NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १५ गते

एमालेका यी १४ जना पदाधिकारी प्रत्यक्षतर्फ भिड्दैः काे सुरक्षित, काे असुरक्षित ?

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पदाधिकारीलाई प्रत्यक्षतर्फ उठाउने नीति लिएको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको उसले अबको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रीत गरेको छ । अघिल्लो वर्षको तुलनामा योपटक एमालेले नयाँ र युवा पुस्तालाई प्राथमिकतामा राखेर मापदण्ड बनाएको छ भने क्षमतावान र पदाधिकारीमा रहेका सबैलाई प्रत्यक्षतर्फ उठाउने तयारी गरेको एक पदाधिकारीले बताए ।

‘सोमबार आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा पदाधिकारीबाहेक अन्यलाई राखेका छौं । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नयाँलाई प्राथमिकता दिने पार्टीको निर्णय भएकाले त्यसैअनुसार बन्दसूची बुझाएका हौं’, पदाधिकारीका एक सदस्यले भने, ‘असोज १६ सम्म थपघटको समयसीमा रहेकाले केही सदस्य फेरबदल हुन सक्छ । अहिलेको अवस्थामा समानुपातिकतर्फ बन्दसूचीमा उच्च तहका नेतामा रघुजी पन्तमात्र परेका छन् ।’

भदौ ११ मा बसेको एमाले केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका कार्य क्षमता, विकास, सुशासनप्रति राम्रो दृष्टिकोण, लोकप्रियता, चुनावमा जित्ने आधार र पार्टीप्रति निष्ठाका साथै सन्तुलन तथा समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाएको थियो । अघिल्लोपटक निर्वाचितको हकमा जनप्रतिनिधिले काम गरेको आधारमा मुल्यांकन गरिने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फ बुझाएको बन्दसूचीमा १९ पदाधिकारीमध्ये एक जना पनि परेनन् । अघिल्लो पटक काठमाडौं–८ ‘ख’बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले योपटक प्रत्यक्ष तथा समानुपातिक दुवैमा चासो देखाएकी छैन । यसअघि काठमाडौं–८ बाट निर्वाचन जित्दै आएकी उनले आफूभन्दा कनिष्ठ नेता राजेश शाक्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेकोमा असन्तुष्ट रहेको बुझिएको छ ।

यद्यपि उम्मेदवार बन्नका लागि रुचि नदेखाएपनि चुनावी कमाण्ड भएर पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्ने घोषणा गरेका छन् । अघिल्लो निर्वाचनमा समानुपातिक उम्मेदवार रहेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि निर्वाचनमा उठ्ने नउठ्नेबारे चासो देखाएका छैनन् । यसैगरी उपाध्यक्ष रामबहादुर थापा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ परेका छैनन् । गण्डकीका पूर्वमुख्यमन्त्री तथा उमहासचिव पृथ्वीसुब्बा गुरुङ योपटक पनि प्रदेशसभामै दोहोरिने भएका छन् । अघिल्लोपटक उनी लमजुङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, अघिल्लो निर्वाचनमा समानुपातिकबाट उम्मेदवार रहेका सचिव विष्णु रिमाल पनि प्रत्यक्ष र समानुपातिक दुवैमा अटाएका छैनन् । अध्यक्ष केपी ओलीसहित बाँकी पदाधिकारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उम्मेदवार छनोट गर्ने अधिकार केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई दिएकाले मनोनयनपत्र दर्ता गर्ने समयसीमासम्म केही फेरबदल हुनसक्छ ।

२०७४ सालमा माओवादीसँग मिलेर एमालेले कांग्रेसलाई नमिठो हार चखाएको थियो । तर यसपटक एमालेविरुद्ध सत्तारुढ पाँच दल मिलेर चुनाव लड्ने भएपछि सम्भावित परिणाम पहिलेको जस्तै रोचक हुने अनुमान गरिएको छ । गत निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता नै पराजित भएका थिए । त्यही रूप यसपटक एमालेमा सर्ने हो कि भन्ने देखिएको छ ।

