NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

कर्णाली । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै ५० करोड रूपैयाँ खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ ३७ करोड २८ लाख ६६ हजार रूपैयाँ तथा पूँजीगततर्फ ११ करोड ३७ लाख ३२ हजार रूपैयाँ खर्च भएको छ ।

चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ । सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ । सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताए । प्रदेशसभाले २३ लाख ३० हजार छ सय १० राजस्व आम्दानी गरेको छ ।

मुख्यमन्त्रीसहित सात मन्त्रीको सेवा सुविधा भने प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदैन । सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभा कारबाही, पद त्यागलगायतका कारण ३४ सदस्यीयमा सीमित हुन पुगेको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीको निर्वाचन कार्यक्रम सुरु भएसँगै प्रदेशसभाको कार्यकाल पनि यही असोज १ गतेदेखि समाप्त भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष