NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कञ्चनपुरमा डेंगु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

कञ्चनपुर । कञ्चनपुरमा डेंगु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा महँगो शुल्कमा डेंगु र स्क्रबटाइफस परीक्षण गराएको बताए । उनले निजी प्रयोगशालामा डेंगुका परीक्षणको एक हजार दुई सय रुपैयाँ र स्क्रबटाइफसको एक हजार रुपैयाँ तिरेको बताए ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेंगु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव रहेको जानकारी दिए । उनले अस्पतालमा दैनिक ३०/ ४० जना लक्षण भएका बिरामी आउने गरेको बताए ।

‘बिरामीको सङ्ख्या बढेको छ तर किट छैन, हामीसँग भएको किट पुग्दैन’, उनले भने, ‘महाकाली अस्पताललाई दैनिक ४० वटासम्म किट आवश्यक परेको छ ।’ महाकाली अस्पतालमा भदौमा मात्रै ३६ जनामा डेंगु र ३२ जनामा स्क्रब टाईफस सङ्क्रमण देखिएको छ । हाल डेंगुका सात र स्कब्रटाइफसका तीन जना बीरामी उपचाररत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको संख्या बढ्दै गएकाले किट अभाव भएको बताए । ‘जिल्लामा बिरामीको संख्या बढ्दै गएको छ हामीसँग पर्याप्त किट छैन’, उनल भने, ‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई किट उपलब्ध गराउन पत्राचार गरेका छौँ ।’

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार भदौमा मात्रै कञ्चनपुरमा ३२ जनामा डेंगु र २० जनामा स्क्रबटाइफस देखिएको छ । जिल्लामा सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिकामा १९ जनामा डेंगु र पाँच जनामा स्क्रबटाइफस देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार वेदकोट नगरपालिकामा एक, कृष्णपुरमा नगरपालिकामा तीन जना, बेलौरी नगरपालिकामा दुई, भीमदत्त नगरपालिकामा तीन र लालझाडी तथा बेल्डाडी गाउँपालिकामा चार जनामा डेंगु देखिएको हो । ‘कञ्चनपुरमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ, यसबाट सबैले सुरक्षित हुन जरुरी छ’ उनल भने, ‘अहिले भारत र काठमाडौँबाट आएकाहरुमा बढी जसो डेंगु देखिन थालेको छ ।’ उनले कञ्चनपुरमा डेंगु र स्क्रबटाइफसका बिरामी दिनहुँ बढ्दै गएको बताए ।

एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले बर्सातमा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेको लार्भा बस्ने र यसको वृद्धिबाट डेंगुको प्रकोप बढ्ने गर्छ ।

‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन’,उनल भने, ‘यसबाट बच्न विषादी छर्किर्ने र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ ।’ जिल्लामा सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालयले प्रत्येक नगरपालिकामा स्वयंसेविका परिचालन गरी लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्ने तयारीमा छ । (रासस)