NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौं । अहिले उपत्यकासहित ७५ जिल्लामा डेंगु संक्रमण तीब्र गतिमा फैलिएको छ । साउनदेखि बुधबारसम्म डेंगु संक्रमितको संख्या हेर्दा १९ हजार बढी देखिन्छ । डेंगुबाट अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा छ ।

डेंगुको प्रकोप बढेसँगै अस्पतालमा उपचार गर्न आउने विरामीको लागि शैया पाउनै मुस्किल छ । संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकाका मुख्य अस्पतालमा नै शैयाको अभाव भएपछि संक्रमित घरमा नै बस्न बाध्य छन् ।

वि.स २०६१ सालमा चितवनमा पहिलोपटक डेंगु देखा परेको थियो । एडिस जातका पोथी लामखुट्टेको टोकाइले डेंगु लाग्छ । यो एक प्रकारको भाइरल ज्वरो हो । वर्षाको समयमा टिनका डब्बा, टायर, ड्रम तथा पानीका ट्ंयाकीजस्ता पानी जम्ने ठाउँमा लामखुट्टेले फुल पार्छन् ।
लामखु्ट्टेबाट जोगिन मानिसले बिहान तथा साँझमा भन्दापनि रातको समयमा झुल, धुपको, ‘लिक्विट’ लगायतका पदार्थ प्रयोग गर्छन् । तर रातको समयमा भन्दा डेंगु बिहान र साँझमा नै बढी सक्रिय हुने डा.महेन्द्र पुडासैनी बताउँछन् । उनका अनुसार रातको समयमा डेंगु अत्यधिक कम सक्रिय हुन्छन्।

‘डेंगु फैलाउने यी लामखुट्टे बिहान दुई घण्टा अर्थात ७ देखि ९ बजेसम्म र साँझ दुई घण्टा अर्थात ४ देखि ६ बजेसम्म अत्यधिक सक्रिय हुन्छन् । ’  उनले भने, ‘ यद्यपि रातको समयमा पनि यी लामखुट्टे बसेको ठाउँमा चलाउँदा अथवा वाधा पु-याउँदा उडेर टोक्न सक्छन् ।’

सामान्यतया डेंगु फैलाउने लामखुट्टे जमिनको सतहबाट दुई फिटसम्म उड्न सक्छ । तर त्यो भन्दामाथि डेंगु उड्न सक्दैन् भनेर ढुक्क हुन सक्ने अवस्था नभएको उनले बताए । डेंगु धेरै माथिसम्म उड्न नसकेपनि खानेकुरा, तरकारी तथा अन्य माध्यमको सहायताले जान सक्छ ।

डेंगुमा मेवाको पात कति उपयोगी ?

डेंगु बढेसँगै संक्रमित बिरामी प्राय : मेवाकाे पात खोजी–खोजी खाने गर्छन् । डेंगुले रगतको प्लेटलेट्स घट्ने हुँदा यसको संख्या बढाउन बिरामीहरू मेवाको पातमा आकर्षित भएका छन् । तर मेवाको पात सबै संक्रमितको लागि उपयुक्त नहुने डा.पुडासैनीको भनाइ छ ।

डेंगु संक्रमणले कलेजोको ‘एएलटी’ र ‘एएसटी’ इन्जाइमको मात्रा बढाएर कलोजोलाई असर गर्छ भने मेवाको पातले पनि कलेजोलाई असर गर्ने गर्छ । त्यसैले मेवाको पात खाँदा बिरामीले कलेजोले उत्पादन गर्ने इन्जाइम अर्थात ‘एएलटी’ र ‘एएसटी’ कति मात्राले बढे्काे छ भन्ने कुरा ध्यान दिन जरुरी छ ।

प्लेटलेट्स कम भएका बिरामीको यदि ‘एएलटी’ र ‘एएसटी’ इन्जाइम सामान्य भन्दा दुई अथवा तीन गुणाले बढे्काे छ भने मेवाको पात खानु हुँदैन् । किनकि डेंगुले गर्दा कलेजोमा आएको सुजनलाई मेवाको पातले बढाउँछ जसले अचानक कलेजो फेल हुन सक्छ ।

यस्तो समय मेवाको पात सेवनले बिरामीको कलेजोले काम गर्ने क्षमता घट्नुका साथै कलेजोमा सुजन आउन सक्छ । त्यसैले डेंगुको विरामीले मेवाको पात खाँदा कलेजोको अवस्था हेरेर खानुपर्छ । यदि प्लेट्लेट्सको संख्या १ लाख ५० हजार वा एक लाख भन्दा कम हुँदै गएको छ, कलेजोको इन्जाइमको मात्रा दुई गुणा भन्दा बढिले बढेको छैन् भने यस्तो व्यक्तिहरुले मेवाको पात खान सक्छन् ।

