NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चुनाव लड्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिँदै पौडेल, कहाँबाट बन्दैछन् उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले चुनाव लड्न पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतका अनुसार पौडेलले चितवनबाट चुनाव लड्ने तयारी गर्दै पदबाट राजीनामा दिन लागेका हुन् ।

चितवन १ बाट पौडेलको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएको थियो । पौडेलमात्रै होइन अर्का प्रभावशाली अर्थविद् स्वर्णिम वाग्ले, राज्यमन्त्री उमेश श्रेष्ठको पनि नाम यही क्षेत्रबाट सिफारिस भएको थियो । तर यो क्षेत्रबाट पौडेललाई उठाउने तयारी देउवाले गरेका हुन् ।

‘चितवन १ बाट उठ्न धेरै नेताको उम्मेदवारी सिफारिस भएको छ । तर प्रधानमन्त्रीका विश्वासिला र आरजु देउवाले रुचाउने भएपछि चितवनबाट यसपटक विश्व पौडेलले टिकट पाउने देखिएको छ’ देउवा निकट स्रोतले भन्यो, ‘यसैले पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिँदै हुनुहुन्छ ।’

पौडेललाई रुचाउँछिन् आरजु

पौडेललाई आरजुले धेरै रुचाउने गरेको बताइन्छ । आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा पौडेल बोर्ड सदस्य थिए । यही बेलादेखि यी अर्थशास्त्रीसँग आरजुको राम्रो सम्बन्ध भएको बताइन्छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउन पनि आरजुले नै लबिङ गरेको बताइन्छ । जसलाई नटारी देउवाले नियुक्ति दिएका थिए । यसैले आगामी निर्वाचनपछि अर्थमन्त्री वा अरु कुनै महत्वपूर्ण जिम्मेवारी दिलाउने आवश्वासनसहित आरजुले पौडेललाई उम्मेदवार बनाउन खोजेकी हुन् । बालुवाटारका धेरै विषयमा आरजुको खटनपटन चल्ने भएपछि देउवाले पनि पौडेलको प्रस्तावलाई अस्वीकार गर्न सकेका छैनन् ।

दबाब स्वर्णिमको

आरजुले पौडेललाई धेरै नै महत्व दिए पनि प्रभावशाली अर्थविद्को रुपमा स्वर्णिम वाग्ले धेरै चर्चित छन् । कांग्रेसभित्र मात्रै होइन बाहिर पनि पौडेलको भन्दा स्वर्णिमको चर्चा र प्रभाव धेरै रहेको बताइन्छ । कांग्रेसमा पुराना पुस्ताका अर्थमन्त्री डा. रामशरण महत, महेश आचार्यसहितका नेता अब राजनीतिको उत्तरार्धतिर छन् ।

यसैले कांग्रेसले यतिखेर अर्थतन्त्रलाई मसिनो गरी बुझेको व्यक्तिलाई अर्थमन्त्रीको रुपमा अघि बढाउने खोजी गरेको छ । यस्तोमा देउवा निकटबाट पौडेल र डा. शेखर कोइराला पक्षबाट स्वर्णिम सबैभन्दा बढी चर्चामा छन् । पौडेलभन्दा पनि चर्चित र प्रभावशाली अर्थविद् स्वर्णिम पनि यही क्षेत्रबाट सिफारिस भएका छन् । तर आरजुले पौडेललाई बढी रुचाउने भएका कारण स्वर्णिमलाई अन्य ठाउँबाट उम्मेदवार बनाउने तयारी भएको छ ।

बढी चर्चित र लोकप्रिय, विपक्षीले र सामान्य नागरिकले पनि रुचाउने भएकोले यसपटक स्वर्णिमलाई उम्मेदवार बनाउनबाट रोक्न देउवालाई सहज छैन । डा. शेखर पक्षले पनि जसरी पनि वाग्लेलाई उम्मेदवार बनाएरै छोड्ने नीति लिएको छ ।

वाग्लेलाई टिकट नदिँदा झन् धेरै आलोचित हुने डर पनि यसपटक देउवालाई छ । त्यसैले स्वर्णिमलाई यसपटक काठमाडौं ५ बाट उम्मेदवार बनाउने तयारी कांग्रेसको छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उठ्दै काठमाडौं, धरानसहितका ठाउँमा दलीय उम्मेदवारमाथि ठूलो प्रश्न उठेको थियो । त्यसैले सार्वजनिक जीवनमा ख्याती कमाएकालाई टिकट दिएर स्वतन्त्रमा देखिएको यस्तो क्रम तोड्ने दाउ कांग्रेसले हेरेको छ । यसैले केही लोकप्रिय अनुहारलाई अगाडि सार्ने नीति कांग्रेसको छ ।

चितवन १ मा के छ मतको अवस्था ?

चितवन १ मा २०७४ सालमा एमालेका सुरेन्द्र पाण्डेले कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई १५७२० मतान्तरले पराजित गरेका थिए । पाण्डेले ५१ हजार ८० र बुर्लाकोटीले ३५३६० मत ल्याएका थिए ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्र रहेका सबै वडाध्यक्षको मतमा एमालेले ३९६०६, कांग्रेसले ३६७८३, माओवादीले ५५०८, राप्रपाले ४५९० र नेकपा एसले ४००५ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा एमाले र राप्रपा मिले सत्ता गठबन्धनको हाराहारी मत ल्याउने देखिन्छ ।