अघिल्लोे निर्वाचनमा ठूला वामपन्थी एमाले–माओवादी गठबन्धनले प्रत्यक्षमा १७५ सिटसहित अत्याधिक बहुमत ल्याएको थियो । त्यतिबेला वाम गठबन्धनसामु निकै निरीह देखिएको कांग्रेस ६३ सिटमा खुम्चिएको थियो । योपटक परिस्थिति उल्टिएको छ । अघिल्लो पटक कांग्रेसले भोगेको नियति एमालेले भोग्ने धेरैको अनुमान छ । आगामी निर्वाचनमा भरपर्दो शक्तिसँग सहकार्य गर्ने भनिएपनि उसले अहिलेसम्म भरपर्दो शक्ति फेला पारेको छैन । राप्रपाबाहेकका दललाई सत्तारुढ दलले समेट्ने देखिएको छ । यसले एमालेलाई एक्लै चुनाव लड्न झन् दबाब बढेको छ ।

यसपटक एमालेबाटै विद्रोही बनेको एकीकृत समाजवादीलेसमेत एमालेलाई हराउन यसपटक महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । अघिल्लो निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत र स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले पाएको मतका आधारमा एमालेका अध्यक्ष ओलीबाहेक अन्य पदाधिकारीको स्थिति सन्तोषजनक देखिएको छैन । पदाधिकारीमध्ये शाक्य, ज्ञवाली, थापा र रिमालको उम्मेदवारीबारे एमालेले विशेष निर्णय गर्नुपर्नेछ । गुरुङ प्रदेशसभामै थन्किएकाले बाँकी १४ जना पदाधिकारी साविक क्षेत्रबाट नै निर्वाचन लड्ने पक्कापक्की भएको छ ।

को कति सुरक्षित ?

केपी ओली

एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट गत निर्वाचनमा सबैभन्दा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए । उनले त्यतिबेला ५७ हजार १३९ मत ल्याएका थिए । ओलीको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो ।
देशभर माओवादीसँग भागबण्डा गरेका ओलीले आफूमाथि षड्यन्त्र हुनसक्ने भयका कारण राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँगसमेत तालमेल गरेका थिए ।

एमालेसहित माओवादी र राप्रपाको संयुक्त मतको आधारमा ओलीे अत्याधिक मत ल्याउन सफल भए । राजनीतिमा चलाख देखिएका ओलीले आफ्नो सिट सुरक्षित गर्न क्षेत्र नं. ३ मा लिङ्देनलाई छोडे । ताकि त्यतिबेला माओवादी र राजमोबाहेक अन्य दलसँग चुनावी तालमेल गर्ने नीति नै थिएन । त्यसअघि २०७० क्षेत्र नं. ७ बाट निर्वाचित ओली २०६४ मा भएको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङदेनसँग पराजित भएका थिए । लिङदेन गत निर्वाचनदेखि कांग्रेसमा प्रवेश गरेका छन् । टिकट पाए यसपटक ओलीविरुद्ध नै उठ्ने तयारीमा लिङदेन छन् । ओलीलाई हराउँदा लिङदेन मात्र २५ वर्षका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ४१ हजार ६१९ मत पाएको छ । यो वडाध्यक्षले पाएको मत हो । त्यस्तै वडाध्यक्षमा कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७७८, नेकपा एसले १९८८, राप्रपाले ८ हजार ३५३ मत पाएको छ । गठबन्धनको जम्मा मत ३४ हजार ७८८ रहेको छ । एमाले ६ हजार ८३१ ले अगाडि देखिन्छ । यो मतमा पनि एमाले अगाडि देखिएकोले केपी ओलीलाई राप्रपाबाहेकका सबै दल एक ठाउँमा उभिंदा पनि चुनाव जित्न कठिन हुने देखिएको छैन । तर प्रतिनिधिसभाको चुनावमा मत खस्ने फरक परिस्थिति र स्वतन्त्र दलले भोट काटे परिस्थिति अर्कै हुन सक्नेछ ।