डेंगुको उपचार घरमा कसरी गर्ने ?
डेंगुका बिरामी बढेसँगै अस्पतालमा उपचार गर्न जाने विरामीको चाप बढेको छ । बेड अभावका कारण अस्पताल परिसरमा उपचार गर्न पुगेका बिरामी चिकित्सकको परामर्शमात्र लिएर घर फर्किन बाध्य छन् ।

डा. पुडासैनीका अनुसार डेंगुका सामान्य लक्षणमा घरमा नै उपचार गर्न सकिन्छ । डेंगुकाे उपचार सामान्य रगतकाे परीक्षणबाट हुन्छ । डेंगुकाे खास औषधि नहुने भएकोले डेंगु भएको अवस्थामा आराम तथा झोलिलो खानेकुराकाे आवश्यक पर्छ । डेंगुमा उच्च ज्वरो आउने हुँदा यसका लागि चिकित्सकको सल्लाहमा बमोजिम पारासिटामोलको प्रयोग गर्नुपर्छ । पारासिटामोल ज्वरो आउने, जिउ, जोर्नी दुख्ने, टाउको तथा आँखाको गेडा दुख्नेमा खान सकिन्छ ।

कुनै  व्यक्तिको तौल ६० केजी भन्दा माथि छ भने उसले ८/८ घण्टाको फरकमा ५०० एमजीको पारासिटामोल दुई चक्की र ४० देखि ६० केजीको बीचमा तौल हुनेले ५०० एमजीको पारासिटामोल ८/८ घण्टाको फरकमा एक र आदा चक्की खानुपर्छ ।  त्यस्तै, १०३ भन्दा उच्च ज्वरो आएको खण्डमा पारासिटामोलको प्रयोग ६/६ घण्टामा गर्न सकिन्छ । डेंगु संक्रमण हुँदा संक्रमित व्यक्तिलाई वान्ता हुने भएकाले वान्ता कम गर्ने औषधि पनि दिनमा ३ पटक खान सकिन्छ ।

ज्वरो आउँदा शरीरबाट पसिनाको रूपमा तरल पदार्थ बाहिर निस्कने हुँदा बिरामीमा पानीको मात्रा कमी हुन्छ । यस्तो अवस्थामा विरामीमा ‘डिहाइड्रेसन’ हुने गर्छ । यसको लागि प्रशस्त मात्रामा जीवनजल र प्रोटिनयुक्त खानेकुरामा जोड दिनुपर्ने उनको सुझाव छ । डेंगु लाग्दा सामान्यतया जिउ तथा जोर्नी अत्यधिक दुख्ने भएकाले यस्तो अवस्थामा पेन किलरहरुको प्रयोग गर्नुहुँदैन् । डेंगुमा एन्टिबायोटिकको भूमिका नहुने हुँदा एन्टिबायोटिक तथा पेनकिलरको प्रयोग गर्न आवश्यक नरहेको उनी बताउँछन् ।

घरेलु उपचारको क्रममा हात, गोडा, पाखुरामा रातो विविरा, दाना देखिने र दाना चिलाउने, अत्याधिक पेट दुख्ने, लगातार वान्ता हुने, १०३.५ भन्दा माथि ज्वरो आउने, रिंगटा धेरै लाग्ने, दिशामा रगत देखिने, नाक, दाँत तथा गिजाबाट रगत बग्ने जस्ता जटिल लक्षण देखिएमा तुरुन्त अस्पताल जान उनले आग्रह गरेका छन् ।

डेंगुबाट कसरी बच्ने ?

१) घर वरपर भएको पानी जम्ने खाल्डा,खुल्डी पुर्ने वा किटनाशक औषधि प्रयोग गर्ने ।
२) लामखुट्टेबाट जोगिन बाहुला भएको लुगा लगाएर बस्ने ।
३) झुल, लामखुट्टे रिपेलेन्ट, ओडोमस तथा लिक्विटको प्रयोग गर्ने ।
४) साँझ तथा बिहानको समयमा लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउने ।
५) घर वरीपरी रहेका पानी जम्ने ठाउँ पुर्ने तथा सरसफाइमा विशेष ध्यान दिने ।

ताजा अपडेट

नेपालवाच विशेष