NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका–४, चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ ।

नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए ।

पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।