NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

३५ वर्षदेखि सत्तामा रमाएका ती नेपाल, अरुलाई गाली गर्ने यी नेपाल

काठमाडौं । ३५ वर्षभन्दा बढी समययता सत्ता र शक्तिबाट नटाढिएका नेता माधवकुमार नेपाल यो हप्ता निक्कै चर्चामा आए । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिड्नै नसक्ने बुढाहरूलेसमेत टिकट दाबी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

गत बुधबार पार्टी निकट समाजवादी सहकारी संगठनको घोषणा कार्यक्रममा नेपालले असन्तुष्ट व्यक्त गरेका हुन् । नेपालको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भयो । उनको अभिव्यक्तिलाई लिएर एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता कुसन शर्माले अरुलाई भनिरहँदा आफ्नै अनुहार एकपटक हेर्ने हो कि भन्ने प्रतिक्रिया दिएका छन् । ‘कामरेड अरुलाई यसो भनिरहँदा एकपटक ऐनामा आफ्नो पनि मुहार हेर्ने होकी ?,’ उनले प्रतिक्रिया जनाए ।

अर्का माधव नामका प्रयोगकर्ताले अश्लिल भाषा प्रयोग गर्दै अरुलाई हिड्न नसक्ने भनिरहँदा दुई कदम हिड्न नसक्ने आफूले किन टिकटको दाबी गरेको भनेका छन् ।

त्यस्तै नील खड्काले नेपाल एमालेको महासचिव बन्दा र पहिलोपल्ट संसद छिर्दा बामे सर्दै गरेको शिशु नै हुर्किएर बिहे भई उसको बच्चा स्कूल जाने उमेरको भइसक्यो तरपनि आफूले अझै भूमिका पाइएन, अपमान गरियो भनेर पार्टी फुटाएको आरोप लगाएका छन् ।

खासमा उनको अभिव्यक्ति गठबन्धन दल र आफ्नै पार्टीभित्रका आकांक्षीप्रति लक्षित थियो । ७० वर्ष उमेर पार गरेका उनी आफैं आगामी निर्वाचनमा भाग दिँदै छन् । अवस्था, उमेर र समयको ख्याल नगर्दा उनको अभिव्यक्ति आत्मघाती बन्यो ।

यस्तो छ उनको अभिव्यक्ति

सबैलाई टिकट चाहिएको छ । टिकट नपाउने हो भने कतिजना फेन्ट हुने हो थाहा छैन । चाहना हेर्ने हो भने आकाश पुगेको छ । यसको ग्राफ हेर्ने हो भने कहाँभन्दा कहाँ पुगेको छ । सबै मान्छे काबिल भएर आएका छन् । को काबिल को काबिल छैनन् ? यो छुट्याउने आधार हामीले खोज्न सकिरहेका छैनौं । दाबी नगरे पनि हुन्थ्यो भन्नेले चर्को दाबाब दिएका छन् । उठेर दुई कदम हिड्न सक्दैन विचरा मर्ने बेलामा एक चोटी त पाउँ । अरु केही भएन भने नामसम्म टाँसी पाउँ भनिराछन् । कस्तो गाह्रो । मानिसको जात अनि त्यसभित्र देखा परेको व्यक्तिवादले कम्युनिस्ट पार्टीलाई पनि गाँज्न थालेको छ । कांग्रेसमा मात्र समस्या होला भनेको त कम्युनिस्ट पार्टीमा पनि देखिन थालेको छ । यी सबैको समाधान खोज्नै पर्छ ।

नेपालले टिकटका आकांक्षीमाथि भद्दा मजाक गर्दै गर्दा त्यो प्रश्न आफैमाथि ठोकिन आउँछ भन्ने हेक्कै राखेनन् । उनी तिनै नेता हुन् २०३५ सालदेखि केन्द्रीय नेतृत्वमा रहँदै आएका छन् । यो भनेको झण्डै ४५ वर्षको अवधि हो । तर ४५ वर्ष अघि नै शक्तिमा रहेका नेपाललाई अझै सांसद हुनुपरेको छ ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक उपप्रधान तथा रक्षा र परराष्ट्रमन्त्री बन्दा उनको उमेर जम्मा ४२ वर्ष भएको थियो । जुन झण्डै ३० वर्ष अघिको हो । अर्थात् ३० वर्ष अघि नै उपप्रधानमन्त्री भइसकेका नेपालको दाबी अहिले सांसद उठ्नुमा छ ।
२०५० साल जेठ ३ मा तत्कालीन महासचिव मदनकुमार भण्डारीको रहस्यमय निधनपछि कार्यबहाक महासचिव बन्दा उनी ४१ वर्षका थिए । त्यसपछि २०५४ र ०५९ मा दुईपटक एमाले महासचिवमा निर्वाचित भएका थिए । २०६४ सालमा पार्टीले अनपेक्षित पराजय भोगेपछि पार्टी महासचिवबाट राजीनामा दिएका थिए । एकतिर नैतिकता देखाउँदै राजीनामा दिने अर्कोतर्फ दुई निर्वाचन क्षेत्रबाट पराजित भएका व्यक्ति संवैधानिक समितिका सभापति, संविधानसभा सदस्य र प्रधानमन्त्रीसमेत बन्न पुगे । तर आजकाल उनी नेता नेपाल आदर्शको राजनीति फलाक्न थालेका छन् ।

