NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

पाँच छोरा र चार बुहारी हाकिम, कान्छी बुहारी मन्त्री

काठमाडौं । धनकुटाबाट काठमाडौं बसाइँ सरेका प्रेमराज पुरी–लक्ष्मी पुरी (दिवंगत)का पाँच छोरा मात्रै होइन, चार बुहारी पनि सरकारी सेवामा छन् । कान्छी बुहारी रामकुमारी झाँक्री निवर्तमान सांसद हुन् । एकीकृत समाजवादीकी सचिव रहेकी उनी केही समयअघिसम्म मन्त्री थिइन् ।

प्रेमराजका जेठा छोरा जीवनराज उपसचिव हुन् । उनी सर्लाहीको कोष तथा लेखानियन्त्रक छन् । शाखा अधिकृत रहेकी उनकी पत्नी राधिका गिरी पर्यटन विभागमा कार्यरत छिन् । माइला वसन्तराज पनि उपसचिव हुन्, डिल्लीबजार कारागार प्रमुख छन् । उनकी पत्नी बबिता मिश्र सहसचिव हुन्, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सचिवका रूपमा कार्यरत छिन् ।

निजामती सेवामा ८६ हाकिम दम्पती

साइँला छोरा सुभाषबाबु खोटाङका जिल्ला न्यायाधीश हुन् भने उनकी पत्नी ममता भारती आर्मी नर्सिङ कलेजमा सहप्राध्यापक छिन् । सुनसरीको कोष तथा लेखानियन्त्रकमा कार्यरत काइँला रामबाबु उपसचिव हुन् । उनकी पत्नी भवानी गिरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा लेखा अधिकृत छिन् ।

कान्छा छोरा पशुपति भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव हुन् । उनकी पत्नी रामकुमारी राजनीतिमा सक्रिय छिन् । सहसचिव बबिताले पारिवारिक वातावरणले पनि सरकारी सेवामा आउन प्रेरित गरेको बताइन् । ‘सरकारी सेवामा लाग्न प्रोत्साहन र सहयोग गर्ने पारिवारिक वातावरणका कारण हामीलाई पनि यतैतिर लाग्न प्रेरित गर्‍यो,’ उनले भनिन् ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।