NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन् ।

बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’

उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ,’ मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’