NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यसकारण अन्य दल पन्छाएर एमाले नै रोजेँ : पूर्वआइजिपी खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमाले प्रवेश गरेका छन् । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । नेपाल प्रहरीमा व्यावसायिक छवि बनाएका खनाल अब्बल अधिकृतको रूपमाचर्चा कमाएका थिए ।

धेरै अगाडिदेखि नै खनाल एमाले प्रवेश गर्न लागेको हल्ला चलेपनि बिहीबार त्यसको साइत जुरेको हो । खनाल आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य बन्ने गरी एमाले प्रवेश गरेको उनी निकटस्थ बताउँछन् । खनाललाई एमालेबाहेक कांग्रेस, राप्रपालेसमेत अफर गरेका थिए । स्थानीय तहको निर्वाचन ०७९ मा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर देखिएपछि उनी स्वतन्त्रबाट निर्वाचन उठ्न लागेको चर्चा पनि योबीचमा चलेको थियो ।

खनालले आफू एमाले प्रवेशगर्नुको कारणबारे नेपालवाचलाई यसरी सुनाए :

मलाई एमाले, कांग्रेसलगायत दलबाट पनि अफर आएका थिए । यसले स्वतन्त्र बस्ने कि राजनीतिक दलमा प्रवेश गर्ने भन्ने अन्योल भयो । साथीभाइ, आफन्त र शुभचिन्तकहरूसँग यसबारे परामर्श र छलफल गरेँ । सबैतिर बुझ्दा अन्य दलभन्दा एमाले मलाई उचितलाग्यो ।
एमालेका विभिन्न सम्पर्क सूत्रले पनि पार्टी प्रवेशकालागि निकै जोडबल गरे । राष्ट्रियता, विकास निर्माण र राजनीतिक एजेण्डामा अन्य दलभन्दा एमाले नै ठीक लाग्यो । प्रजातन्त्रमा आफूलाई मनपर्ने पार्टी रोज्ने, संगठन बनाउने, विचार र सिद्धान्तबारे सहमति वा असहमति प्रकट गर्न हरेक नागरिक स्वतन्त्र छन् । यहीअधिकार प्रयोग गरी मैले सुशासन र समुन्नत समाजनिर्माणका निम्तिएमाले रोजेको हुँ । कुनै पद वा प्रतिष्ठाका लागि नेताहरूसँग मैले कुनै बार्गेनिङ गरेको छैन । टिकट दिएको खण्डमा आगामी निर्वाचनमा भाग लिन्छु । तर कुन निर्वाचन क्षेत्रबाट उठ्ने भन्नेबारे अहिले म निष्कर्षमा पुगेको छैन । यसबारे पछि बोलौंला ।

बुधबार बालकोटमा ओलीसँग भेट गरेकाखनालले काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी गरेको स्रोतको दाबी छ । खनालको घर यही निर्वाचन क्षेत्रमा पर्छ । एमालेको प्रदेश कमिटीले जिल्लाको सिफारिसका आधारमा यो क्षेत्रका लागि योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीनाथापा र हरिशरण तिमल्सिनाको नामसिफारिस गरेको छ । कांग्रेसबाट यो क्षेत्रमा पूर्वरक्षामन्त्रीसमेत रहेका भीमसेनदास प्रधानले उठ्ने तयारी गरेका छन् ।

को हुन् खनाल?

स्थायी घर चुँदी, तनहुँ भएका खनाल ०४६ मा नेपाल प्रहरीको निरीक्षक पदबाट सेवाप्रवेश गरेका थिए । त्यतिबेला उनी लोकप्रिय प्रहरी अधिकृतको रूपमा चिनिन्थे ।

आफू सँगैका अब्बल अधिकृत रमेश खरेल, उत्तमकार्की, पुष्कर कार्कीलगायतलाई पछि पार्दै कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठताको आधारमा उनी ०७४ मा प्रहरी महानिरीक्षक बन्न सफल भएका थिए । संगठनभित्र कुशल र व्यवसायिक अधिकृतको छवि बनाएका उनले प्रहरीमा झण्डै २२ महिना महानिरीक्षक भएर काम गरे ।

‘मोष्ट वान्टेड’ सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे उनैले प्रहरीको नेतृत्व सम्हालेपछि इन्काउन्टरमा मारिएका थिए । फुटबलमा खेल मिलेमतो (म्याचफिक्सिङ) को आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई कारबाही प्रक्रियामा सफलता प्राप्त गरी खनाल थप चर्चामा आएका थिए । यद्यपि,थापा सहितपूर्व खेलाडीहरू विकाससिंह क्षेत्री, रीतेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियो थेरापिस्ट डेजिव थापाले प्रमाण नपुगेको भन्दै अदालतबाट सफाइ पाएका थिए ।

त्यसैगरी, ०७२ को महाभूकम्पको बेला कालोबजारी नियन्त्रण, मधेश आन्दोलन मत्थर बनाउन पनि उनले नेतृत्वदायी भूमिका खेलेका थिए । सञ्चार उद्यमी जमिम साहको हत्या आरोपी पक्राउ, अवैध कन्सल्टेन्सी खोली विदेश विद्यार्थी पठाइ ठगी गर्ने गिरोह भत्काएको जस पनि उनलाई दिने गरिन्छ ।

त्यसो त, खनाल उत्तिकै आलोचितपनि छन् । उनको आलोचना सेवामा रहँदाभन्दा बाहिर आएपछि बढी भएको पाइन्छ । ०७७ वैशाख १४ गते तत्कालीन समाजवादीका सांसद सुरेन्द्र यादव अपहरण काण्डमा खनाल जोडिएका थिए । जनकपुरबाट यादवलाई एमालेका नेता महेश बस्नेत, किसन श्रेष्ठ र खनालले अपरहण गरेको आरोप लाग्दै आएको छ ।

पछि यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा अपहरण र शरीर बन्धक बनाएको भन्दै जाहेरी दिए । तर खनालले आफूमाथि लागेको यो आरोपको खण्डन गर्दै आएका छन् ।

केपी ओली जत्तिको राजनेता नेपालमा अरू छैनन् : सर्वेन्द्र खनाल