दुई दुई ठाउँबाट पराजित भएपछि प्रधानमन्त्री भएको भन्दै आलोचना भएको थियो । समकालीन नेतामा सादगी र इमान्दार नेता मानिएका उनलाई जनमत विपरी राजकीय पदको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । त्यस्तै १५ वर्ष महासचिव भएका व्यक्ति आठौं र नवौं महाधिवेशनमा अध्यक्षको आकांक्षी थिए । काठमाडौंमा भएको नवौं महाविधेनमा उनी केपी ओलीसँग पराजित भएका थिए । उनीमाथि पद र शक्तिको लागि असीमित लालशा देखाएको ओलीपक्षले आरोप लगाउँदै आएका छन् । गतवर्ष एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका अध्यक्ष आफैं भए । एमाले अध्यक्ष ओलीले त एमाले विभाजनको प्रमुख योजनाकार रहेको आरोप लगाउँदै नेपाललाई क्षमा नदिने बताएका छन् । सार्वजनिक खपतका लागि पुस्तान्तरणको कुरा गरेपनि व्यवहारमा लागु गर्न उनी चुकेका छन् । आगामी निर्वाचनमा पनि उनी रौतहट–१ बाट निर्वाचनमा भाग लिने तयारी गरेका छन् ।

यसरी राजनीतिक सक्रियताको हिसाबले ५० औं वर्ष उनले व्यतित गरिसकेका छन् । यही क्रममा उनी सांसद, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री बनिसकेका छन् । बलियो र चर्चित पार्टीको नेतृत्व गरिसकेका छन् । अर्थात् विगत ३५ वर्षदेखि केही न केही हिसाबमा नेपाल शक्ति र सत्ताको वरिपरी छन् । राजनीतिमा सम्भव हुने उच्च पद लिनबाट नेपाल बञ्चित हुनुपरेको छैन । तर यो सत्ताबाट टाढिने सुरमा छैनन् । बरु अरुलाई गाली गरेर आफैं फेरि एकपटक शक्तिको लाभ उठाउनेमा छन् ।

अरुलाई गाली गर्दै गर्दा राजनीतिमा लागेर अब पाउन बाँकी केही नभएका नेपाललाई यस्ता अभिव्यक्तिले कति इज्जत देला ? वा बेइज्जत ?

राजनीतिमा बहस पुस्तान्तरण र रुपान्तरणको चलिरहेको छ । सत्ता र शक्तिको तुजुकमा राज्यसंयन्त्रलाई नै धावा बोेलेको भन्दै आफैंले लामो राजनीतिक योगदान गरेको एमालेमा नेपालले विद्रोह पनि गरे । साँँच्चै आदर्शको राजनीति गरेका थिए भने अब नयाँ पुस्तालाई राजनीतिक प्लेटफर्म दिनुपर्छ म ७० को बुढो अब संरक्षक बन्छु भन्नुपर्ने हो । तर अरुलाई गाली गरेर आफैं फेरि उच्च राजनीतिक पद हत्याउने मनसाययुक्त भाषणमा नेपाल लीन भएका हुन् । जुन बिडम्वनापूर्ण अवस्था हो ।

को हुन् माधव ?

२००९ फागुन २३ गते रौतहट–३, गौरमा जन्मिएका नेपालले स्थानीय श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरेका थिए । २०३० सालमा त्रिभुवन विश्वविद्यालयबाट उनले वाणिज्यशास्त्रमा स्नातक गरे । २०२२ सालदेखि कम्युनिस्ट राजनीतिमा लागेका थिए । त्यतिबेला उनको उमेर जम्मा १३ वर्षको थियो । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए ।

२०२८ नेपाल क्रान्तिकारी संगठन (माले) मोरङका सदस्य भए । २०३२ मा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले) संस्थापक सदस्य भएका थिए । २०३५ मा मालेको संस्थापक तथा पोलिट्ब्युरो सदस्य भए ।

२०३५ देखि २०५० सम्म विदेश विभाग प्रमुख भए । २०४७ मा एमाले पोलिटब्युरो सदस्य भए । २०४८–२०५५ सम्म विपक्षी दलका नेता भए । २०५१–०५२ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री भए । २०५० जेठ देखि ०६५ वैशाखसम्म एमाले महासचिव भए ।

२०५६ मा रौतहटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०५६ मा प्रतिनिधिसभामा विपक्षी दलका नेता भए । २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–१ र रौतहट–१ दुवै स्थानबाट पराजित भए । २०६५ मा संविधानसभा सदस्य तथा संवैधानिक समितिका सभापति भए । २०६६ जेठ ९ गते प्रधानमन्त्री भए । एक छोरा र एक छोरीका पिता रहेका उनले नेपालको ७७ जिल्ला भ्रमण गरेका छन् । विदेश विभाग प्रमुख रहेकै अवस्थामा उनले भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायतलगायत झण्डै ५० देशको भ्रमण गरेका छन् ।

यसरी आफ्नो धरातल बिर्सिएर विपक्षीमाथि नैतिकताको प्रश्न उठाउन ध्यान नदिँदा सामाजिक सञ्जालमा नेताहरू दिनहुँ ‘ट्रोल’को शिकार बन्ने गरेका छन् ।