ईश्वर पोखरेल

अघिल्लोपटक माओवादीको सहयोगमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । गठबन्धनको मतान्तर ९ हजार ८६० रहेको छ । त्यसअघि २०७० सालमा कांग्रेसका नेता नरहरि आचार्यसँग पोखरेल पराजित भएका थिए । उनै पोखरेललाई आगामी निर्वाचनमा विरासत कायम राख्न चुनौतिपूर्ण देखिन्छ ।

यसै वर्षको स्थानीय तह निर्वाचनमा काठमाडौं ५ मा एमालेका वडाध्यक्षले पाएको मत १९ हजार ७०३ छ । यो क्षेत्रमा वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले १४ हाजर ८५३, माओवादीकाले १ हजार १६८, एसका १ हजार ८२७, राप्रपाकाले २ हजार ८२२ मत पाएका छन् । गठबन्धनको जम्मा मत १७ हजार ९०६ रहेको छ । तर पनि यहाँ एमाले १७९७ मतले अगाडि देखिएको छ । यो क्षेत्रमा यसपटक देखिएका धरै स्वतन्त्रका उम्मेदवारले पनि भोट काट्ने सम्भावना धेरै छ । यसपटक कांग्रेसले चर्चित र लोकप्रिय उम्मेदवार काठमाडौं ५ बाट उठाउने तयारी गरेको छ । यसैले मतमा अगाडि भए पनि पोखरेललाई यो क्षेत्रमा चुनौती कम छैन ।

विष्णुप्रसाद पौडेल

एमालेका प्रभावशाली उपाध्यक्ष रहेका विष्णुप्रसाद पौडेल अघिल्लोपटक रुपन्देही–२ बाट निर्वाचित भएका थिए । गत निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । पौडेलको मतान्तर २२ हजार ६३ रहेको थियो ।
यस वर्षको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षबाट ३३ हजार १८७ मत बटुलेको छ । कांग्रेसले ३४ हजार ९५९, माओवादीले ३ हजार १८८, नेकपा एसले १ हजार ३८२, जसपाले १८३, राप्रपाले ३ हजार ९२० पाएको छ । गठबन्धनको जम्मा मत ३९ हजार ७१२ छ । यो निर्वाचनमा गठबन्धन ६ हजार ५२५ मतले अगाडि छ । राप्रपाको साथ लिन सके एमालेलाई केही सहज हुन सक्ने देखिन्छ ।

सुवासचन्द्र नेम्बाङ

संविधानसभा अध्यक्ष तथा पूर्वसमामुखसमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ एमालेभित्र निकै कुटिल नेता मानिन्छन् । ओलीका विश्वासिला नेता रहेका उनी हरेक प्रश्नको सीधा जवाफ दिंदैनन् । जहिल्यै घुमाउरो हिसाबमा मात्रै बोल्छन् । अघिल्लोपटक इलाम–२ निर्वाचित भएका उनले ३६ हजार ५१७ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत पाएका थिए । उनको मतान्तर ९ हजार ६५२ रहेको छ । योपटक पनि उनी साविक क्षेत्रबाट नै सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेको ३२ हजार ५२७ मत यो क्षेत्रको वडाध्यक्षतर्फ आएको छ । कांग्रेसको ३२ हजार ९७८, माओवादीको २७१७, जसपाको ५५४ र नेकपा एसको २७७ मत आएको देखिन्छ । गठन्धनको जम्मा मत ३६ हजार ५२६ रहेको छ । गठबन्धन दल ३ हजार ९९९ मतले अगाडि छ । चार हजार मतले पछाडि रहेका नेम्वाङलाई चुनाव जित्न पनि सहज छैन ।

