NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसका यी प्रभावशाली नेता नै समानुपातिकमा, को–को पर्दैछन् समानुपातिकमा कांग्रेसबाट ?

काठमाडौं । कांग्रेसले केही प्रभावशाली नेताहरूलाई यसपटक समानुपातिक सूचीमा राख्ने भएको छ । यस अघि सिफारिस गर्दा समानुपातिकतर्फ परेका विमलेन्द्र निधिदेखि आरजु राणासमेतको नाम समानुपातिकतर्फ पर्ने निश्चित जस्तै भएको हो । निधि गत चुनावमा राजेन्द्र महताेसँग पराजित भएका थिए ।

यस अघि कैलाली ५ बाट उठ्ने चर्चामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजु राणा थिइन् । तर बन्द सूची बुझाउने समय अन्तिमतिर पुग्दा आरजु पनि प्रत्यक्षमा नउठी समानुपातिकमा बस्ने तयारीमा पुगेकी हुन् ।

कांग्रेसले अघिल्लोपटक प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सांसद भएका बाहेकलाई यसपटक समानुपातिकमा समेट्ने तयारी गरेको छ । यसैले मापदण्ड पुग्ने निधि, आरजु समानुपातिकमा बस्ने तयारी भएकाे बालुवाटार स्राेतकाे भनाइ छ ।

दुई सहमहामन्त्री फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकको सूचीमा पर्ने भएका छन् । मन्सुर अघिल्लोपटक प्रत्यक्षमा जितेका थिए । परियार प्रदेशसभामा पराजित भएका थिए ।

यी बाहेक अघिल्लोपटक स्याङजाबाट पराजित भएका गोपालमान श्रेष्ठ पनि समानुपातिकमा बस्ने भएका छन् ।

अन्तिम सूची तयार गर्दै नेताहरू बालुवाटारमा

कांग्रेसका प्रभावशाली नेताहरू समानुपातिक बन्द सूची तयार गर्न बिहानैदेखि बालुवाटारमा भेला भएका छन् । प्रदेश र प्रतिनिधिसभातर्फ बन्द सूची बुझाउने अन्तिम दिन भएकोले नेताहरू छलफलमा जुटेका हुन् । पछिल्लो तीनचार दिनयता नेताहरू यो सूची तयार गर्न जुटे पनि सहमतिमा पुगेका पुगेनन् ।

कांग्रेसले सकेसम्म लोकप्रिय र विवादरहित नेतालाई समानुपातिकतर्फ पार्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई समानुपातिकमा नसमेट्ने मापदण्ड कांग्रेसको छ । अघिल्लोपटकका समानुपातिक प्रदेश र प्रतिनिधिसभामा दोहोरिन पाउने छैनन् । तर २०६४ र २०७० को चुनावमा समानुपातिकमा परेकाले फेरि पनि अवसर पाउनेछन् ।

धेरै संख्यामा सिफारिस भएर आएपछि कांग्रेसले क्लस्टरबाट निर्वाचित सहमहामन्त्रीलाई सूची तय गर्न जिम्मा नै दिएको थियो । यही सिफारिसमध्येबाट कांग्रेसले लोकप्रिय र चर्चित अनुहाररलाई समानुपातिकमा समेट्दैछ ।