NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्तासाझेदार दलको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे छलफल हुने

काठमाडौं । सत्तासाझेदार दलको बैठक आज पनि बस्ने भएको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभाको सिट बाँडफाँट टुंग्याउन लगातार छलफलमा रहेका सत्तासाझेदार दल आज पनि यसमा जुट्ने भएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा तय छ ।

सत्तासाझेदार दल निर्वाचन क्षेत्रसहित भागबण्डालाई अन्तिम रूप दिने योजनामा छन् । सिट संख्यामा मोटामोटी सहमति बने पनि क्षेत्रमा बढी सकस परेको बताइएको छ । एउटै क्षेत्रमा एकभन्दा बढीले आकांक्षा देखाएपछि यसको व्यवस्थापन सत्तासाझेदार दलका लागि पेचिलो बनेको हो ।

सत्तासाझेदार दलका नेताहरूका अनुसार, आजको बैठकमा विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम र अबका विकल्पबारे पनि छलफल हुनेछ ।

संघीय संसदबाट पारित भई आएको विधेयक पहिलोपटक प्रमाणीकरण नगरी फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई छ । तर दोस्रोपटक प्राप्त विधेयक भने राष्ट्रपतिले पारित गर्नैपर्ने प्रावधान संविधानमा छ ।  तर राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्राप्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न इन्कार गरेकी छन् । मंगलबारसम्म उक्त विधेयक प्रमाणीकरण गर्नुपर्नेमा त्यसमा प्रबन्ध गरिएका प्रावधानप्रति असहमति जाहेर गर्दै भण्डारीले त्यसलाई रोकेकी हुन् । यसले संवैधानिक अन्योलता उत्पन्न गराएको छ ।

यसबारे कसरी अघि बढ्ने भन्नेबारे बुधबारको बैठकमा छलफल हुने सत्तासाझेदार दलका एक नेताले जानकारी दिए ।