सुरेन्द्र पाण्डे

२०७४ मा चितवन १ बाट निर्वाचित भएका उपाध्यक्ष सुरेन्द्र पाण्डे योपटक त्यहीँबाट दोहोरिन चाहेका छन् । अघिल्लोपटक उनी ५१ हजार ८० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए । पाण्डेको मतान्तर १५ हजार ७२० रहेको थियो ।

त्यस्तै स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षतर्फ ३९ हजार ६०६, कांग्रेसले ३६ हजार ७८३, माओवादीले ५ हजार ५०८, नेकपा एसले ४ हजार ५, राप्रपाले ४ हजार ५९० मत पाएको छ । गठबन्धनको जम्मा मत ४६ हजार २९६ रहेको छ । गठबन्धन दल ६ हजार ६९० ले अगाडि देखिन्छन् । यसैले प्रभावशाली नेता पाण्डेलाई एक्लै चुनाव लड्न चितवनमा यसपटक सहज छैन । राप्रपासँग तालमेल गर्दा पनि उनलाई जित्नेगरी मत ल्याउन कठिन देखिन्छ ।

शंकर पोखरेल

लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका महासचिव शंकर पोखरेल योपटक प्रतिनिधिसभा निर्वाचनमा सर्वसम्मत सिफारिस भएका छन् । अघिल्लो पटक भागबण्डामा दाङको निर्वाचन क्षेत्र २ माओवादीका नेता कृष्णबहादुर महरालाई परेको थियो । महरा प्रतिनिधिसभा सदस्य बन्ने भएपछि पोखरेललाई लुम्बिनीको मुख्यमन्त्री बनाउने शर्तमा प्रदेशसभा सदस्य बनाइयो । योपटक माओवादीबाट बलिया दाबेदार मानिएका महरा समानुपातिकतर्फ उम्मेदवार बनेकाले पोखरेलका लागि स्थिति सहज देखिएको छ ।

पोखरेल दाङ २ (क) बाट २० हजार ७२३ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम द्वन्द्वी कांग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १७२ मत पाएका थिए । उक्त क्षेत्रमा योपटक एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा महराले ४० हजार ४२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत पाएका थिए ।

यसपटक स्थानीय तहमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेको ३३ हजार ५९३ मत आएको छ । कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, नेकपा एसको २ हजार ९४२, राप्रपाको ३ हजार २६४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ३९ हजार ९८५ रहेको छ । गठबन्धन ३ हजार १२८ मतले अगाडि रहेको छ । पछाडि परे पनि यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पृथ्वीसुब्बा गुरुङ

गण्डकीका पूर्वमुख्यमन्त्री तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ योपटक पनि प्रदेशसभामै दोहोरिने भएका छन् । अघिल्लो चुनावमा भागबण्डा गर्दा लमजुङ १ माओवादी नेता देव गुरुङलाई छोड्नु परेपछि उनी मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशसभा सदस्य बन्न राजी भएका थिए । गुरुङले लमजुङ (ख) बाट २३ हजार ८८ मत ल्याइ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत पाएका थिए । प्रतिनिधिसभा निर्वाचनमा देवले ३९ हजार ४६८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३७ मत पाएका थिए ।

यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रमा रहेका वडाध्यक्षतर्फ ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, जसपाले १९० मत पाएको छ । गठबन्धनको जम्मा मत ४१ हजार ५९३ मत छ । यो एमालेको भन्दा १ हजार ३९६ ले बढी हो । एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा कडा चुनावी चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदीप ज्ञवाली

उपमहासचिव प्रदीपकुमार ज्ञवाली गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले अघिल्लो निर्वाचनमा ३७ हजार ८१४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत पाएका थिए । उनको मतान्तर ७ हजार ५५८ रहेको थियो । योपटक पनि उनी सोही क्षेत्रबाट सर्वम्मत उम्मेदवार सिफारिस भएका छन् ।

