NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चोलेन्द्रपुत्रीको बयान– मान्छे मारेर लुकाएजस्तो व्यवहार भयो, स्कुलबाट केटाकेटी ल्याउन पनि दिइएन

बिहान हाम्रो निवासको अवस्था सामान्य थियो, अन्य दिनजस्तै । १० बजे अदालत जाने कुरा भएपछि भने अवस्था एकाएक परिवर्तन भयो । एकैपटक आक्रामक शैलीमा हाम्रो निवासबाहिर प्रहरी भेला हुनुभयो । हामीलाई बाहिर निस्किन पनि दिइएन । अहिले पनि अवस्था त्यस्तै छ । वास्तवमा अहिले हामीलाई नजरबन्दमै राखिएको छ ।

भित्रको मान्छेलाई बाहिर आउन दिइएको छैन । बाहिरबाट भित्र जान भने दिइएको छ । विद्यालय गएका केटाकेटी ल्याउनसमेत हामीलाई अवरोध गरियो । एक जना घरमा काम गर्ने व्यक्ति विद्यालय छुट्टीपछि केटाकेटी लिन निस्किनु भएको थियो तर उल्टै अराजकता मच्चाएको आरोपमा लगेर थुनिएको छ । बिरामी बच्चालाई औषधि लिन बाहिर जानुपर्नेछ, तर बाहिर निस्किन दिइएको छैन । घरमा आएका मान्छेलाई पनि किन आएको भनेर सोधी खोजी भइरहेको छ । वास्तवमा मान्छे मारेर लुकाएजस्तो व्यवहार हामीमाथि गरिएको छ । हामीलाई पनि बाँच्न पाउने अधिकार छ । यो अराजकताको पनि पराकाष्ठा भयो ।

के कारणले उनीहरूले यस्तो व्यवहार गरिरहेका छन्, हामीले बुझ्न सकेका छैनौं । आफ्नो अपराध कर्म लुकाउन यस्तो गरिएको हो भने यसको नतिजा उहाँहरूले छिट्टै पाउनुहुनेछ ।

बुवाको स्वास्थ्य स्थिति खराब छ, सुतिरहनु भएको छ । त्यसैले अहिलेसम्म दोहोरो कुरा भएको छैन । बाहिर जे जति गतिविधि भइरहेका छन्, त्यसबारे पनि केही भनेका छैनौं ।

केही समयअघि मानव अधिकार आयोगको टोली आएको थियो । उहाँहरूसँग के कुरा भयो हामीलाई थाहा छैन । सायद सरकारको रवैयाबारे कुरा भयो होला ।

लाज र नैतिकता हराएर हामीमाथि अन्याय र अत्याचार भइरहेको छ । यी सबै कुरा नेपाली जनताले बुझिदिनुपर्छ । सञ्चारमाध्यममार्फत हामी आमनेपालीलाई ‘यो देश र अदालतको माया छ भने उठेर आइदिनुहोस्’ भन्न चाहन्छौं ।

यतिबेला सिंगो सरकार नै हामीविरुद्ध लागेको छ । हाम्रो सम्पूर्ण हाटकुट्टा बाँधिएको छ । यस्तो स्थितिमा के उपचार गर्न सक्छौं हामी ? हाम्रो आधार भनेकै नेपाली जनता हुन् । त्यसैले आमनागरिकले सोसल मिडियामा मेसेज स्क्रोल गरेर भएन, सही र गलत के हो, बुझेर खरबरदारी पनि गरिदिनुपर्यो । कार्यपालिकाको हस्तक्षेपले नेपाल नै नरहने स्थिति बनेको छ । यदि देशको माया छ, सन्ततिलाई के दिने भन्ने मोह छ भने जनता आइदिनुपर्यो ।

बारमा गुण्डा ल्याएर राखिएको छ । प्रधानन्यायाधीशलाई छिर्न नदिने, आएमा हातपात गर्ने र भिड्ने कुरा वकिलहरू गरिरहेका छन् । उहाँहरू वकिल हो कि कुस्ती लड्ने पहलमान् ? मैले बुझ्न सकेको छैन ।

बार त बार नै होइन । यसको त नामै लिन पनि मन लाग्दैन । कुनै मान्छे कालो कोर्ट लगाएर हिँड्यो भने पनि हामीलाई नराम्रो लाग्न थालिसक्यो ।

नेपाली जनतालाई हाम्रो बिन्ती छ, तपाईंहरूले न्यायालय बचाइदिनुपर्यो । रमण श्रेष्ठ, शम्भु थापा, चण्डेश्वर श्रेष्ठजस्ताको कब्जाबाट नेपाल बार, सर्वोच्च अदालतलगायत सम्पूर्ण न्यायालयलाई मुक्त गरिदिनुपर्यो । उहाँहरूको कब्जामा न्यायालय पुग्दा जिउँदै पशुपतिमा जलेको जस्तो अवस्था बन्ने छ । त्यसैले कब्जामा पर्नबाट जोगाउनुपर्यो ।

(निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधि राणासँगको कुराकानीमा आधारित)