NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रपतिविरुद्ध परेका रिटमाथिको सुनुवाइ आजदेखि

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ शुक्रबारदेखि नै सुरु हुने भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले राष्ट्रपतिविरुद्ध बिहीबार पाँच रिट दायर भएको र त्यसमाथिको सुनुवाइ शुक्रबारदेखि सुरु हुन लागेको जानकारी दिए ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका विधेयक पहिलोपटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिसँग भए पनि दोस्रोपटक अस्वीकार गर्ने अधिकार संविधानतः राष्ट्रपतिलाई छैन । तर राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भई दोस्रोपटक प्राप्त नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् ।यसलाई सत्तारूढ दल, कानून व्यवसायीलगायतले संविधानमाथिको उल्लंघन भनेका छन् ।

राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको भन्दै बिहीबार अधिवक्ता सुनील रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रूपमा र मोरङ रंगेली नगरपालिकाका देव शर्माले एकल रूपमा राष्ट्रपतिलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ११३ (४) को अवज्ञा गरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेश माग गरिएको छ ।