यसपटकको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ७०, नेकपा एसले ४९७, राजमोले १ हजार ६०० मत पाएका छन् । गठबन्धनको जम्मा मत ३८ हजार ३६१ छ । गठबन्धन २ हजार ६६० ले अगाडि छ । फेरि पनि यो क्षेत्रमा कडा चुनावी प्रतिस्पर्धा देखिने भएको छ ।

गोकर्ण विष्ट

सचिव गोकर्ण विष्ट एमालेका लोकप्रिय नेता हुन् । माधव नेपालनिकट नेता भएपनि पार्टी विभाजनमा उनलाई साथ दिएनन् । विष्ट अघिल्लो निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए । योपटक उनी आफ्नै पूर्वसहकर्मी एवं एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । २०७४ को निर्वाचनमा उनले ३४ हजार ६१८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए ।

विष्टको मतान्तर १४ हजार ४६१ रहेको छ । स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रको वडाध्यक्षमा ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ मत ल्याएको छ । गठबन्धनको ३२ हजार ३२० रहेको छ । गठबन्धन १ हजार ६७ मतले अगाडि रहेको छ । गठबन्धनसँग एमालेका विष्टको रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

योगेश भट्टराई

सचिव योगेश भट्टराई अघिल्लो निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । योपटक टिकट पाउन उनले तिलकुमार मेन्याङ्वोको चुनौती सामना गर्नुपर्ने भएको छ । भट्टराईले पाँच वर्षमा जिल्लाको विकासमा कुनै ध्यान नदिएको मेन्याङ्वोले आरोप लगाएका छन् । अघिल्लो निर्वाचनमा भट्टराई २९ हजार ४७९ मत ल्याइ विजयी हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका थिए । उनको मतान्तर १२ हजार ५९१ रहेको छ ।

यही वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षका उम्मेवारबाट २४ हजार २९५ मत पाएको छ । कांग्रेसले १८ हजार २८४, माओवादीले ४ हजार ४९७, नेकपा एसले १३०८, जसपाले ९२३ मत ल्याएको छ । गठबन्धनको जम्मा मत २५ हजार १२ रहेको छ । स्थानीय तह निर्वाचन परिणामले पनि गठबन्धन ७१७ ले अगाडि छ ।

प्रचण्ड–माधव समूहमा लागेर ओलीविरुद्ध खरोरूपमा सडकमा ओर्लिएका भट्टराई एमालेबाट मधव समूह अलग हुँदा उनले साथ दिएनन् । २०७० को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए ।

लेखराज भट्ट

लामो समय माओवादीका नेता रहेका सचिव लेखराज भट्ट नेकपा विघटन भएपछि एमालेमै रहे । २०६४ देखि निरन्तर सांसद रहेका भट्ट अघिल्लो निर्वाचनमा कैलाली ४ बाट निर्वाचित भएका थिए । माओवादीमा रहँदा प्रभावशाली नेता रहेका उनी आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । गत निर्वाचनमा उनी ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल भण्डारीले २० हजार ९६० मत पाएका थिए । मतान्तर १० हजार ३९९ रहेको छ ।

स्थानीय तहको यस वर्षको निर्वाचनमा पनि गठबन्धन अगाडि रहेको छ । यो क्षेत्रका वडाध्क्षले पाएको मतमा एमालेको २० हजार ८१, कांग्रेसको २२ हजार ९९७, माओवादीको १० हजार १२३, एसको ४ हजार २९, राप्रपाको ३ हजार २३४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ३७ हजार १४९ रहेको छ । गठबन्धन १७ हजार ६८ ले अगाडि छ । माओवादीलबाट एमाले पुगेका खगराजलाई यो क्षेत्रमा चुनाव जित्न कठिन हुने देखिएको छ ।

