मेवारी उनकै थियो । विद्रोही शक्तिहुँदै प्रधानमन्त्री भएकाले परिवर्तनको पक्षमा प्रचण्ड नेतृत्वको सरकारबाट आम जनतामा अपेक्षा पनि थियो । उनको पहिलो कार्यकालमा जनअपेक्षाकृत काम केही गर्न सकेनन् । उनी आफैंले ९ महिने आफैं नेतृत्वको सरकारलाई झिलीमिलीको संज्ञा दिएका थिए ।

प्रधानसेनापति प्रकरण

०६६ मा सेनापति रूक्मांगद कटवाल प्रकरणमा उनले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए । खासमा उनले केही महिनामा अवकास पाउँदै गरेका कटवाललाई हटाउन चाहेका थिएनन् । तर पार्टीभित्र मोहन वैद्य र बाबुराम भट्टराईले कटवाललाई हटाउन निरन्तर दबाब दिएपछि उनले सेनापति हटाएर कुलबहादुर खड्कालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मा दिए । प्रचण्ड सरकारको निर्णयलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उल्टाइदिएका थिए । कटवाल काण्ड असफल भएपछि प्रचण्डले एकाएक राजीनामा घोषणा गरेका थिए । सरकारमा सहभागी एमाले र फोरमले समर्थन फिर्ता लिन देखिएपछि प्रचण्डले पहिले नै राजीनामा दिएपछि सरकार ढल्यो । अहिले आएर कटुवाल प्रकरणमा हात हाल्नु गल्ति भएको प्रचण्डले बताउँदै आएका छन् ।

पार्टी विभाजन

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि माओवादीभित्र विग्रह, विभाजन र अनेकौं झमेलामा उनी फस्दै गए । उनको शक्ति निरन्तर कमजोर हुँदै गयो । पार्टीभित्रको विवाद उत्कर्ष पुगेपछि ०६९ असारमा बैद्य, बादल र विप्लवसहितका ठूलो टिम पार्टीबाट अलग भयो । पार्टी विभाजनले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्वनाक हार ब्यहोर्यो ।

अहिले प्रचण्ड परिवर्तगामी जनतालाई विश्वास गर्नुहुन्न । पूर्वलडाकु, जनमुक्ति सेना, घाइते, अपाङ्गता भएका व्यक्तिहरूलाई विश्वास गर्नुहुन्न । उहाँ अहिले साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरूको घेरामा फसिसक्नुभएको छ । उहाँ अहिले महापतनको बाटोमा हुनुहुन्छ ।

२०७३ साउनमा ओली सरकार ढलेपछि दोस्रो पटक प्रचण्ड साउन २० मा प्रधानमन्त्री बनेका थिए । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले २०७४ को स्थानीय तह निर्वाचन गराएका थिए । आफ्नै नेतृत्वको सरकारले गराएको निर्वाचनमा माओवादीले अपेक्षाकृत सफलता पाउन सकेन ।

पारिवारिक शोक

राष्ट्रिय राजनीतिमा प्रचण्डको जति प्रभाव छ, त्यतिनै पारिवारिक रुपमा कमजोर देखिएका छन् । उनीमाथि परिवारवाद हावी भएको आरोप लाग्दै आएको छ ।

एकातिर जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति, शहिद तथा वेपत्ता परिवारले अहिले पनि व्यवस्थापन हुन सकेको छैन । राजकीय तथा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पनि छोरी–ज्वाँईं, बुहारी, भाइ, भतिजालाई काखी च्यापेर आरोप लाग्ने गरेको छ । जनयुद्धका कैयौं लडाकुहरू अझैपनि शरिरमा गोलीका छर्रा बोकेर बसेका छन् । सयौं पूर्वलडाकु अरबतिर भासिएका छन् ।

अर्कोतिर एउटा मात्र छोरा प्रकाशको मृत्यु भएको छ । जेठी छोरी ज्ञानुको पनि क्यान्सरबाट मृत्यु भएको छ । छोरा–छोरी गुमाएका पीडामा उनका श्रीमती गम्भीर प्रकृतिको रोगबाट लामो समयदेखि पीडित छिन् । यस्तै पारिवारिक माहोलले पनि प्रचण्डलाई थप तनाव र चिन्ता थपिदिएको छ । यस्तै तनावबाट थोरै राहत पाउन पनि उनी कहिले सिन्धुपाल्चोक, कहिले सिन्धुली जाने गरेका छन् ।

