NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रेशम चौधरीको माननीय बनेर संसद् प्रवेश गर्ने सपना यसरी तुहियो

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा देशभर एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवारअत्याधिक मतसहित निर्वाचित भएका थिए । तर कैलाली–१ मा प्रहरीको फरार सूचीमा रहेका रेशमलाल चौधरी फराकिलो मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । देशभर प्रभावशाली बनेकाे गठबन्धनवीरूद्द चाैधरीले अस्वाभाविक जित निकालेका थिए । तत्कालीन संघीय समाजवादीबाट उम्मेदवार रहेका उनी निर्वाचन न आफैं प्रचारप्रसार निस्किए न आफैंले उम्मेदवारी दर्ता गरे ।

थरुहट–थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर झडपमा उच्च प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको त्रासदीपूर्ण घटनाका मुख्य अभियुक्त थिए उनी । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनले भूमिगत अवस्थामै निर्वाचन जितेपछि चौधरीको सांसद पद के होला ? उनी संसद् भवन जान्छन् कि जाँदैनन् ? प्रहरीले पक्राउ गर्ला कि नगर्ला जस्ता विषयले सर्वत्र चासो उत्पन्न गराएको थियो ।

चौधरी ३४ हजार ३४१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मदनकुमारी साहको १३ हजार ४०९ मत आएको थियो । उनको मतान्तर २० हजार ९३२ थियो । कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २०३ मतसहित तेस्रो स्थानमा खुम्चिएकी थिइन् । भूमिगत अवस्थामै परम्परागत राजनीतिक दलका उम्मेदवारलाई अत्याधिक मतले पराजित गरेपछि उनी त्यतिबेला थप चर्चामा आएका थिए ।

सञ्चारकर्मी, कलाकार, गायक, खेलाडी र थारू अगुवा रहेका चौधरी कैलालीको जानकी गाउँपालिका–६ स्थित गुगौलीमा २०३४ सालमा जन्मिएका थिए । त्रासदीपूर्ण टिकापुर नरसंहारबाट उनको परिचय मुख्य अभियुक्तमा फेरियो । तर भूमिगत अवस्थामै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि १४ फागुन ०७४ मा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे ।

चौधरीसहित थारु नेताहरूलाई अदालतले पुर्पक्षका लागि जेल पठाउने फैसला गर्यो । पछि उनीसहित ११ जनालाई घटनाको मूख्य दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनायो । उनलाई ३ वैशाख ०७५ मा राजधानीको डिल्लीबजार सदरखोरमा ल्याइयो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनका लागि उच्च अदालत दिपायलमा निवेदन दिएका थिए । २०७७ पुसमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गर्यो । उनीसहित ११ जना अभियुक्तमध्ये ७ जनालाई जन्म कैदको फैसला सुनायो ।

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा उनले पुनरावेदन दिए । उनीमाथिको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन रहेको छ । यद्यपि उनको कार्यकाल सकिसकेको छ । सर्वोच्चले उनलाई सफाइ दिएपनि चौधरी माननीय बनेर संसद भवन छिर्ने सपना तत्कालका लागि अन्त्य भएको छ । संघीय संसदको पाँच वर्षे कार्यकाल असोज १ मा सकिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारदेखि निर्वाचन प्रक्रिया सुरू भएको छ ।

कैलाली–१ का मतदाताले रेशमलाई माननीय बनाएपनि उनको अपराधकर्मका कारण संसद प्रवेश गर्ने सपना पाँच वर्षमा एक दिन पनि जुरेन । निर्वाचित भएको पाँच वर्षसम्म एकपटक पनि संसद भवन टेक्न नपाइ कारगारभित्रै कैदी सांसद भएर बित्यो ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले निर्वाचित भएको एक वर्षपछि २२ मंसिर ०७५ मा चौधरीलाई कृषि सहकारी समितिको हलमा

सपथग्रहण गराएका थिए । शपथग्रहणसँगै उनले आफू छुट्ने र संसद् टेक्न पाउने सपना बोकेका थिए । तर शपथग्रहण र लोगो लगाइसकेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिइसकेपछि प्रहरीले उनलाई हतकडी लगाए । त्यसपछि छाँगाबाट खसेजस्तै भएका जनप्रतिनिधिको लोगो कोटको किनारामा टाँसेर उनी कारागार फर्किका थिए ।

के हो टीकापुर काण्ड ?

नयाँ संविधान निर्माण प्रकृया अन्तिम चरणमा प्रवेश गर्दै गर्दा थरुहट–थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन चर्किएको थियो । त्यसलाई उकास्ने काम तत्कालीन मधेशकेन्द्रित दल राजपा, संघीय समाजवादी फोरमलगायत दलले गरेका थिए । त्यही आक्रोशित थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

२ वर्षका बालक टेकेन्द्र साउदको पनि आक्रमणमा परी मत्यु भएको छ । छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर १० औं हजारको संख्यामा आन्दोलनकारीले बितण्डता मच्चाएका थिए । आन्दोलनकारीले जनपथ प्रहरीका एसएसपी न्यौपाने, इन्सपेक्टरद्वय बलराम विष्ट, केशव बोहोरालाई भाला रोपी हत्या गरेका थिए । शसस्त्र प्रहरीका हवल्दार रामबिहारी थारुलाई आगो लगाएर हत्या गरेका थिए, सहायक हबल्दार ललित साउदलाई छुरा र भाला प्रहार गरी हत्या गरेका थिए । हिंसात्मक झडपका क्रममा गोलीका छर्रा लागि बालक साउदको मृत्यु भएको थियो ।

त्यस घटनाका मुख्य अभियुक्त रेशमसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ मा जन्मकैदको फैसला सुनाएको थियो ।