NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चाडपर्वलक्षित यात्रु सहायता कक्ष सञ्चालनमा

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले दसैँ, तिहारमा यात्रुको सजिलोका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै महेन्द्रनगर बसपार्क, गड्डाचौकी नाकालगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले बताए ।

उनले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए । चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

दसैँ नजिकिँदै गर्दा भारतबाट रोजागरी गरेर फर्कनेको सङ्ख्या बढेको छ । भारतबाट आउने नागरिकमाथि लुटपाट जस्ता घटना हुने भएकाले पनि सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।

महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले चाडपर्वका बेला यात्रुको सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने र तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका कारणले सवारी दुर्घटना हुने भएकाले यसको नियन्त्रणका लागि पनि यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले जनाएको छ ।