टोपबहादुर रायमाझी

सचिव टोपबादुर रायमाझी माओवादी पृष्ठभूमिका प्रभावशाली नेता हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनदेखि नै निरन्तर निर्वाचित हुँदै आएका छन् । नेकपा विघटनपश्चात् एमालेमै रहेका उनी आगामी निर्वाचनमा अर्घाखाँची १ बाट सर्वसम्मत सिफारिस भएका छन् । स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा राम्रो परिणाम ल्याउन सफल भएका थिए ।

माओवादीले सांसद पद खोसेपछि सबैभन्दा आक्रोसित भएका उनी आगामी निर्वाचनमा जसरी पनि जित्ने दाउमा छन् । अघिल्लो निर्वाचनमा ५० हजार ८३७ मत ल्याइ निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका डा.रामबहादुर वि.सी.ले ३२ हजार ५४४ मत पाएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको थियो ।
स्थानीय तहको यसपटको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षले पाएको कुल मतमा एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९०, नेकपा एस ३ हजार ७६३, राजमोको ४ हजार २९४ रहेको छ । गठबन्धनको जम्मा मत ५३ हजार ७७२ रहेको छ । गठबन्धन ५ हजार ४१२ मतले अगाडि देखिएको छ।

पद्याकुमारी अर्याल

सचिव पद्याकुमारी अर्याल २०७४ को निर्वाचनमा स्याङजा २ बाट कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरी चर्चामा आएकी थिइन् । कांग्रेसका नेता श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए । उनको मतान्तर ३ हजार ७०६ रहेको थियो । ओली सरकारका भूमिव्यवस्थामन्त्रीसमेत भएकी उनी १० औं महाधिवेशनबाट सचिवमा फड्को मार्न सफल भइन् । उनले ३५ हजार १४२ मत ल्याएकी थिइन् । योपटक पनि सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएकी छिन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३४ हजार ८०१, कांग्रेसले ३६ हजार ८०६, माओवादीले १ हजार २४३, नेकपा एसले २३३, राप्रपाले ५११ मत ल्याएको छ । गठबन्धनको जम्मा मत ३८ हजार ७९३ छ । गठबन्धन ३ हजार ९९२ ले अगाडि छ देखिन्छ ।

रघुवीर महासेठ

सचिव रघुवीर महासेठ एमाले मधेसका प्रभावशाली नेता हुन् । मधेस प्रदेश इन्चार्जसमेत रहेका उनी अघिल्लो निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत पाएका थिए । उनको मतान्तर २ हजार ५४१ रहेको थियो ।

स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षतर्फ पाएको कुल मत २३ हजार ६३० छ । कांग्रेसको २५ हजार १९५, माओवादीको चार हजार ४३४, नेकपा एसको ८ हजार १६४, जसपाको ८ हजार ३७८, लोसपाको २१८४, जनमत पार्टीको १९५०, राप्रपाको ५१४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ४६ हजार १७१ रहेको छ । गठबन्धन २२ हजार ५४१ ले अगाडि छ । यसैले यो क्षेत्रमा एमालेलाई गठबन्धनका उम्मेदवार हराउन कठिन हुने देखिन्छ ।

छविलाल विश्वकर्मा

सचिव छविलाल विश्वकर्मा दलित समुदायबाट राजनीतिमा स्थापित नेतामध्येका एक हुन् । एमालेको १० औं महाधिवेशनमा ओलीले उनलाई सचिवमा नियुक्त गरेका थिए । अघिल्लो निर्वाचन उनले रुपन्देही १ बाट ३४ हजार ७५२ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल रजाक गद्दिले २६ हजार ८८५ मत पाएका थिए । उनको मतान्तर ७ हजार ८६८ रहेको छ ।

यसैगरी स्थानीय निर्वाचनमा यसपटक यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेको ३० हजार ३९४, कांग्रेसको ३२ हजार ९९९, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३, जसपाको ६ हजार ६९५, लोसपाको ३२५ मत आएको देखिन्छ । समग्रमा गठबन्धनको जम्मा मत ४५ हजार १३९ छ । गठबन्धन १४ हजार ७४५ ले अगाडि छ ।