ओलीसँग शक्ति संघर्ष

०७४ को स्थानीय तह चुनावमा अनपेक्षित परिणामले तर्सिएका प्रचण्ड ०७५ मा एमालेसँग पार्टी एकता गरी आफूलाई पुनः शक्तिमा फर्काउने योजनामा थिए । निर्वाचनमा भागबण्डा गरी भाग लिएका वामपन्थी गठबन्धनले देशभर अत्याधिक बहुमत ल्याएको थियो । निर्वाचनपछि ओली शक्तिशाली प्रधानमन्त्री भए । कार्यकारी जिम्मेवारीसहित पार्टीको जिम्मेवारी आफूले पाउने प्रचण्डले अपेक्षा राखेका थिए । तर ओलीले सरकार र पार्टी दुवैमा हस्तक्षेप गरेपछि दुई शीर्ष नेताबीचमा शक्ति संघर्ष चर्कंदै गयो । नेकपा भित्रको विवादले उग्ररूप लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ मा हठात् संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरे । सो कदम अलोकतान्त्रिक र प्रतिगामी भएको निष्कर्ष निकाल्दै प्रचण्डले माधवकुमार नेपालसँग मिलेर ओलीलाई पार्टीबाट निष्कासन गरे ।

नेकपाभित्र दुई–तिहाइभन्दा बढी केन्द्रीय सदस्यको र संसदीय दलका बहुमत सदस्यको साथ पाएर हौसिएका प्रचण्ड ओलीलाई निष्कासन गरी नेकपा कब्जा गर्ने रणनीतिमा थिए । प्रचण्डको योजना सफल नहुँदै फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदियो । उक्त फैसलाबाट निकै निराश र हतास देखिए उनी । ओलीबाट अपमानित महशुस गरेका प्रचण्डका त्यसयता हरेक भाषणमा आक्रोश, कुण्ठा, निराशा र निरीहता भरिएको देखिन्छ ।

वामपन्थी नेता विश्वभक्त दुलाल आहुति शक्तिशाली प्रचण्डमा पछिल्लो समय उदासीनता बढ्नुमा उनको आफ्नो कर्मको फलको रूपमा चित्रण गरेका छन् ।

‘उहाँले युद्धका बेला दलित, उत्पीडित, जनजाति, मधेसी, महिला, पिछडिएका जनताहरूलाई आश्वासन बाँडेर युद्धमा होम्नुभयो । तिनकै बलमा शक्ति आर्जन गर्नुभयो । आफ्नो स्वार्थ पूरा भएपछि बीचबाटोमा अलपत्र पार्नुभयो’, उनले भने, ‘कहिले शान्ति र कहिले विद्रोहका कुरा गरेर कार्यकर्तालाई अलमलमा पर्नुभयो । कुनै अडानमा टिक्नुभएन । त्यसकै दुर्दशा अहिले भोगिरहनुभएको छ ।’

आहुतिले चित्रण गरेजस्तै प्रचण्डको अभिव्यक्तिलाई नेता तथा कार्यकर्ताले विश्वास गर्न छाडेका छन् । आफ्नै सहकर्मी र विपक्षी दलहरूलेसमेत प्रचण्डलाई अडान नभएका विश्वास गर्न नसकिने बेतुकको नेता भनेर टिप्पणी गरेका छन् । दुईपटक गरी १९ महिना सरकारको नेतृत्व गरेका प्रचण्डले व्यवस्था परिवर्तनमा सफलता पाउनुबाहेक अवस्था परिवर्तनमा केही गर्न नसकिएको उनको अभिव्यक्तिबाट झल्किन्छ । कांग्रेससँग गठबन्धन गरी आगामी निर्वाचन भाग लिने तयारीमा प्रचण्ड छन् । शान्ति प्रक्रियामा आएको १६ वर्षपछि पनि प्रधानमन्त्री बन्ने महत्वकांक्षा भने अझै उनले त्यागेका छैनन् ।