NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कीर्तिमानी रुसी अन्तरिक्ष यात्रीको निधन

काठमाडौं (एजेन्सी) । अन्तरिक्षमा लामो समय बसेर कीर्तिमान बनाएका रुसी अन्तरिक्ष यात्रीको निधन भएको छ ।

रुसी अन्तरिक्ष यात्री वलेरी पोल्याकोवको ८० वर्षको उमेरमा निधन भएको रुसी अन्तरिक्ष एजेन्सीले पुष्टि गरेको छ । उनको मृत्युको कारण भने खुलेको छैन ।

उनले सन् १९९४ बाट ४३७ दिन मिर अन्तरिक्ष स्टेशनमा बिताएका थिए। त्यसक्रममा उनले सातपटक पृथ्वीको परिक्रमा गरेका थिए ।

त्यसक्रममा उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपरेको खण्डमा मानिसहरूले मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गरेका थिए । तर १४ महिनाको दौरान उनको कार्यशैलीमा कुनै परिवर्तन आएन ।

यो अनुसन्धान गरेबापत उनलाई हिरो अफ द सोभियत युनियनलगायत उपाधि दिइएको थियो ।

अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले टेलिग्राममा एक पोस्ट् गर्दै पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम रहेको पत्ता लागेको जनाएको छ ।

सन् १९४२ मा मस्कोको तुला सहरमा पोल्याकोवको जन्म भएको थियो । पेशाले चिकित्सक उनी पछि अन्तरिक्ष यात्री बने ।

उनको पहिलो मिशन १९८८ अगस्टमा सुरु भएको थियो । त्यसक्रममा उनले ८ महिना अन्तरिक्षमा बिताएको बिबिसी समाचारमा उल्लेख छ ।

त्यसको ६ वर्षपछि उनले गरेको यात्रा सबैभन्दा लामो रह्यो जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।